मर्स्याङ्दी गाउँपालिका ६ र ७ को सिमानामा निर्माणाधीन जलविद्युत् परियोजनामा बाढी र पहिरोले ठुलो क्षति पुर्याएको छ।
What you should know
लमजुङ — लमजुङको उत्तरी भेगमा रहेको ङादी खोलामा आएको बाढी र आसपासको पहिरोले निर्माणाधीन ४० दशमलव २७ मेगावाटको सुपर न्यादी जलविद्युत् आयोजनाको बाँधदेखि पावर हाउसम्मको सबैजसो संरचनामा क्षति पुर्याएको छ । बाढीले निर्माणाधीन आयोजनाको बाँध क्षेत्र, पाइपलाइन, विद्युत् गृह, पहुँचमार्ग, कच्चा पदार्थ साथै कच्चा पदार्थ तयार पार्ने मेसिनरी सामान, सवारी तथा मालवाहक साधन बगाएको छ ।
मर्स्याङ्दी गाउँपालिका ६ र ७ को सिमाना भएर बग्ने ङादीखोलामा निर्माण भइरहेको यो आयोजनाको करिब ८० प्रतिशत निर्माणकार्य सकिएको थियो । आगामी चैत मसान्तसम्म निर्माणकार्य सक्ने गरी काम अघि बढेकोमा बाढी पहिरोका कारण ९ महिना ढिलाइ हुने प्रक्षेपण गरिएको छ ।
गत वर्षको बाढी र पहिरोले समेत आयोजनाको संरचनामा क्षति पुर्याएकोमा यस वर्षको बाढी पहिरोले थप क्षति पुर्याएको प्रोजेक्ट म्यानेजर विमल ढकालले बताए । उनका अनुसार आइतबार दिउँसो १ बजेदेखि साँझ ७ बजेसम्मको बाढी र पहिरोले आयोजनामा प्रारम्भिक रिपोर्ट अनुसार ६० करोड बढीको क्षति पुर्याएको उनले दाबी गरे । उनका अनुसार हेडवर्क्सतर्फ ३ वटा एक्स्काभेटरमा क्षति पुगेको छ । ३ हजार ५ सय बोरा सिमेन्ट बगाएको छ । डिजल जेनेरेटर तथा ३ थान मिक्सर मेसिन पूर्ण रुपमा क्षति पुगेको उनले बताए । मस्याङ्दी गाउँपालिका ६, ठुलीबेंसीदेखि आयोजनास्थलको करिब २५ किलोमिटर पहुँचमार्गको सडकमध्ये १५ बढी ठाउँमा पहिरो गएको छ । विद्युत् आपूर्ति र इन्टरनेट सेवा पूर्ण रुपमा बन्द भएको उनले बताए ।
यस्तै, जडान गरिएका पेनस्टक पाइमपध्ये करिब २ सय मिटर पाइपमा क्षति पुर्याएको छ । पावर हाउस (विद्युत् गृह) तर्फ ३ ठाउँको स्टोर भवनमा क्षति पुर्याएको छ । करिब १२ करोड रुपैयाँ पर्ने पावरहाउसभित्र काम गर्ने टेमरक मेसिन पूर्ण रुपमा क्षति पुगेको छ ।
पावरहाउसमा ७ हजार बोरा सिमेन्ट र १ सय ५० टन रड बगाएको प्रोजेक्ट म्यानेजर ढकालले बताए । यस क्षेत्रमा ३ थान कम्प्रेसर मेसिन र २ थान बोलेरो गाडी, टिप्पर र एक्स्काभेटर १/१ थान बगाएको छ । साथै स्टोरमा रहेका स्पेयर पार्टस् र आयोजनाको लागि निर्माण गरिएको वर्कशपमा पूर्ण रुपमा क्षति पुर्याएको उनले बताए ।
यस्तै, पावर हाउसनजिक रहेको कंक्रिट बनाउने ठाउँ बेचिङ प्लान्ट पूर्ण रूपमा क्षति भएको छ । पावरहाउसभित्र जडान गर्न राखिएको ५० मिलिमिटर मोटाइका १ दशमलव ५ मिटर लम्बाइका करिब १ सय ३० थान पाइप बगाएको छ । ‘विस्तृत विवरण आउन त बाँकी नै छ । प्रारम्भिक सर्वेक्षण अनुसार ६० करोड रुपैयाँ बढीको क्षति पुगेको छ,’ उनले भने ।
आयोजनाले दिएको पछिल्लो जानकारीअनुसार विद्युत्को व्यापारिक उत्पादन मिति (आरसीओडी) २०८२ चैत मसान्तसम्म थियो । अहिलेको बाढी पहिरोले थप ९ महिनापछि धकेलिने प्रक्षेपण गरिएको प्राजेक्ट म्यानेजर ढकालले बताए । ‘पोहोरको बाढी पहिरोले पनि आयोजनाको निर्माण समय लम्ब्यायो । यसपटकको बाढी पहिरोले झन ९ महिना लम्बिने देखियो,’ उनले भने, ‘आयोजना निर्माणको उत्तरार्धमा आएको विपदले हामीलाई निकै समस्या बनायो ।’
सिउरी न्यादी पावर लिमिटेडको प्रवर्द्धनमा निर्माण भइरहेको उक्त आयोजनाको निर्माणकार्य २०७६ माघ महिनाबाट सुरु भएको थियो । परियोजनाको सिभिल संरचना जी एन्ड जी इन्फ्रा प्रालिको मातहतमा आरके हाइड्रो प्रालिले निर्माण गरिरहेको छ । भारतको ग्लोबल हाइड्रो प्रालिले इलेक्ट्रोमेकानिकलतर्फको कार्य गरिरहेको छ । नेपालको प्रिसाइज हाइड्रो प्रालिले हाइड्रो मेकानिकलको काम गरिरहेको छ । ट्रान्समिसन लाइनको कार्य एएस कन्स्ट्रक्सन प्रालिले गरिरहेको छ ।
आयोजनाको बाँध मर्स्याङ्दी गाउँपालिका ६, डहरेभन्दा माथि निर्माण भइरहेको छ । ६ हजार ८ सय ८५ मिटरको सुरुङबाट ल्याएको पानीलाई नाइँचे गाउँनजिकै निर्माण हुने भूमिगत विद्युत् गृहमा खसालेर बिजुली उत्पादन गरिने छ । विद्युत् गृहमा २ वटा भर्टिकल पेल्टन टर्बाइन रहनेछन् । आयोजनाको ग्रसहेड ७ सय ३ मिटर रहेको छ । सुरुङको ८ वटा फेजमा काम भइरहेको उनले बताए ।
सुपर न्यादी जलविद्युत् आयोजनामा एनएमबी बैंकको लिडिङमा ४ वटा बैंकको ५ अर्ब २५ करोड रुपैयाँ ऋण लगानी रहेको छ । प्रवर्द्धकको इक्वीटी (स्वपुँजी) १ अर्ब ७५ करोड रुपैयाँ रहेको छ । बैंकको ७५ प्रतिशत र प्रवर्द्धकको २५ प्रतिशत गरी परिआयोजना ७ अर्ब रुपैयाँ लागतमा निर्माण प्रक्षेपण गरिएको छ । आयोजनामा लमजुङबासीको करिब २० करोड रुपैयाँ ‘प्रमोटर’ सेयर रहेको छ ।
उत्पादित विद्युत् ११ किलोमिटर टाढा निर्माणाधीन नेपाल विद्युत् प्राधिकरणको टारीकुना सबस्टेसनमा जोडिनेछ । सुपर न्यादी आफैंले न्यादी जलविद्युत् आयोजनासम्म ५ दशमलव १ मिटर लामो १३२ केभीको सिंगल सर्किट प्रसारण लाइन निर्माण गर्नेछ । न्यादी आयोजनाले यसअघि निर्माण गरेको ६ किलोमिटर सिंगल सर्किटलाई सुपर न्यादी आयोजनाले पनि ‘सेयरिङ’ गरेको छ । परियोजनाका अनुसार वर्षातको समय ६ महिना प्रतियुनिट ४ रुपैयाँ ८० पैसा र ६ महिनाको हिउँदयाममा ८ रुपैयाँ ४० पैसाको दरले विद्युत् खरिदबिक्री सम्झौता (पीपीए) भएको छ ।
