पोखराको एक विद्यालयमा ३० जना दृष्टिविहीन विद्यार्थी कम्प्युटर चलाउन सिकिरहेका छन्, यसले उनीहरुलाई प्रविधिको ज्ञान मात्र भएको छैन, भविष्यमा जीविकोपार्जन गर्ने ढोका पनि खोलेको छ ।
What you should know
कास्की — तनहुँका प्रतीक पोख्रेल एक वर्षअघिसम्म ब्रेललिपिको सहयोगले पढ्थे–लेख्थे । एक वर्ष भयो, उनी ब्रेल निकै कम प्रयोग गर्छन् । आजकाल उनी आफ्नो ल्याप्टपमै पढ्छन्, लेख्छन् । ल्याप्टपमै गृहकार्य गर्छन्, त्यसलाई प्रिन्ट गरेर शिक्षकलाई बुझाउँछन् ।
‘ब्रेलमा लेख्दा पेपर हराउने, मेटिने, खोज्दा नभेटिने हुन्थ्यो । समयमै गृहकार्य बुझाउन पाइन्थेन,’ उनले सुनाए, ‘कम्प्युटरमा गरेपछि त्यो प्रिन्ट गरेर दिन मिल्छ । पछिसम्म आफैंसँग पनि हुन्छ ।’
उनी पोखरा–१२ रामघाटस्थित अमरसिंह नमुना माध्यमिक विद्यालयको कक्षा ९ मा अध्ययनरत छन् । उनीसहित यो विद्यालयमा ६५ जना दृष्टिविहीन विद्यार्थी पढ्छन् । तीमध्ये ४७ जना विद्यालयकै दृष्टिविहीन छात्रबासमा बस्छन् । छात्रबास बस्नेमध्ये ३० जना विद्यार्थी बिहान–बेलुका कम्प्युटर सिक्छन् । कक्षा ११ मा नयाँ भर्ना भएका र कक्षा ४ भन्दामुनि पढ्ने विद्यार्थीले अहिले कम्प्युटर चलाउन सिक्दैनन् ।
कम्प्युटर सिकेपछि सहायक प्रविधिको ज्ञान र पठनपाठनमा समयको निकै बचत भएको पोख्रेलको अनुभव छ । ‘ब्रेलमा एक पेज लेख्न आफूले जाने विषय छ भने ७–८ मिनेट लाग्छ । कम्प्युटरमा त्यही कुरा टाइप गर्दा ३ मिनेटमा हुन्छ,’ उनले थपे, ‘ब्रेलमा छाम्दै लेख्दा समय लाग्छ । किबोर्डमा अक्षर कहाँ छ भन्ने थाहा हुन्छ । सजिलै टाइप गर्छु ।’ किबोर्डका अंक, अक्षर र सिम्बोल प्रयोग गरेर हिसाब गर्न असहज हुने भएकाले गणितबाहेक अन्य सबै विषयको पढाइमा ल्याप्टप प्रयोग गर्ने उनले सुनाए । गणितको पढाइमा भने उनी ब्रेल नै प्रयोग गर्छन् ।
कक्षा ४ मा पढ्ने स्याङ्जाका सुप्रिम पौडेल पनि कम्प्युटरमा अंग्रेजी र नेपाली टाइपिङ सिकिरहेका छन् । उनी लेखनमा ब्रेल लिपि नै प्रयोग गर्छन् । उपल्लो कक्षामा पुगेपछि पठनपाठनमा प्रविधिको प्रयोग गर्ने उद्देश्यले उनी पनि अहिल्यैदेखि कम्प्युटरमा अभ्यस्त हुने प्रयासमा छन् । ‘टाइप गर्दा स्पिकरमा त्यही कुरा बोल्छ । मलाई त मज्जा लागिरहेको छ,’ उनले सुनाए ।
विद्यार्थीलाई कक्षा र क्षमताअनुसार ४ वटा समूहमा विभाजन गरेर कम्प्युटरसम्बन्धी ज्ञान दिइइने कम्प्युटर शिक्षक छवि आलेले बताए । अंग्रेजी र नेपाली टाइपिङ, माइक्रोसफ्ट वर्ड, एक्सेल, पावरपोइन्ट, इमेलका साथै कक्षा ६ सम्म पढ्ने विद्यार्थीलाई ब्रेलमै लेख्न–पढ्न सिकाइन्छ । कक्षा ७ देखि विद्यार्थीलाई कम्प्युटर, ल्याप्टपको प्रयोगमा जोड दिइन्छ जसले पढाइ, लेखाइमा ब्रेलकै प्रयोग अनिवार्य गरिँदैन । तल्लो कक्षाका विद्यार्थीलाई अभ्यस्त पार्न उनीहरुलाई पनि कम्प्युटर र विभिन्न सफ्ट्वेयरको प्रयोग सिकाइने उनले बताए । ‘ब्रेल प्रयोग गर्नु अनिवार्य हो । अक्षर राम्रो बनाउन पनि ब्रेल चलाउनै पर्यो,’ शिक्षक आलेले भने, ‘माथिल्लो कक्षाको कोही विद्यार्थी कम्प्युटर राम्रोसँग चलाउँछ भने उसले म ब्रेल कम प्रयोग गर्छु भन्न सक्छ । मैले पढाउने केही भाइले अहिले कम्प्युटरको राम्रो सदुपयोग गर्नुभएको छ ।’
बाल्यकालदेखि नै कम्प्युटरमा अभ्यस्त भएर आधारभूत ज्ञान राख्दा भविष्यमा आम्दानीको स्रोत बनाउन सहज हुने आले बताउँछन् । ‘भोलि कोही विद्यार्थी सरकारी जागिरे भयो भने पनि उसले अहिले सिकेको धेरै काम लाग्छ । होइन म लेख लेख्छु भन्यो भने पनि मिल्यो, प्रोग्रामिङ नै सिक्छु भन्यो भने पनि उसले कम्प्युटरबाटै भविष्यमा गरिखान सक्छ,’ उनले सुनाए । आर्थिक र समयको हिसाबले ब्रेल खर्चिलो, प्रयोग असहज पनि भएकाले सबै विद्यार्थीलाई कम्प्युटरसँग जोड्न सके सिकाइ धेरै प्रभावकारी हुने उनको भनाइ छ ।
होस्टेलको ल्याबमा पढ्ने समयबाहेक कति विद्यार्थी कम्प्युटर, ल्याप्टपको पहुँचमै छैनन् । धेरै विद्यार्थीका अभिभावकले ल्याप्टप खरिद गर्न सक्ने आर्थिक अवस्था नहुने भएकाले प्रविधिसँग सबै विद्यार्थी जोडिने विषय सहज पनि नभएको शिक्षक आलेको भनाइ छ । यसका लागि सम्बन्धित विद्यार्थीले प्रतिनिधित्व गर्ने स्थानीय सरकारले सहयोग गर्न सके धेरै फलदायी हुने उनको बुझाइ छ । ‘कति विद्यार्थी हाम्रो बाबा–आमालाई पनि भनिदिनु न भन्छन् । सबैले ल्यापटप नै किनेर दिन सक्ने अवस्था हुँदैन,’ उनले थपे, ‘एउटा वडामा १–२ जना दृष्टिविहीन विद्यार्थी हुन्छन् । सरकारले २ लाख खर्च गरेर उनीहरुको भविष्य बन्छ भने सहायक प्रविधि दिन सके राम्रो पनि हुन्छ ।’
दृष्टिविहीन विद्यार्थीका लागि उनीहरुले प्रयोग गर्ने कम्प्युटरमा स्क्रिन रिडर सफ्टवेयर प्रयोग गरिन्छ । यस्तो सफ्टवेयरको सहयोगले कम्प्युटरको स्क्रिनमा देखिने अक्षर, अंक, सिम्बोललाई आवाजमा पढिदिन्छ । स्पिकरमा सुनेपछि विद्यार्थीले आफूले के लेखिरहेको छु वा स्क्रिनमा के देखिएको छ भन्ने थाहा पाउँछन् । त्यसैले सुरुमा कम्प्युटर सिक्ने विद्यार्थीलाई किबोर्ड चलाउन सिकाइन्छ । दृष्टिविहीनले कम्प्युटर प्रयोग गर्दा माउसको प्रयोग हुँदैन । उनीहरुलाई सर्टकट कुञ्जीमार्फत कम्प्युटर चलाउन अभ्यस्त पारिन्छ ।
अमरसिंहमा २०३८ सालदेखि दृष्टिविहीन विद्यार्थीका लागि पढाइ हुँदै आएको छ । विद्यालयले पछिल्लो ६ वर्षदेखि दृष्टिविहीन विद्यार्थीलाई कम्प्युटर सिकाइरहेको छ । प्रविधिसँग जोड्न गरिएको प्रयासको प्रतिफल सकारात्मक रहेको दृष्टिविहीन विभाग प्रमुख नरेश नेपालले बताए । प्रविधिसँग जोडिन सहज भए पनि भाषाले गर्दा दृष्टिविहीन विद्यार्थीलाई केही असहज रहेको उनले सुनाए । ‘कति विद्यार्थी ८ सम्म नेपालीमा माध्यममा सबै विषय पढेर आउँछन् । यहाँ आउँदा अंग्रेजीमा पढ्न केही गाह्रो भएको देखिन्छ । मोबाइल, कम्प्युटरमा केही खोज्न पर्यो भने त टाठै छन्,’ उनले भने ।
अमरसिंह माविमा कक्षा १२ सम्म गरेर २ हजार ७ सय जना विद्यार्थी पढ्छन् । विद्यालयले ‘समावेशी कक्षा’ चलाएको छ, जहाँ दृष्टिविहीन र अन्य विद्यार्थी एउटै कोठामा पढ्छन् । ६५ जना दृष्टिविहीन विद्यार्थीमध्ये ४१ जनाले पढ्न–लेख्न स्लेट र स्टाइलस प्रयोग गर्छन् । बाँकी २३ जनाले कलमले नै छापा अक्षर प्रयोग गर्ने शिक्षक आलेले बताए । यी विद्यार्थीमा कम दृष्टि भएपनि अक्षर बुझ्ने भएकाले ब्रेल प्रयोग नगर्ने उनले सुनाए । एक जना विद्यार्थीले ब्रेल र छापा दुवै प्रयोग गर्छन् ।
‘समावेशी कक्षा’मा दृष्टिविहीन विद्यार्थीले पढाएको सुन्नेबाहेक लेख्न भने असहज छ । किनकि ब्रेलमा लेखेका अक्षर शिक्षकले बुझ्दैनन् । त्यसलाई लिप्यन्तरण गर्नुपर्छ । दृष्टिविहीन विद्यार्थीले ब्रेलमा लेखेका अक्षर लिप्यन्तरण गर्न विद्यालयले दुई जना कर्मचारी नै राखेको छ । ती कर्मचारीले लिप्यन्तरण गरेपछि मात्र दृष्टिविहीन विद्यार्थीले शिक्षकलाई गृहकार्य बुझाउन पाउँछन् ।
विद्यार्थीले लेखेर त्यसलाई लिप्यन्तरण गर्न समय लाग्ने भएकाले उपल्लो कक्षामा पुगेपछि प्रविधिको प्रयोग अनिवार्य गर्न सके धेरै फलदायी हुने शिक्षक आले बताउँछन् । ‘ब्रेलमै पढ्ने–लेख्ने गरिराखे दृष्टिविहीन विद्यार्थीले रियल टाइम प्रतिक्रिया पाउन गाह्रो छ । त्यसैले कम्तीमा कम्प्युटरमा लेख्न सिकाइयो भने त्यसलाई प्रिन्ट गरेर बुझाउन सक्छन्,’ उनले भने, ‘ढिलो–चाँडो भन्ने मात्र हो । भविष्यमा दृष्टिविहीन विद्यार्थीको हकमा पढाइ र परीक्षामा पनि प्रविधिले प्राथमिकता पाउँछ ।’
