क्याङमा पहिरोले जिप पुर्‍यो

श्रद्धालुहरू जनै पूर्णिमाको पूजा सकेर फर्कने क्रममा बोलेरो जिप पहिरोमा पुरियो, यात्रु र चालक भने सुरक्षित छन्।

श्रावण २४, २०८२

सुमनजंग थापा

Landslide in Cang took the jeep

पर्वत — मोदी गाउँपालिका–४ क्याङमा शनिबार बिहान बोलेरो जिप पहिरोले पुरेको छ। जिपमा सवार यात्रुहरू पहिल्यै झरेर सुरक्षित स्थानमा गएकाले मानवीय क्षति नभएको प्रहरीले जनाएको छ। पहिरो बाटो माथिबाट खसेको थियो।

जनै पूर्णिमाको दिन मोदी गाउँपालिका–४ लेस्पारस्थित सहस्रधारामा रहेको बराहा मन्दिरमा श्रद्धालुहरू पूजाआजाका लागि पुग्ने गर्छन्। पूजाका लागि शुक्रबारदेखि नै कुस्मा र आसपासका जिल्लाबाट श्रद्धालुहरू बराहा मन्दिर पुग्ने गरेका छन्।

पूजा सकेर कुस्मा फर्कने यात्रुहरू बोकेर ल्याएको ध.क.ज ५५८ नम्बरको बोलेरो जिप पहिरोले पुरेको हो। ‘बाटो अप्ठ्यारो रहेछ। गाडी केही बेर फसेपछि यात्रुहरू झरेर सुरक्षित स्थानमा गएछन्,’ जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका ट्राफिक प्रहरी प्रमुख बलबहादुर गुरुङले भने, ‘माथिबाट साना ढुङ्गा खस्न लागेपछि चालक पनि निस्केर ज्यान बचाएछन्।’

पातिचौरदेखि बाजुङ, खुाईजरी, क्याङ हुँदै करिब तीन घण्टामा लेस्पार पुग्न सकिन्छ। त्यसैगरी कुश्मादेखि सवारीमा जानका लागि दुर्लुङकोट, हलहले, मेकसार हुँदै साढे तीन घण्टामा लेस्पार पुग्न सकिन्छ।

सुमनजंग सुमन कान्तिपुरका पर्वत संवाददाता हुन् । उनी समसामयिक विषयमा समाचार लेख्ने गर्छन् ।

Link copied successfully