गोरखामा १२ जना बालवालिकामा कडा खालको कुपोषण

७३ जना कुपोषित बालबालिका भेटिएकोमा १२ जनामा कडा र ६१ जना बालबालिकामा मध्यम खालको कुपोषण देखिएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।

श्रावण ३१, २०८२

हरिराम उप्रेती

Severe malnutrition among 12 children in Gorkha

What you should know

गोरखा — जिल्लाका १२ जना बालबालिकालाई कडा खालको कुपोषण देखिएको छ । गत आर्थिक वर्ष २०८१/०८२ मा दुई हजार सात सय ३१ बालबालिकाको वृद्धि अनुगमनको क्रममा ७३ जना कुपोषित बालबालिका भेटिएका हुन् । ७३ जना मध्ये ६१ जना बालबालिकालाई मध्यम कुपोषण र १२ जना बालबालिकालाई कडा कुपोषण देखिएको स्वास्थ्य कार्यालय गोरखाको पोषण शाखाका जनस्वास्थ्य अधिकृत नवराज खड्काले जानकारी दिए ।

कडा खालको कुपोषण लागेका बालबालिकाको शीघ्र कुपोषण एकीकृत व्यवस्थापन केन्द्रमा उपचार भइरहेको उनले बताए । ‘केही बालबालिका निको भएर पनि फर्कनुभएको छ, केही उपचारको क्रममा हुनुहुन्छ,’ उनले भने । मध्यम खालको कुपोषण भएका बालबालिकालाई खानपानमा ध्यान दिएर घरमै उपचार गरिएको उनले बताए । 

चुमनुव्री र अजिरकोट बाहेकका पालिकामा कुपोषित बालबालिका भेटिएका हुन् । गत आर्थिक वर्ष २०८१/०८२ मा पालुङटार नगरपालिकामा २५ जना कुपोषित बालबालिका भेटिएका छन् । तीमध्ये १ जनालाई कडा र २४ जनालाई मध्यम खालको कुपोषण देखिएको छ । भिमसेन थापा गाउँपालिकामा ४ जनामा कडा कुपोषण तथा ६ जना बालबालिकामा मध्यम कुपोषण देखिएको छ । गोरखा नगरपालिकामा ४ जनामा कडा र ४ जनामा मध्यम कुपोषण देखिएको छ । सहिद लखन गाउँपालिकाको ८ जना र गण्डकी गाउँपालिकाको ७ जनामा मध्यम कुपोषण देखिएको खड्काले बताए । सिरानचोक गाउँपालिकाको ३ बालबालिकामा मध्यम, आरुघाट गाउँपालिकाको ३ जनामा कडा र ४ जनामा मध्यम कुपोषण देखिएको छ । घार्चे गाउँपालिकाको ३  र बारपाक सुलिकोट गाउँपालिकामा २ जना बालबालिकामा मध्यम कुपोषण देखिएको उनले बताए ।

‘खानपानका कारण बच्चाहरु कुपोषित भेटिएको पाइन्छ,’ उनले भने,‘जिल्लाका बालबालिकामा देखिएको कुपोषणको अवस्था हेर्दा यसलाई सुधार गर्नुपर्ने छ ।’ जन्मदा नै कम तौल भएका बच्चा जन्मने गरेको पनि पाइएको उनले बताए । ‘आमाले आइरन चक्की, क्याल्सियम राम्रो साग नखााने, धुम्रपान गर्ने जस्ता करणले पनि कम तौलका वच्चा जन्मिएका छन्,’ उनले भने । गत आर्थिक वर्ष २०८१/०८२ मा ८२ बालवालिका कम तौल भएको जन्मिएको स्वास्थ्य कार्यालयको तथ्यांकमा उल्लेख छ । 

अघिल्लो आर्थिक वर्ष २०८०/०८१ मा ७५ जना कुपोषित बालबालिका भेटिएका थिए । आर्थिक वर्ष २०७८/०७९ मा ७९, २०७९/०८० मा ६३ बालबालिकामा कुपोषण देखिएको थियो । ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकाको पोषणको अवस्था लेखाजोखा गर्ने गरिएको छ । 

हरिराम उप्रेती उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully