नि:शुल्क 'आमाघर'मा किन बसेनन् सुत्केरी ?

प्रसूतिपूर्व र प्रसूतिपछि आउन सक्ने समस्याको तत्काल उपचार गर्न सकियोस् भनेर बनाइएको आमा घर उपयोगविहीन बन्दै गएको छ ।

श्रावण २२, २०८२

प्रकाश बराल

Why didn't the pregnant women stay at the free 'Amaghar'?

What you should know

बागलुङ — बडिगाडकी एक महिला गत वर्ष सदरमुकाममा आएर एक महिनासम्म डेरा बसिन् । धौलागिरि प्रादेशिक अस्पतालमा सुत्केरी भइन् । उनको अपरेसनसमेत भएको थियो । तर उनले अस्पतालभित्रैको प्रसूति प्रतीक्षा घर (आमा घर) को सेवा लिइनन् ।

उनी मात्र होइन, सदरमुकाम आसपासबाट सेवा लिन आएका सुत्केरी वा प्रसूतिका लागि आएका महिला कोही होटलमा बस्छन् भने कोही आफन्तको घर वा डेरा खोज्दै हिँड्छन् । अस्पतालभित्रै एक जना कुरुवासहितको आमा घर छ । तर त्योबारे उनीहरु चासो राख्दैनन् ।

जे उद्देश्यले आमा घर स्थापना भयो, त्यो उद्देश्य पूरा भएको छैन । तीन चारवर्ष अघिसम्म त यो घरमा बस्ने कोही थिएनन् । पछिल्लो दुई वर्षदेखि छिटफुट बस्ने आएका छन् । तर त्यो पर्याप्त नभएको अस्पतालकी नर्सिङ अधिकृत तथा सूचना अधिकारी शान्ति पौडेलले बताइन् । बसेकाहरु पनि अधिकांश आर्थिक अवस्था अति विपन्न भएकाले कतै आश्रय नपाएका मात्रै छन् । उनीहरुले अन्यत्र जानै नसक्ने अवस्था भएपछि स्वास्थ्यकर्मीले राख्ने गरेका हुन् । आमा घरमा साता दिनसम्म कम्तिमा दुईजनालाई खानेबस्ने व्यवस्था छ ।

सदरमुकामदेखि १ सय २० किमि पश्चिमको बोहोरागाउँ स्वास्थ्य चौकीमा पनि आमा घर छ । त्यहाँ वर्षमा १ सयभन्दा बढी महिलाले सात दिनसम्म बसेर प्रसूति सेवा लिने गरेका छन् । पछिल्लो चार वर्षदेखि यो क्रम निरन्तर छ । तर सदरमुकामस्थित धौलागिरि प्रादेशिक अस्पतालमा रहेको आमा घरमा सबै सेवासुविधा भएर पनि बसिदिने कोही नभएका हुन् ।

प्रसूतिपूर्व र प्रसूतिपछि आउन सक्ने समस्याको तत्काल उपचार गर्न सकियोस् भनेर बनाइएको आमा घर उपयोगविहीनजस्तै हुने गरेको हो । समस्या आएमा हेलिकोप्टर खोजेर उद्धारको तयारी गर्न चाहनेले अस्पतालभित्रै बस्न भने नचाहेको पाइएको हो । सदरमुकामबाहिरका अधिकांश प्रतीक्षाघरमा वर्षमा अधिकांश महिला बस्छन् । उनीहरुले नि:शुल्क सेवा लिन्छन् । तर सदरमुकाममै भएको घर उपयोगमा नआएको हो । 

गाउँका भन्दा अस्पतालको प्रतीक्षा घरमा तातो चिसो, ग्यास चुलोसहितका भाँडा र पोसिलो खानेकुराको व्यवस्था छ । एकजना सहयोगी समेत पाउँछन् । त्यतिमात्र होइन, एक जना कुरुवा पनि राख्न पाइन्छ । साता दिनसम्म सबै सेवा नि:शुल्क पाउने व्यवस्था भएर पनि अस्पतालमा सुत्केरी हुन आउने एकादुईले मात्र उपयोग गरिरहेका छन् । 

अस्पताल नर्सिङ प्रशासक शान्ति पौडेलका अनुसार आर्थिक वर्ष २०८१/०८२ मा धौलागिरि अस्पतालमा ९ सय १५ जना महिला सुत्केरी भए । ती मध्ये २ सय ९२ जनाको अपरेसन भयो । तर आमा घरमा १६ जनामात्रै बसे । त्यो भन्दा अघिल्लो वर्ष ९ सय ७५ जना सुत्केरी भएकामा २ सय ७८ जनाको अपरेसन भएको थियो । त्यतिबेला २१ जनाले आमाघरको सेवा लिएको प्रसूति प्रतीक्षा घर इन्चार्ज अजिता सिलवालले बताइन् ।

अस्पतालभित्र सुविधा सम्पन्न आमाघर छ भनेर बुझाउन नसकेको, नि:शुल्क खानेबस्ने र कुरुवा समेत राख्न सकिन्छ भन्ने जानकारी नभएको र सदरमुकाम आएर होटलमा बस्नुभन्दा थप सुरक्षित हुन्छ भन्ने सही जानकारी दिन नसकेकाले यो अबस्था आएको अस्पतालका अध्यक्ष अमरबहादुर थापाले बताए । ‘हामीले अस्पतालमा विशेष सेवा छ झन्ने समेत बुझाउन नसकेको अवस्था छ,’ थापाले भने, ‘केही वर्ष अघिसम्म अस्पतालमा प्रभावकारी सेवा नपाएकाले अहिलेको सेवाबारे नागरिक विश्वस्त बन्न नसकेका हुन् ।’

अस्पतालमा अहिले भने २६ जना विशेषज्ञ चिकित्सकसहित ३६ जना डाक्टरको व्यवस्था छ । विभिन्न अपरेसन सेवा, डायलसिस, थेरापी र सीटी स्क्यान तथा ट्रमा युनिटबाट पनि सेवा प्रभाह भएको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. किरण तिवारीले बताए ।

प्रकाश बराल बराल कान्तिपुरका बागलुङ संवाददाता हुन् ।

Link copied successfully