सहकारी ठगी आरोपमा सहायक क्याम्पस प्रमुख रावत पक्राउ

लमजुङ जिल्ला अदालतको अनुमतिमा प्रहरीले ‘सहकारी ठगीसम्बन्धी मुद्दा’मा बेंसीसहरमा कार्यालय रहेको सुनौलो भविष्य बचत तथा ऋण सहकारी संस्थाका वर्तमान अध्यक्ष ऋषिराम अधिकारीसहित १७ जनालाई साउन ५ गते र पछि केही दिनअघि १ जनालाई पक्राउ पुर्जी जारी गरेको थियो ।

श्रावण २५, २०८२

कान्तिपुर संवाददाता

Assistant campus head Rawat arrested on co-operative fraud charges

What you should know

लमजुङ — सहकारी ठगीसम्बन्धी मुद्दामा अनुसन्धान गर्न लमजुङ प्रहरीले बेंसीसहरस्थित मर्स्याङ्दी बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख पदमबहादुर रावतलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय प्रमुख डीएसपी रेशम बोहराले राउतलाई आइतबार बेंसीसहरबाट पक्राउ गरिएको पुष्टि गरे । उनी बेंसीसहर कार्यालय रहेको सुनौलो भविष्य बचत तथा ऋण सहकारी संस्था लिमिटेडका तत्कालीन व्यवस्थापक, अध्यक्ष तथा लेखा समितिका पदाधिकारी रहेको प्रहरीले जनाएको छ ।

लमजुङ जिल्ला अदालतको अनुमतिमा प्रहरीले ‘सहकारी ठगीसम्बन्धी मुद्दा’मा बेंसीसहरमा कार्यालय रहेको सुनौलो भविष्य बचत तथा ऋण सहकारी संस्थाका वर्तमान अध्यक्ष ऋषिराम अधिकारीसहित १७ जनालाई साउन ५ गते र पछि केही दिनअघि १ जनालाई पक्राउ पुर्जी जारी गरेको थियो । पक्राउ पुर्जी जारी भएको लामो समयसम्म प्रहरीले आरोपितलाई पक्राउ गर्न नसकेको जानकारीसहित केही दिनअघि इकान्तिपुर डटकमले समाचार प्रकाशित गरेको थियो । समाचार प्रकाशित भएपछि पक्राउ पूर्जी जारी भएकाहरुले जिल्ला छाडे पनि रावत भने बेंसीसहरमै थिए ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक राजकिशोर साह तेलीले पक्राउ परेका रावतविरुद्ध जिल्ला अदालतमा ७ दिनको म्याद थप गरी ‘सहकारी ठगीसम्बन्धी मुद्दा’मा थप अनुसन्धान अघि बढेको बताए ।

यसअघि गत मंसिर तेस्रो साता बेंसीसहरस्थित कालिका बचत तथा ऋण सहकारी संस्था लिमिटेडसँग सम्बन्धित सहकारी ठगीसम्बन्धी मुद्दामा मर्स्याङ्दी बहुमुखी क्याम्पसका प्रमुख हरिबाबु थापालाई प्रहरीले पक्राउ गरेको थियो । उनी पछि ७ लाख रुपैयाँ धरौटी बुझाएर निस्किएका थिए ।

सुनौलो भविष्य बचत तथा ऋण सहकारी संस्थामा सञ्चालकहरुले बचतकर्ताको ६ करोड ५४ लाख रकम हिनामिना गरेको भन्दै सहकारी रजिस्ट्रारको कार्यालय पोखराको प्रतिवेदनमा उल्लेख छ ।

कान्तिपुर संवाददाता

Link copied successfully