महोत्सवमा निर्माण सामग्री, प्रविधि, नीति नियमको जानकारीसहित ३५ स्टल रहनेछन्, विशेषज्ञले घर निर्माण खर्च कम गर्ने उपायसमेत प्रस्तुत गर्नेछन्।
What you should know
कास्की — घर निर्माणसँग सम्बन्धित काम गर्ने कम्पनी स्किल सेवाको आयोजनामा पोखरामा शुक्रबारदेखि घर निर्माण फेष्ट (महोत्सव) हुने भएको छ । घर निर्माणमा आवश्यक सम्पूर्ण सूचना प्रवाह र सहजीकरणका लागि पोखराको अमरसिंह खेल मैदानमा दुई दिनको महोत्सव गर्न लागिएको बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
महोत्सवमा घर निर्माणमा आवश्यक सामग्री, प्रविधि, नीति नियमको जानकारी, घर निर्माणमा खर्च कम गर्ने उपायलगायत निर्माणका लागि आवश्यक सम्पूर्ण जानकारी प्रदान गरिने स्किल सेवाका मार्केटिङ विभाग प्रमुख सफल प्रधानले बताए । यसका लागि महोत्सवमा निर्माण व्यवसायी, इन्जिनियर, वास्तुकलाविद्, आर्किटेक्टको सहभागिता रहनेछ । महोत्सवमा निर्माणसँग सम्बन्धित कम्पनी र विभिन्न बैंकको गरेर ३५ वटा स्टल रहने उनले बताए ।
आफूहरुको कम्पनीले पोखरामा निरीक्षण गरेका ६ हजारमध्ये ८० प्रतिशत घरमा कुनै न कुनै प्रकारको समस्या भेटेको प्रधानले सुनाए । उनकाअनुसार डिजाइन, वास्तु, सिपेजजस्ता समस्या धेरै घरमा देखिएका छन् । घर निर्माणमा दक्षताको कमी देखिएको उनले सुनाए । ‘घर भनेको जीवनभरको कमाइ हो । बनाएको ८–१० महिनामा समस्या देखिन सुरू हुन्छ,’ उनले भने, ‘पोखराका धेरै घरमा निर्माण गर्नेको दक्षताको कमी देखेका छौं । त्यसलाई कसरी नियन्त्रण गर्न सकिन्छ भनेर महोत्सव गर्न लागेका हौं ।’
महोत्सवमा इन्जिनियर, आर्किटेक्टसहित प्राविधिक जनशक्तिले जागिरका लागि निवेदन दिन सक्ने उनले बताए । ‘त्यहाँ हामीले एउटा बाकस राख्छौं । उहाँहरुले आफ्नो सबै विवरण र आवश्यक डकुमेन्ट त्यहाँ छोड्नुहुन्छ । त्यसबाट हामीले छनोट गर्छौं,’ उनले भने ।
महोत्सवको ५ हजार जनाले अवलोकन गर्ने आयोजकको अनुमान छ ।
