६ करोड ६६ लाख खर्चेर बनाइएको बसपार्क प्रयोगिविहिन छ । अनि यातायात व्यवसायीहरूले मध्यपहाडी पुष्पलाल लोकमार्गमै गाडीहरु पार्किङ गरिरहेका छन् । यसले दुर्घटनाको जोखिम बढाएको भन्दै स्थानीयहरु चिन्तित छन् । तर उनीहरुको गुनासाे सुन्ने कसले ?
What you should know
पर्वत — निर्माण सम्पन्न भएको एक वर्ष पुग्दा पनि नवनिर्मित बसपार्क भवन सञ्चालनमा आएको छैन । अनि त यातायात व्यवसायीहरूले मध्यपहाडी पुष्पलाल लोकमार्गलाई नै पार्किङ बनाउन थालेका छन् ।
बसपार्क नजिकै खरेहाको सडक र शिवालय चोकमा मनलाग्दी गरिने गाडीहरूको पार्किङले दुर्घटनाको जोखिम बढाएको छ । स्थानीयले हाइवेमा जथाभावी सवारी पार्किङ निषेध गर्न माग गर्दै आएका छन् । तर उनीहरुको कुरा सुन्ने कसले ?
कुश्माका युवा नवराज शर्माले बागलुङ, म्याग्दी, मुस्ताङ लगायतका गन्तव्यसम्म पुग्न कुश्मा हुँदै जानुपर्ने बताउँदै सडकमा गरिने जथाभावी पार्किङले दुर्घटनाको जोखिम उच्च भएको बताए । उनले भने, ‘असाध्यै व्यस्त हुने मुख्य सडक नै ओगटेर रातदिन गाडीहरू पार्किङ गरिन्छ । धेरै पटक यातायात व्यवसायी र सम्बन्धित निकायमा भन्यौँ सुनुवाइ नै भएन ।’
एक वर्ष अघि नै कुश्मा नगरपालिका–६ स्थित बान्द्रेबेडीमा ६ करोड ६६ लाख ३ हजार २ सय ५० रुपैयाँ खर्चेर बनाएको बसपार्क बनाइएको थियो । तर यो प्रयोगविहीन छ अनि रेखदेखको अभावमा बसपार्कको भौतिक संरचनाहरू तोडफोड भएका छन् । यात्री कक्ष त भत्किन सुरु गरेको छ भने शौचालयका ढोका र झ्यालका सिसाहरू फोडिएका छन् । बिजुलीका बल्बहरू फुटाइएका छन् ।
सुनसान बसपार्क । तस्विर: सुमनजंग थापा
जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका ट्राफिक प्रमुख प्रहरी नायब निरीक्षक बल बहादुर गुरुङले हाइवेमा दिनरात ठूला बसहरू पार्किङ गर्नु यातायात सुरक्षाका लागि गम्भीर चुनौती भएको बताए । ‘हाइवेमा गाडी पार्किङमा राखिएको हुन्छ । थाहा हुने चालकले त सचेतता अपनाउला, तर सबै चालक एकै हुन्छन् भन्ने छैन । अप्रिय घटना नघट्दासम्म त केही भएन’, उनले भने, ‘सम्भावित ठूलो दुर्घटना नहोस् भनेर नगरपालिकालाई छिट्टै बसपार्कमा गाडी पार्किङको व्यवस्था मिलाउन भनेको छु ।’ टेन्डर प्रक्रियामा गएकाले नगरपालिकाबाट केही समय पर्खिनुस् भन्ने जवाफ आएको उनले बताए ।
कुश्मा नगरपालिका–७ का वडा अध्यक्ष परशुराम पुरीले सडकमा यातायातका साधन हटाउन भनिए पनि ठ्याक्कै विकल्प दिन नसक्दा समस्या भइरहेको बताए । नगरपालिकाले बसपार्क सञ्चालनमा नल्याएसम्म सडकमा गरिने पार्किङ समस्या हटाउन गाह्रो हुने उनले बताए । ‘गाडी मालिकलाई सडकबाट गाडी हटाएर नयाँ बसपार्कमा राख्न आग्रह गर्दा उनीहरूले सुरक्षाको प्रश्न उठाए’, उनले भने, ‘छिट्टै बसपार्क सञ्चालनमा आउला जस्तो लाग्दैन । शिवालय चोकमा रहँदै आएको टिकट काउन्टर पनि ल्याउनुपर्ने हुन्छ । तर त्यहाँका स्थानीय तयार छैनन् ।’
विसं २०४८ मा पोखरा–बागलुङ सडक विस्तार भए पनि कुश्मामा व्यवस्थित बसपार्क थिएन । शिवालय धार्मिक विकास गुठीले करिब १२ रोपनी १२ आना क्षेत्रफलको जग्गा छुट्टाएको दुई दशकपछि जसोतसो बसपार्क निर्माण भयो । बसपार्क सञ्चालनका लागि गत महिनाको असार २८ गते कुश्मा नगरपालिकाले टेन्डर आहृवान गरेको मितिसम्म पनि कोही नआएपछि फेरि गत हप्ता साउन १२ गते टेन्डर आहृवान गरेको छ । ११ लाख १९ हजार २ सय ५२ रुपैयाँ दरभाउ राखिएको छ ।
‘पार्किङलाई व्यवस्थित गर्नका लागि नै बसपार्क निर्माण गरिएको हो । सकेसम्म निजी कम्पनीलाई नै सञ्चालन गर्न दिने भनेर दुई पटक ठेक्का खुलायौँ । अहिले तीन चार जना सम्पर्कमा आउनु भएको छ’, कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद पौडेलले भने, ‘कसैले टेन्डरै हालेनन् भने पनि बसपार्क सञ्चालनमा ल्याउने बारेमा विकल्प सोच्नुपर्ने हुन्छ ।’
