लमजुङको सुनौलो भविष्य सहकारीका १७ जनाविरुद्ध पक्राउ पुर्जी जारी

पोखरा सहकारी रजिस्ट्रारको प्रतिवेदनमा सुनौलो भविष्य सहकारीका सञ्चालकहरूले ठूलो रकम हिनामिना गरेको तथ्य सार्वजनिक भएको छ।

श्रावण २०, २०८२

आश गुरुङ

Arrest warrant issued against 17 people of Lamjung's Sunoulo Bhavi Sahakari

What you should know

लमजुङ — लमजुङको बेसींसहरमा कार्यालय रहेको सुनौलो भविष्य बचत तथा ऋण सहकारी संस्थाका १७ जना सञ्चालकविरुद्ध लमजुङ प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । लमजुङ जिल्ला अदालतको अनुमतिमा प्रहरीले सहकारी ठगीसम्बन्धी मुद्दामा वर्तमान अध्यक्ष ऋषिराम अधिकारीसहितलाई पक्राउ पुर्जी जारी गरेको हो ।

सुनौलो भविष्य बचत तथा ऋण सहकारी संस्थामा सञ्चालकहरूले बचतकर्ताको ६ करोड ५४ लाख रुपैयाँ हिनामिना गरेको भन्दै सहकारी रजिस्ट्रारको कार्यालय पोखराको प्रतिवेदनमा उल्लेख छ । सहकारीले भारतीय नागरिकलाई समेत २५ लाख ऋण लगानी गरेको कार्यालय स्रोतले जनाएको छ । उक्त प्रतिवेदनसहितको पत्र, जाहेरी, पीडित बचतकर्ताको दरखास्तलगायत कागजातको आधारमा प्रहरीले पक्राउ पुर्जी जारी गरेको हो ।

प्रहरीले सहकारी संस्थाका तत्कालीन व्यवस्थापक, अध्यक्ष तथा लेखा समितिका पदाधिकारी पदमबहादुर रावतविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको छ । उनी बेसींसहरस्थित मर्स्याङ्दी बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख हुन् । तत्कालीन उपाध्यक्ष अरुणकान्त घिमिरे, तत्कालीन सचिव शंकर न्यौपाने, तत्कालीन कोषाध्यक्ष किशोरकुमार बस्नेतलगायत १७ जनाविरुद्ध साउन ५ गते पक्राउ पुर्जी जारी गरिएको हो । यस्तै, सहकारीका लेखा समिति सदस्य विजेन्द्र थापाविरुद्ध पनि पक्राउ पुर्जी जारी गरिएको छ । उनी सुन्दरबजार नगरपालिका–८ का वडाध्यक्ष हुन् ।

प्रहरीले पक्राउ पुर्जी जारी नगरेको भनी आलटाल गर्दै आएको छ । पक्राउ पुर्जी जारी गर्न अदालतले अनुमति दिएको १५ दिन बितिसक्दा पनि लमजुङ प्रहरीले कुनै पनि आरोपितलाई पक्राउ गरेको छैन । पक्राउ पुर्जी जारी भएकाहरू बेँसीसहर बजारमा दिनहुँ हिँडडुल गरिरहे पनि प्रहरीले नदेखेझैँ गरेको स्थानीयले बताएका छन् ।

जिल्ला प्रहरी प्रमुख डीएसपी रेशम बोहराले पक्राउ पुर्जी जारी भएकाहरूलाई कानुनअनुसार पक्राउ गरिने बताए । 'मुद्दा दर्ता भएको छ, सहकारीको कुरा हो, पीडितले रकम पाउने वातावरण बनोस् भन्ने हो, पक्राउ नगर्ने त कुरै छैन,' उनले भने । उनका अनुसार सहकारीको मुद्दा प्रक्रियामा गएपछि टुंगोमा पुग्न समय लाग्छ । 'सहकारी रजिस्ट्रारको कार्यालयले औँल्याएका विषयहरू छन् । पीडितले बचत पाउने अवस्था हो भने मुद्दा मामिला त छँदैछ,' उनले भने । उनले आरोपितहरू ढिलोचाँडो पक्राउ पर्ने बताए ।

भोटेओडार र चितीमा सम्पर्क कार्यालयसमेत सञ्चालन गरेको सुनौलो भविष्य बचत तथा ऋण सहकारीका सञ्चालक समितिले नक्कली ऋणी बनाएर ऋण लगानी गरेकोसमेत खुलेको सहकारी रजिस्ट्रार कार्यालयले जनाएको छ । पदाधिकारी र सदस्यहरू आफैंले कमसल धितो राखेर लिएको कर्जा नतिरेका कारण सहकारी डुबेको सहकारी रजिस्ट्रार कार्यालय पोखराका प्रमुख भेषराज रिजालले बताए । उनका अनुसार कार्यालयले २०८१ असोज २९ गते नै छानबिन सकेको थियो ।

कार्यालयले वित्तीय विश्लेषक निर्मल गौतमलाई खटाएर प्रतिवेदन तयार पारेको थियो । कार्यालयले गत असार १९ गते सहकारी ठगीको प्रतिवेदन जिल्ला प्रहरी कार्यालयमा बुझाएको थियो । त्यसको १७ दिनपछि प्रहरीले साउन ४ गते मुद्दा दर्ता गर्दै साउन ५ गते पक्राउ पुर्जी जारी गरेको थियो । प्रहरीले पक्राउ पुर्जी जारी नभएको भन्दै ढाँट्दै आएको थियो ।

सहकारीका अध्यक्ष ऋषिराम अधिकारीले आफू आउनुअघि नै सहकारी संस्थामा समस्या भएको बताए । 'म आएपछि छानबिनका लागि आफैंले सहकारी रजिस्ट्रारको कार्यालयमा लिखित जानकारी गराएको हो । म आएपछि ऋण लगानी गरिएको छैन,' उनले भने । उनले सहकारीमा बचत फिर्ता माग्न आउनेलाई २० लाख रुपैयाँ दिनुपर्नेमा ६ लाखमात्रै बाँकी रहेको र फिर्ता गर्ने प्रक्रियामा रहेको बताए ।

सुनौलो भविष्य बचत तथा ऋण सहकारी संस्था २०६९ सालमा स्थापना भएको हो । यस सहकारीमा ३ सय जना शेयर सदस्य र १ हजार ३ सय बचतकर्ता रहेका छन् ।

आश गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।

Link copied successfully