अन्नपूर्ण, माछापुच्छ्रे र मादी गाउँपालिकाले गुरुङ समुदायको सांस्कृतिक पर्वलाई सम्मान गर्दै मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेका छन्।
पोखरा — गुरुङ (तमु) समुदायको ऐतिहासिक र सांस्कृतिक महत्त्व बोकेको ‘ट्होंटे’ पर्वको अवसरमा कास्कीका अन्नपूर्ण, माछापुच्छ्रे र मादी गाउँपालिकाले मंगलबार स्थानीय बिदा दिएका छन् ।
यस सम्बन्धमा गाउँपालिकाहरूले छुट्टाछुट्टै सार्वजनिक सूचना जारी गर्दै मंगलबार आफ्नो क्षेत्रभित्रका सरकारी तथा सामुदायिक कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था र विद्यालयहरूमा अत्यावश्यक सेवा बाहेकका सबै काम बन्द रहने जानकारी दिएका छन् ।
अन्नपूर्ण गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसी, माछापुच्छ्रे गाउँपालिका अध्यक्ष मिनबहादुर गुरुङ र मादी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धनेन्द्र भुजेलको हस्ताक्षर रहेका सूचनामा गुरुङ समुदायको मौलिक सांस्कृतिक पर्वको सम्मानस्वरूप बिदा दिइएको उल्लेख छ ।
ट्होंटे पर्व गुरुङ समुदायमा प्राकृतिक विपत्ति, महामारी र अन्य अनिष्टबाट बस्तीलाई जोगाउन मनाइने प्राचीन सांस्कृतिक परम्परा हो । स्थानीय सरकारलाई आफ्नो क्षेत्रभित्रका सांस्कृतिक तथा धार्मिक पर्वहरूको संरक्षण र प्रवर्द्धनका लागि स्थानीय बिदा दिने अधिकार कानुनी रूपमा प्राप्त छ ।
