पोखरामा आयोजित फेस्टमा मन्त्रीको सहभागिता, नवप्रवर्तनयुक्त सामग्रीको अवलोकन र फोहोर व्यवस्थापनमा जोड।
What you should know
पोखरा — पुराना सिसाका बोतलबाट बनाइका गिलास । प्लास्टिकका बोतलको पुनर्प्रयोग गरेर बनाइएका विभिन्न सामग्री । पुराना कपडाबाट बनाइएका झोला र अन्य हस्तकलाका सामान । शनिबार रिसाइक्लिङ तथा अपसाइक्लिङ (आरयू) फेस्ट अवलोकन गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपाने पोखरा पुगिन् ।
मन्त्री नियुक्त भएपछि पहिलोपल्ट पोखरा आएकी उनले पोखरा इभेन्ट सेन्टरमा पुगेर फेस्टको अवलोकन गरेकी हुन् । उनले स्टलमा पुगेर रिसाइक्लिङ (पुनर्प्रयोग) र अपसाइक्लिङ (नवप्रयोग) गरी बनाइएका हस्तकला, घरायसी प्रयोगका लागि बनाइएका सामग्रीको अवलोकन गरिन् । ती सामग्री उत्पादन गर्ने उद्यमीसँग भलाकुसारी गरिन् ।
फेस्टिभल परिसरमा थियो, प्लास्टिकका बोतलले बनाइएको पृथ्वीको डमी । त्यसभित्र पस्न सानो द्वार पनि बनाइएको थियो । पोखराका युवाले तयार गरेको ‘पृथ्वी’भित्र पस्दै उनले प्लास्टिकको कमभन्दा कम प्रयोग गर्नुपर्ने बताइन् । फेस्टको अवलोकन गर्दै उनले फोहोर व्यवस्थापनसँगै हरित रोजगारी सिर्जना हुनु प्रशंसायोग्य रहेको बताइन् ।
‘रिसाइक्लिङ र अपसाइक्लिङले फोहोर मात्रै व्यवस्थपन हुँदैन, रोजगारी पनि सिर्जना हुन्छ भन्ने उदाहरण फेस्टिभलमा देखिएको छ,’ उनले भनिन्, ‘नेपालका अन्य सहरका लागि पनि यो परियोजना उदाहरणीय बन्न सक्छ ।’ उनले फेस्टमा स्टल राखेका आरयू उद्यमीलाई हौसला समेत प्रदान गरिन् ।
कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) को सहयोगमा पोखरा महानगरपालिकाले सञ्चालन गरेको रिसाइक्लिङ र अपसाइक्लिङमार्फत हरित रोजगारी सिर्जना परियोजना (जीसीआरयू) अन्तर्गत आरयू फेस्ट शुक्रबार सुरु भएको थियो ।
फेस्टको दोस्रो तथा अन्तिम दिन शनिबार उत्पादक स्वयंलाई फोहोर व्यवस्थापनप्रति उत्तरदायी बनाउन संवादको आयोजना गरिएको थियो । उद्योग वाणिज्य संघका प्रतिनिधि, वातावरणविद् र व्यवसायीसँग अनिल चित्रकारले ‘हरित चक्रीय अर्थतन्त्रमा उत्पादकको विस्तारित उत्तरदायित्व’ विषयमा संवाद चलाए । शनिबार नै कम गुणस्तरका प्लास्टिकको पुनर्प्रयोग गरी घरायसी सामान बनाउने प्रविधि, काठको विकल्पमा रिसाइकल गरिएको प्लास्टिक प्रयोगको प्रविधि, पुराना प्लास्टिकबाट कालोपत्र गर्ने प्रविधिका बारेमा विज्ञले आफ्नो प्रस्तुति राखेका थिए ।
रिसाइकल र अपसाइकल उद्योगको दिगोपनाका बारेमा फेस्टमा सहभागीले बुझ्ने मौका पाए । फोहोरबाट बनाइएका कपडाको पनि फेस्टमा प्रदर्शन गरिएको थियो । शनिबार सकिएको फेस्टमा दुई दिनसम्म झण्डै ५ हजार जनाले अवलोकन गरेका छन् । फेस्टको शुक्रबार पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य, कोइकाका कन्ट्री डिरेक्टर मोहेओन कोङ् र यूएनडीपीका प्रतिनिधि जुलियन चेभीलार्डले उद्घाटन गरेका थिए ।
फेस्टिभलमा देशभरिका नवप्रवर्तनयुक्त रिसाइक्लिङ र अपसाइक्लिङ उत्पादनहरूको प्रदर्शनी, फोहोरलाई उपयोगी वस्तुमा रूपान्तरण गर्ने प्रक्रियाको प्रत्यक्ष प्राविधिक डेमो सो, जलवायु, दिगो पर्यटन विकास, हरित उद्यमशीलता र प्लास्टिक टू रोड प्रविधि माथि संवाद, युवाका लागि सिर्जनात्मक कार्यशाला, सार्वजनिक कला प्रदर्शनी, सहभागितामूलक गतिविधि, दक्षिण कोरियाको सफलता अनुभवमाथि विशेष संवाद सत्र, हरित रोजगारी, बजार पहुँच र दिगो जीविकोपार्जनका उपाय लगायत विषयमाथि चर्चा भएको थियो ।
हाल रिसाइक्लिङ र अपसाइक्लिङमार्फत हरित रोजगारी सिर्जना परियोजनाअन्तर्गत कोइकाको ९.८ मिलियन अमेरिकी डलर र यूएनडीपीको ०.८७ मिलियन अमेरिकी डलर आर्थिक सहयोग रहेको छ । परियोजना अन्तर्गत नै पोखरा प्रदर्शनी केन्द्रमा ग्रिन भेन्चर जोन (जीभीजेड) सेन्टर निर्माण भइरहेको छ । सन् २०२३ सेप्टेम्बरबाट सुरु भएको परियोजना २०२९ डिसेम्बरमा सम्पन्न हुने छ ।
पोखरा महानगरपालिका क्षेत्रमा १ सय ३६ सामुदायिक समूह निर्माण गरी उनीहरूलाई आवश्यक तालिम तथा प्राविधिक प्रशिक्षण पनि प्रदान गरिएको छ । परियोजनाअन्तर्गत तालिमप्राप्त स्थानीय उद्यमीले उत्पादन गरेका सामग्री विक्री र प्रदर्शनीका लागि उक्त सेन्टरमा राखिने छ । ‘यस परियोजनाले युवाहरूलाई रोजगारीसँग जोड्ने छ भने हरित अर्थतन्त्रको विकासमा महत्त्वपूर्ण योगदान गर्नेछ,’ नगर प्रमुख आचार्यले भने ।
फोहोरमैलाको उचित व्यवस्थापन मार्फत हरित रोजगारी सिर्जना र चक्रीय अर्थतन्त्रको सिर्जनशील उपयोग आमसमुदायका लागि निकै महत्त्वपूर्ण हुने विश्वास गरिएको छ । हरित अर्थतन्त्रमा योगदान पुर्याउने आरयू उद्यमलाई बढवा दिन दिगो नीतिको सुनिश्चिततासहित महानगरपालिकाले परियोजनाको स्वामित्व लिनेछ । परियोजनामार्फत आगामी २ वर्षमा ३ हजार रोजगारी सिर्जना गर्ने लक्ष्य राखिएको छ ।
