विश्वव्यापी बहिरा सम्मेलनमा थापाले सुनाइन् संसद् यात्रा अनुभव

अमेरिकाको लास भेगासमा सम्पन्न विश्वव्यापी बहिरा सम्मेलन (डेफनेसन वर्ल्ड एक्स्पो एन्ड कन्फेरेन्स) मा बहिरा सम्बन्धी अपांगता भएकी गण्डकी प्रदेशसभा सदस्य सुनिता थापाले आफ्नो स‌सद् यात्राबारे सुनाइन् 

भाद्र ४, २०८२

दीपक परियार

Thapa narrated her experience of traveling to Parliament at the Global Deaf Conference

What you should know

पोखरा — कहिलेकाहीं जीवनको कठिनाई नै प्रेरणाको मूल आधार बन्छ । गण्डकी प्रदेशसभा सदस्य सुनिता थापाको जीवनयात्रा पनि त्यस्तै छ । बहिरासम्बन्धी अपांगता बोकेकी उनी धेरैपटक ठोक्किइन्, भाँचिइन् तर उठिरहिन् । र, त्यही संघर्षले उनलाई आज अन्तर्राष्ट्रियस्तरमा चिनाएको छ ।

हालै अमेरिकाको लास भेगसमा सम्पन्न विश्वव्यापी बहिरा सम्मेलन (डेफनेसन वर्ल्ड एक्स्पो एन्ड कन्फेरेन्स)मा उनी नेपालका तर्फबाट सहभागी भइन् । कांग्रेसबाट समानुपातिक सांसद निर्वाचित थापाले सयौं देशका प्रतिनिधिबीच आफ्नो संसद यात्राबारे सुनाइन् । उनले आफ्नो मात्रै होइन, सम्पूर्ण नेपाली बहिरा समुदायको आवाज प्रस्तुत गरिन् । विश्वभरका बहिरा समुदायका अगुवा, नेता र विज्ञ सहभागी सम्मेलनमा उनले अपांगता भएका व्यक्ति मात्र होइन, सम्पूर्ण समाजलाई समावेशी विकासतर्फ लैजाने आफ्नो राजनीतिक दृष्टिकोण प्रस्तुत गरिन् । साउन ६ देखि ८ सम्म भएको सम्मेलन सम्बोधन गर्दै उनले भनिन्, ‘राजनीतिमा बहिरा र अपांगता भएका व्यक्तिको सहभागिताबिना समावेशी लोकतन्त्र पूर्ण हुँदैन ।’

न्यूयोर्कमा उनले संयुक्त राष्ट्रसंघका उच्च पदाधिकारी तथा राजदूतहरुसँग विशेष भेटवार्ता गरिन् । उक्त अवसरमा उनले गण्डकी प्रदेशसभामा आफैले नेतृत्व गरेको नेपालकै पहिलो प्रदेशस्तरीय अपांगतासम्बन्धी विधेयकबारे विस्तृत जानकारी दिँदै अन्तर्राष्ट्रिय समर्थन र सहकार्यका ढोका खोलेकी छन् । उक्त विधेयक मंगलबार प्रदेशसभाबाट पारित भएर ऐनका रुपमा आएको छ ।

Thapa narrated her experience of traveling to Parliament at the Global Deaf Conference

अमेरिकाको २५ दिनको उनले थापाले संयुक्त राष्ट्रसंघका पदाधिकारीदेखि न्यूयोर्क राज्य संसद्‍का सदस्य स्टेभेन र्‍यागासम्मलाई भेट्ने अवसर पाइन् । सांसद र्‍यागाले उनलाई सम्मानपत्र प्रदान गर्दै ‘युवा नेतृत्व र अपांगता अधिकारको प्रतीक’का रुपमा प्रशंसा गरे । भेटवार्तामा दुवै नेताबीच अपांगता भएका व्यक्तिको अधिकार, सामाजिक न्याय र समावेशी नीतिबारे गहिरो छलफल भएको सांसद थापाले बताइन् ।

र्‍यागा स्वयंले पनि अमेरिकामा अपांगता भएका समुदायले सामना गरेका चुनौती र आफ्ना व्यक्तिगत अनुभव थापासँग बाँडे । उनले भने, ‘समाजलाई सबैका लागि समान अवसर दिने वातावरण सिर्जना गर्नु नै सशक्त लोकतन्त्रको आधार हो ।’ र्‍यागा र थापाबीच भविष्यमा अपांगता अधिकार र युवा नेतृत्वका क्षेत्रमा सहकार्य गर्ने सहमतिसमेत भएको छ । उक्त भेटलाई दुबै नेताले ‘सीमाना नाघ्ने साझेदारीको प्रारम्भ’को रूपमा लिएका छन् ।

सांसद थापाले उनलाई नेपाल भ्रमणका लागि निमन्त्रण दिँदै गण्डकी प्रदेशलाई ‘नेपालको पर्यटकीय राजधानी’ भनेर परिचय गराइन् । उनले गण्डकीको प्राकृतिक सौन्दर्य, संस्कृतिको विविधता र अपांगता भएका व्यक्तिका लागि समावेशी पर्यटन विकासमा भइरहेको पहलबारे जानकारी दिइन् । उक्त यात्रामा थापालाई मगर संघ अमेरिकाले समेत विशेष सम्मान प्रदान गर्‍यो । कार्यक्रममा सांसद थापाले गण्डकी प्रदेशमा मगर र गुरुङ भाषालाई प्रदेशको कार्यभाषाका रूपमा मान्यता दिने विधेयक पारित भएको उपलब्धि साझा गर्दै भाषिक पहिचान, आदिवासी अधिकार र सांस्कृतिक सम्मानलाई संस्थागत गर्दै अघि बढ्नुपर्ने आवश्यकता जोड दिइन् । यस उपलब्धिलाई प्रवासी मगर समुदायले गर्वको विषयका रूपमा ग्रहण गर्दै उनलाई सम्मानित गरेको हो ।

सांसद थापाले यस बाहेक स्याङ्जा सहयोग अन्तर्राष्ट्रिय समाज, जनसम्पर्क समिति अमेरिका, जीपीके फाउन्डेसन र अमेरिकामा रहेका भुटानी बहिरा समुदायका कार्यक्रममा समेत सहभागी भई आफ्नो प्रस्तुतीकरण दिइन् । ती सबै कार्यक्रममा उनले नेपालको समावेशी विकासको दृष्टिकोण, युवा राजनीतिक नेतृत्वको आवश्यकता र अन्तर्राष्ट्रिय सहकार्यका सम्भावनाबारे गहिरो विचार राखिन् ।

उक्त अवसरमा उनले आफ्नो जीवनसँग जोडिएको अर्को महत्त्वपूर्ण पक्ष पनि खुलाइन्– सुस्केरा फाउन्डेसन । उनले अमेरिकास्थित समुदायलाई जानकारी गराउँदै भनिन्, ‘म आफैं बहिरासम्बन्धी अपांगता भएकी व्यक्ति हुँ । जीवनमा पटकपटक टुक्रिएको छु, पटकपटक ठोक्किएको छु, झस्किएको छु । तर आशा र निरन्तर प्रयासले म आज यहाँसम्म आइपुगेकी छु । अब यो अनुभवलाई समाजकै लागि बदल्न चाहन्छु ।’

उनले स्थापना गरेको सुस्केरा फाउन्डेसन अपांगता भएका, असहाय, गरिब महिला, पढ्न–लेखनबाट बञ्चित व्यक्ति, आफ्नै अधिकारबारे अनभिज्ञ नागरिक र शिक्षा पाउनबाट छुटेका बालबालिकाको उज्यालो भविष्य निर्माणमा समर्पित संस्था हो । उनले स्पष्ट पारिन्, ‘यो मेरो व्यक्तिगत मात्र होइन, सम्पूर्ण समाजको सपना हो ।’

कार्यक्रममा स्याङ्जा समाज अन्तर्राष्ट्रिय मञ्चले सुस्केरा फाउन्डेसनलाई सहयोग गर्ने प्रतिबद्धता जनायो । उनी गण्डकी प्रदेशसभामा ‘अपांगता भएका व्यक्तिको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ पारित हुने क्रममा रहेकोले अमेरिका बसाइ छोट्याएर गत साता नेपाल फर्किएकी थिइन् ।

दीपक परियार परियार कान्तिपुरका पोखरा संवाददाता हुन् ।

Link copied successfully