गोरखामा ८५ प्रतिशत क्षेत्रफलमा मात्र रोपाइँ

साउन तेस्रो सातासम्म ८५ प्रतिशत क्षेत्रफलमा मात्र रोपाइँ सकिएको कृषि ज्ञान केन्द्र गोरखाले जनाएको छ ।

श्रावण २३, २०८२

हरिराम उप्रेती

In Gorkha only 85 percent of the area was planted

What you should know

गोरखा — पर्याप्त वर्षा नहुँदा यस वर्ष रोपाइँ प्रभावित बनेको छ । साउन तेस्रो सातासम्म ८५ प्रतिशत क्षेत्रफलमा मात्र रोपाइँ सकिएको कृषि ज्ञान केन्द्र गोरखाले जनाएको छ ।

आकाशे पानीको भरमा रोपाइँ हुने टारी खेतको रोपाइँ प्रभावित वनेको कृषि ज्ञान केन्द्र गोरखाका सूचना अधिकारी सुमन भट्टराईले जानकारी दिए । गत वर्ष बर्खे धान खेती हुने ९५ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको थियो । गत वर्षको तुलनामा यस वर्ष १० प्रतिशत क्षेत्रफलमा रोपाइँ हुन नसकेको उनले बताए ।

‘ब्याडको बिउ पनि छिप्पिइसकेको छ, समयमै पर्याप्त पानी नपर्दा १५ प्रतिशत क्षेत्रफलमा रोपाइँ नहुने निश्चित जस्तै भइसक्यो,’ उनले भने । विगतको वर्ष साउन दोस्रो साता भित्र रोपाइँ सकिने गरेको थियो । यो वर्ष किसान पर्याप्त वर्षात हुने आशामा साउन तेस्रो सातासम्म रोपाइँको तयारीमा नै छन् ।

जिल्लाको १० हजार एक सय ४० हेक्टर क्षेत्रफलमा बर्खे धान खेती हुँदै आएको छ । हालसम्म आठ हजार ६ सय १९ हेक्टर क्षेत्रफलमा मात्र रोपाइँ सकिएको उनले बताए । सहिद लखन गाउँपालिका क्षेत्रको झन्डै ५० प्रतिशत र बारपाक सुलिकोट गाउँपालिकाको ३५ प्रतिशत क्षेत्रफलमा रोपाइँ हुन नसकेको उनले बताए । ‘पानीको स्रोत नभएको, आकाशे पानीको भरमा रोपाइँ हुने खेतमा रोपाइँ हुन नसकेको हो,’ उनले भने ।

रोपाइँ हुन नसकेको खतेमा वैकल्पिक बाली लगाउन किसानलाई सुझाव दिएको भट्टराईले बताए । मकै वा कोदो लगायतका वैकल्पिक खेती गर्न ज्ञान केन्द्रले किसानलाई सुझाव दिएको छ । गत वर्ष ३९ हजार ९ सय मेट्रिक टन धान उत्पादन भएको थियो । यस वर्ष रोपाइँको सिजनमा खडेरी पर्दा धान उत्पादन पनि घट्ने अनुमान गरिएको छ ।

जिल्लाका किसानले साबित्री, रामधान, महाराजा, हर्दिनाथ १, सुख्खा ३, तथा स्थानीय जातको धान लगाउने गरेका छन् । दरौँदी, चेपे, सिर्दी, शेरा, खारखोला, ज्यादुखोला, दुर्वङ लगायतका फाँटमा धान उत्पादन धेरै हुने गरेको छ । उत्तरी गोरखाको चुमनुव्री र धार्चे गाउँपालिकामा भने धान खेती हुँदैन ।

हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully