दाउन्ने क्षेत्र हिलाम्य भएपछि जाम

सामान्य वर्षाले सडक चिप्लो हुँदा दाउन्ने क्षेत्रको करिब ७ किलोमिटर सडकमा जाम भएको छ ।

श्रावण २७, २०८२

नारायण शर्मा

Congestion after the landing area is disturbed

काठमाडौँ — दाउन्नेको उकालो हिलाम्य भएपछि महेन्द्र राजमार्ग अवरुद्ध भएको छ । दुम्कीवासदेखि पश्चिम दाउननेसम्मको ७ किलोमिटर सडकमा अहिले जाम भएको छ ।

दुम्कीवासदेखि ४ किलोमिटर पश्चिम ६५ मोड भन्ने स्थानको उकालोमा एउटा १२ चक्के ट्रक उकालो चढ्न नसकेपछि मंगलबार दिउँसो १२ बजेदेखि जाम भएको हो ।

सामान्य वर्षादले सडक चिप्लो हुँदा करिब ७ किलोमिटर सडक क्षेत्रमा जाम भएको छ । महेन्द्रराजमार्गको होङ्सी गेटदेखि पश्चिम दाउन्ने बजारसम्म अहिले गाडीको लामो जाम छ । पश्चिमतर्फ हिँडेका सयौं गाडी रोकिएका छन् ।

इलाका प्रहरी कार्यालय दुम्कीवासका प्रहरी निरीक्षक राजन तिमिल्सिनाले वर्षाका कारण राजमार्ग हिलाम्य भएर गाही उकालोमा चढ्न नसकेको सुनाए । ‘पानी परेको छ, सडक चिप्लो छ । राजमार्ग नसुकेसम्म जाम खुल्न मुस्किल छ,’ उनले भने । 

महेन्द्रराजमार्ग अन्तर्गत दुम्कीवास र बर्दघाट बीचमा पर्ने १४ किलोमिटर सडक दाउन्ने पहाड रहेको छ । त्यहाँ सामान्य वर्षा हुनासाथ गाडी चिप्लिएर राजमार्ग घण्टौं जाम हुने गरेको छ । चिनियाँ ठेकेदारले राजमार्गको हिलो हटाउन ग्राभेल नहालेका कारण राजमार्ग जाम हुने स्थानीय बताउँछन् । गत असारयता दाउन्ने राजमार्ग २१ पटक जाम भइसकेको छ । सामान्य वर्षा हुनासाथ दाउन्नेमा जाम हुन्छ । 

नारायण शर्मा कान्तिपुरका नवलपरासी संवाददाता हुन् । उनले राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully