पोखरा–मुग्लिन सडकमा पूर्वीखण्डको म्याद चौथो पटक थप

असोज २५ सम्मलाई थपियो समय, पूर्वी खण्डमा कालोपत्र सकिए पनि सडक सुरक्षाका केही काम बाँकी, पुससम्म पश्चिम खण्डको कालोपत्र सक्ने योजना

भाद्र ११, २०८२

सम्झना रसाइली

The deadline for the eastern section of the Pokhara-Muglin road has been extended for the fourth time

What you should know

तनहुँ — पृथ्वी राजमार्गको मुग्लिन–पोखरा सडक खण्ड विस्तार अन्तिम चरणमा पुर्‍याइएको छ । पूर्वी खण्ड (आँबुखैरेनी–जामुने) मा कालोपत्र सकिए पनि सडक सुरक्षाका केही काम बाँकी रहेकाले चौथो पटक म्याद थपिएको छ ।

२०२६ सालमा रेखांकन भएको पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडक खण्ड एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा चार लेनमा विस्तार गर्ने कार्य भइरहेको छ । यस खण्डलाई दुई भागमा बाँडेर सडक विस्तार कार्य अगाडि बढाइएकामा पूर्वी खण्ड (आँबुखैरेनी–जामुने) को ४१ किलोमिटर सडक चारलेन नै कालोपत्र गर्ने कार्य सकिएको छ ।

पश्चिम खण्ड (जामुने–पोखरा) को ३९ किलोमिटर सडकमा भने कालोपत्र गर्ने कामलाई तीव्रता दिइएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट आगामी असोज २५ सम्म म्याद थप भएको मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड) का इन्जिनियर विष्णुप्रसाद पाण्डेले जनाए । यो खण्डको तेस्रो पटक थप भएको म्याद गत असार २९ देखि सकिएको थियो ।

‘कालोपत्रको सबै काम सकिएको छ, दमौली बजार खण्डमा ६ लेन र अन्य ठाउँमा चार लेनमा सडक कालोपत्र भएको छ,’ उनले भने, ‘अधिकांश ठाउँमा सडक रङरोगन पनि सकिएको छ । अब सुरक्षाका काम, राजमार्गसँग जोडिएका भित्री सडकको काम बाँकी छ । थप भई आएको समयमा यी काम सम्पन्न गर्ने हाम्रो लक्ष्य छ ।’

सम्झौता भएको तीन वर्ष र पछिल्लो ४ सय ५६ दिनमा कालोपत्रको काम सकिएको उनको भनाइ छ । पूर्वी खण्डमा २०७७ माघ १७ मा सम्झौता भई २०७८ वैशाख २ देखि काम सुरु भएको थियो । पश्चिमखण्ड (जामुने–पोखरा) को ३९ किलोमिटर सडकमा पनि कालोपत्र कार्यलाई तीव्र गतिमा अगाडि बढाइएको छ । यस खण्डमा धेरैजसो सडक कालोपत्र भइसकेकाले यात्रा सहज बन्दै गएको मुग्लिन–पोखरा योजनाको पश्चिम खण्डका सूचना अधिकृत इन्जिनियर अनन्त बरालले बताए । २६.५ किलोमिटर खण्ड दुईतर्फी र १०.३ किलोमिटर खण्डमा एकतर्फी (दुई लेन) कालोपत्र गरिएको उनको भनाइ छ । पश्चिम खण्डको ३९ किलोमिटरमध्ये ३६.८ किलोमिटर सडक कालोपत्र भइसकेको छ । पुलको खण्डबाहेक बढीमा १३ सय मिटर मात्र कालोपत्र हुन बाँकी छ ।

मैरीभीर खण्ड, विजयपुर पुलको खण्ड, लेखनाथको पोखरा विश्वविद्यालयको नजिकैको भाग, डाँडाकोनाक चौकीको खण्डमा मात्र कालोपत्र गर्न बाँकी रहेको बरालले जनाए । ‘पश्चिम खण्डको काम आगामी पुससम्म सक्नैपर्छ । त्यो बेलासम्म मुख्य सडकको काम सक्ने हाम्रो योजना छ,’ उनले भने, ‘पुससम्म चार लेन सडक कालोपत्र सक्ने योजना छ । पश्चिम खण्डको अधिकांश भाग सहरी क्षेत्र पर्ने भएकाले ३९ किलोमिटरमध्ये १९ किलोमिटर सडक खण्ड ६ लेनको सडक बन्नेछ । पुससम्म यी सबै भागमा चार लेन सम्पन्न गर्ने गरी काम भइरहेको छ । अवरोध नभएको क्षेत्रमा सर्भिस लेन पनि सम्पन्न गर्दै जान्छौं ।’

पश्चिम खण्डका लागि २०२५ डिसेम्बरसम्म म्याद रहेकाले त्यो बेलासम्म केही कालोपत्रको काम सकिने पनि बरालले बताए । राजमार्गको पूर्वी खण्ड विस्तारका लागि चाइना कम्युनिकेसन कन्स्ट्रक्सन कम्पनीले ठेक्का पाएको थियो । पश्चिम खण्ड विस्तारको काम पनि चिनियाँ कम्पनी अनहुई काइयुयान रोड एन्ड ब्रिजले जिम्मा लिएको छ । १३ अर्ब ६१ करोड रुपैयाँ लगानीमा राजमार्ग विस्तार भइरहेको छ ।

योजनाका अनुसार पूर्वी खण्डमा पर्ने आँबुखैरेनी–जामुनेसम्मका लागि ६ अर्ब २१ करोड र पश्चिम खण्डमा पर्ने जामुनेदेखि पोखरासम्मका लागि ७ अर्ब ४० करोड रुपैयाँ खर्च हुनेछ । यो रकम सडक बिस्तारका लागि मात्र हो । त्यसबाहेक तनहुँको दमौलीस्थित मादीनदीमाथि पुल बनाउन १ अर्ब २० करोड र पोखरास्थित सेतीनदीमाथि पुल बनाउन थप १ अर्ब रुपैयाँ लाग्नेछ । सबैगरी १५ अर्ब रुपैयाँभन्दा बढी रकम राजमार्ग विस्तारमा खर्च हुनेछ । तनहुँ खण्डमा निर्माणाधीन मादी नदीमाथिको पुलको भौतिक प्रगति ७१ र वित्तीय प्रगति ६८ प्रतिशत छ । कास्की खण्डको निर्माणाधीन सेती नदिमाथिको पुलको भौतिक प्रगति करिब ४८ प्रतिशत रहेको योजनाले जनाएको छ ।

पृथ्वीराजमार्गअन्तर्गत आँबुखैरेनी–जामुने सडक खण्ड । तस्बिर : सम्झना/कान्तिपुर

सम्झना रसाइली रसाइली तनहुँकी कान्तिपुर संवाददाता हुन् ।

Link copied successfully