विभागीय अनुमतिबिना शिक्षकलाई अन्य पेसामा संलग्न हुन रोक

कावासोती नगरपालिकाले सूचना प्रकाशित गर्दै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र राष्ट्रिय सतर्कता केन्द्रबाट प्राप्त पत्रका आधारमा सो निर्णय कडाइका साथ लागू गर्न लागेको जनाएको छ ।

भाद्र ३, २०८२

नवीन पौडेल

Prohibition of teachers from engaging in other professions without departmental permission

What you should know

नवलपुर — पूर्वी नवलपरासीको कावासोती नगरपालिकाले सामुदायिक विद्यालयमा कार्यरत शिक्षक र विद्यालयका कर्मचारीलाई विद्यालय समयमा कुनै पनि गैरसरकारी वा सहायक पेसामा संलग्न नहुन निर्देशन दिएको छ ।

नगरपालिकाका शिक्षा अधिकृत राजन पाण्डेले सूचना प्रकाशित गर्दै  सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र राष्ट्रिय सतर्कता केन्द्रबाट प्राप्त पत्रका आधारमा सो निर्णय कडाइका साथ लागू गर्न लागेको हो ।निर्देशनात्मक सूचनामा कुनै शिक्षक वा प्रधानाध्यापक विद्यालय समयमा अन्यत्र पेसामा संलग्न भेटिएमा शिक्षा नियमावली २०५९ को नियम १३३ अनुसार कारबाही गरिने बताइएको छ । 

शिक्षा नियमावलीअनुसार, विद्यालय समय बाहेक अन्यत्र काम गर्न चाहने शिक्षकले विभागीय स्वीकृति लिनुपर्ने व्यवस्था छ । जिल्ला शिक्षा समन्वय इकाइ नवलपुरका प्रमुख दीपेन्द्र श्रेष्ठका अनुसार अघिल्लो आर्थिक वर्षसम्म करिब ८५ जना शिक्षक तथा कर्मचारीले विभागीय स्वीकृति लिएको जानकारी दिएका छन् । तर, केही शिक्षकले अझै स्वीकृति नलिई गैरसरकारी कार्यालय वा क्याम्पसहरूमा काम गरिरहेको पाइएको छ ।

जिल्लामा साबिकको नवलपरासी रहँदाका सबै स्वीकृतिहरू २०७९ चैत २ गतेदेखि बदर गरिएको र त्यसपछि नयाँ स्वीकृति लिएर मात्र अन्यत्र काम गर्न सिफारिस गरिएको पनि उनले जानकारी दिए।  जिल्लाका केही शिक्षकले अझै पनि आवश्यक विभागीय स्वीकृति नलिई विभिन्न क्याम्पस तथा गैरसरकारी संस्थामा कार्यरत रहेको पाइएको छ। कावासोती नगरपालिकाका शिक्षा अधिकृत पाण्डेका अनुसार विद्यालय समयमा अन्यत्र काम गर्ने शिक्षकको तलब पाँच वर्षसम्म रोक्का गर्नुका साथै बढुवा समेत रोक्न सकिने प्रावधान रहेको बताए । 

नवीन पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully