केही पनि भएन भन्ने भाष्यलाई अहिलेका युवाहरूले चिर्नुपर्छ : मुख्यमन्त्री पाण्डे

मुख्यमन्त्री पाण्डेले नेपालमा परिवर्तनको भाष्यलाई चिर्नु आवश्यक रहेको बताउँदै युवाहरूलाई नकारात्मक धारणा बदल्न आग्रह गरेका छन्।

भाद्र १, २०८२

हरिराम उप्रेती

Today's youth should reject the comment that nothing happened: Chief Minister Pandey

गोरखा — गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले देशभित्र केही पनि भएन भन्ने भाष्य लगातार रहेको बताएका छन् । आइतबार गोरखामा भएको जेसिज सप्ताहको शुभारम्भ कार्यक्रममा सम्बोधन गर्दै 'केही पनि भएन' भनेर निराशा बनाउने खालको भाष्यलाई अहिलेका युवाहरूले चिन्नुपर्ने बताएका हुन् ।

'हिजो सञ्चारको अवस्था के थियो ? खानेपानीको अवस्था के थियो ? अहिले सबै मान्छेको हातमा फोन छ, सडक बाटो बनेका छन्,' उनले भने, 'परिवर्तन नभएको होइन, यहाँ केही हुन सक्दैन भनेर नेपालमै बसेर केही गरौँ भन्ने युवाहरूलाई पनि नकारात्मक भावना सिर्जना गरिएको छ, त्यो भाष्यलाई अहिलेका युवाहरूले चिर्नुपर्छ ।'

नेपालमा बस्नु भनेको आफूप्रति आफैं अन्याय गर्नु हो भन्ने भाष्य सिर्जना गर्न खोजिएको भन्दै उनले चिन्ता जनाए । 'अवसरलाई पहिल्याउन पनि सकेका छैनौँ, सबै कुरा भएको छ भन्ने पनि होइन, क्रमिक रूपमा भएको छ,' उनले भने, 'जति हुनुपर्ने थियो, भए पनि होला, जति गर्न सकिन्थ्यो, गरिए पनि होला, त्यसका पनि राजनीतिक कारण र बाध्यताहरू छन् ।'

आफ्नो लागि, समाज र मातृभूमिका लागि केही गर्नुपर्छ भन्ने भावनालाई विकास गर्नुपर्ने अहिलेको टड्कारो आवश्यकता रहेको मुख्यमन्त्री पाण्डेले बताए ।

हरिराम उप्रेती उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully