१६ सहकारीको १ करोड हिनामिना भएको भन्दै रकम फिर्ताको माग

गोरखाका सहकारी संस्थाहरुले प्रभु मेनेजमेन्टसँगको सम्झौताअनुसार भुक्तानी नपाएको भन्दै प्रशासनमा ज्ञापनपत्र बुझाएका छन् ।

भाद्र ८, २०८२

हरिराम उप्रेती

16. Demand for refund of Rs 1 crore of co-operatives

What you should know

गोरखा — सम्झौताविपरीत प्रभु मेनेजमेन्ट कम्पनी प्रालिले सहकारी सदस्यको रकम हिनामिना गरेको यहाँका सहकारी संस्थाहरुले आरोप लगाएका छन् । जिल्लाका १६ सहकारी संस्थाहरुले संयुक्त रुपमा प्रभु मेनेजमेन्ट प्रा.लि ले ९९ लाख ३७ हजार रुपैयाा हिनामिना गरेको बताएका हुन् । 

जिल्लाका क्रियाशील सहकारी संस्थासँग प्रभु मेनेजमेन्ट प्रालिले स्वदेश तथा विदेशबाट पठाएको विप्रेषण भुक्तानी गर्ने सम्झौता गरेको थियो । तर प्रालिले सम्झौता अनुसारको भुक्तानी नदिएको गोरखा जिल्ला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तीर्थबहादुर नेपालीलले बताए । ‘दु:खजिलो गरी बचत गरेका सहकारीका सदस्यको रकम हिनामिना गर्ने अधिकारी कोही कसैलाई पनि छैन,’ उनले भने,‘सम्झौताबमोजिम भुक्तानी नदिएको भन्दै प्रशासनमा निवेदन पनि दिएका छौं ।’

सहकारी संस्थाहरुको भुक्तानी लिन बाँकी रकम फिर्ताका लागि अनुरोध गरिएको उनले बताए । ‘बाँकी रकम फिर्ताका लागि प्रालिसँग बारम्बार अनुरोध पनि गरेका छौं,’ उनले भने, ‘कम्पनीका जिम्मेवार व्यक्ति हमीसँग सम्पर्कमा आउन पनि चाहनुहुन्न ।’

रकम फिर्ताका लागि बिहीबार सहकारी सदस्यहरुले प्रमुख जिल्ला अधिकारीमार्फत भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सहकारी विभाग नयाँ बानेश्वरमा ज्ञापनपत्र पनि बुझाएका छन् । प्रभु मेनेजमेन्ट प्रालिसँग गोरखा नगरपालिका–९ नयाँ बजारमा रहेको हिमचुली बचत तथा ऋण सहकारी संस्थाले २ लाख २२ हजार ३ सय रुपैयाँ लिनुपर्ने देखिएको छ । 

त्यस्तै गोरखा नगरपालिका–६ को गोरखा बचत तथा ऋण सहकारी संस्थाले ३ लाख १४ हजार ६ सय ९५ रुपैयाँ, दैनिक उत्थानले १० लाख १० हजार ३ सय ७९, भीमसेन–८ को सिर्जनशील बचतले १७ लाख २०९ हजार ७ सय ६१, भीमसेन–७ को भीमकुल बचतले ३ लाख ९२ हजार ८ सय २४ रुपैयाँ भुक्तानी लिन बाँकी रहेको ज्ञापनपत्रमा उल्लेख छ । त्यस्तै गोरखा–६ को सिद्धिगणेश बचतले १ हजार ५ सय ७४ रुपैयाँ, गोरखकाली बचतले ३ लाख, बारपाक सुलिकोटको महिला जागरण बारपाक सुलिकोट बचतले १ लाख १० हजार, गोरखा–६ को गोरखा उद्यमशील बचतले ३ लाख ११ हजार ७ सय ३१, सिरानचोक–३ को चम्पावती बचतले ३ लाख ८ हजार ४ सय ४५ रुपैयाँ भुक्तानी लिन बाँकी छ । 

सिरानचोक–२ को थालाजुङ विकास बहुउद्देश्यीय बचतले २ लाख ४० हजार, आरुघाट–१० को सप्तकोशी बचतले २ लाख ४१ हजार, आरुघाट–८ को शीतला बचतले २८ लाख ३५ हजार, आरुघाटकै सनराइज बचतले १ लाख ५ हजार, बारपाक सुलिकोट–४ का सुलिकोट बहुउद्देश्यीय बचतले १३ लाख १३ हजार तथा सिरानचोक–६ को ससारी बचतले ५ लाख ८ हजार रकम फिर्ता लिन बाँकी रहेको उल्लेख छ ।

हरिराम उप्रेती उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully