डुम्रे–बेंसीसहर सडकको अँधेरी खोला सडक सुचारु

सडकको अवरोध हटाउन ग्याविन टेवा पर्खाल राखिएको र सवारीलाई सुरक्षित बनाउन प्याराफिट ब्लक राख्ने तयारी गरिएको छ।

श्रावण १९, २०८२

आश गुरुङ

Andheri Khola road of Dumre-Bensisahar road is resumed

लमजुङ — बेंसीसहर–डुम्रे सडक खण्डमा पर्ने लमजुङको बेंसीसहर नगरपालिका–१, उदिपुरस्थित अँधेरी खोला सडक २६ दिनपछि सञ्चालनमा आएको छ ।

असार २४ गते राति सडक छेउबाट सुख्खा पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो । थप क्षति नहोस् भनेर सवारी आवागमन बन्द गरी तलतिर ग्याविन टेवा पर्खाल लगाइएको थियो ।

जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख डिएसपी रेशम बोहराले आइतबार साँझदेखि सडक एकतर्फी सञ्चालन गरिएको जानकारी दिए । उनले भने, 'सडक एकतर्फी भए पनि सबै प्रकारका गाडी आउने गरी खुलाइएको छ ।’

डुम्रे–बेंसीसहर–चामे सडक आयोजना कार्यालयका सब–इन्जिनियर सुमन अधिकारीका अनुसार ग्याविन टेवा पर्खाल राख्ने काम अधिकांश सकिएको छ र सुरक्षाका लागि प्याराफिट ब्लक राख्ने तयारी भइरहेको छ ।

प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेलका अनुसार, पहिरोले सडक भासिने अवस्था आएपछि केही समय नेपाली सेनाको चण्डी प्रसाद गण उदिपुर ब्यारेकमार्फत वैकल्पिक बाटो सञ्चालन गरिएको थियो । अहिले भने मुख्य सडकबाटै सवारी आवागमन सुचारु गरिएको छ ।

अधिकारीले यसअघि अँधेरीखोलाबाट आएको पहिरोले सडकलाई बारम्बार क्षति पुर्‍याउने गरेको हुँदा यो पटक ग्याविन टेवा पर्खाल राखेर सडकलाई सुरक्षित बनाइएको जानकारी दिए ।

आश गुरुङ गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।

Link copied successfully