शुक्रबार राति बस्तीमा आगलागी भएको प्रहरीले जनाएको छ ।
What you should know
गोरखा — चुमनुव्री–२ ल्होमा आगलागीबाट ६ घर पूर्ण रूपमा जलेर नष्ट भएका छन् भने दुई घरमा आंशिक क्षति पुगेको छ ।
शुक्रबार राति बस्तीमा आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट चुमनुव्री–२ का पासाङ लामाको ढुङ्गाको गारो तथा काठ र जस्ताको छाना भएको दुई वटा घर जलेर पूर्ण क्षति भएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी इन्द्रप्रसाद सुवेदीले बताए । त्यस्तै, छेवाङ रेक्जिन लामा, टासी लामा, वर्केन लामा र पासाङ लामाको ढुङ्गाले बनेका काठ र जस्ताको छाना भएका घर जलेर पूर्ण नष्ट भएको उनले बताए । घ्याच्चु लामा र छिने लामाको घरमा आंशिक क्षति पुगेको छ ।
स्थानीयहरू चुमनुव्री–२ कै स्यो भन्ने ठाउँमा आलु गोड्न तथा घाँस काट्न गएको अवस्थामा अचानक आगलागी भएको प्रहरीले जनाएको छ । घरमा कोही नभएको समयमा स्थानीय पासाङ लामाको घरबाट आगलागी सुरु भएको थियो । प्रारम्भिक अनुसन्धानको क्रममा विद्युत् सट भएर आगलागी भएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ । इलाका प्रहरी कार्यालय लार्केबाट खटिएको प्रहरी टोली र स्थानीयले आगो निभाएका थिए । आगो नियन्त्रणमा आइसकेको र आगलागीबाट मानवीय तथा चौपायामा क्षति नभएको प्रहरीले जनाएको छ ।
राति एक्कासि बस्तीमा आगलागी भएको चुमनुव्री–२ का वडा अध्यक्ष मिङगुर दोर्जे लामाले बताए । ‘६ वटा घर पूर्ण क्षति भएको छ, घर भित्रका लत्ताकपडा अन्नपात पनि निकाल्न सकिएन,’ उनले भने । घरमा आगलागी भएपछि स्थानीयहरू छिमेकीको घरमा आश्रय लिएर बसेको पनि उनले बताए । ‘घरका मान्छे कोही काठमाडौँ कोही स्यो गाउँ गएका थिए, विद्युत् सट भएर आगलागी भयो जस्तो लाग्छ,’ लामाले भने,‘राति साढे १० बजेतिर आगलागी सुरु भएको थियो, गाउँलेहरु सबै जम्मा भएर निभाउँदा बिहान चार बजेतिर मात्र आगो नियन्त्रणमा आयो ।’
