खेतको पानी लगाउने कुलोको विषयमा विवाद पछि बाबुकाजीले खोपबहादुरमाथि खुकुरी र लौरी प्रहार गर्दै गम्भीर घाइते बनाएका छन्।
गोरखा — धारिलो हतियार प्रहार गरी ज्यान मार्ने उद्योग गरेको आरोपमा प्रहरीले गोरखा नगरपालिका–३, घलाङस्थित रातमाटेका ६२ वर्षीय बाबुकाजी बस्नेतलाई पक्राउ गरेको छ ।
शुक्रबार खेतमा पानी लगाउने कुलोको विषयमा विवाद हुँदा बाबुकाजीले आफ्नै भाइ ५८ वर्षीय खोपबहादुर बस्नेतलाई धारिलो हतियार र लौरीले प्रहार गरेका थिए । खोपबहादुर गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।
आफन्तमार्फत आएको जाहेरी दरखास्तको आधारमा धारिलो हतियार र लौरीले पटक–पटक प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा बाबुकाजीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक ध्रुव प्रसाद शर्माले जानकारी दिए ।
हाल पक्राउ परेका बाबुकाजी बस्नेतलाई जिल्ला अदालत गोरखाबाट म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
