मृतक तारजाली कारखानाका मजदुर हुन् । उनी साइकलबाट खोल्सामा खसेको हुनसक्ने प्रहरीको अनुमान छ ।
नवलपरासी — गैंडाकोटको भित्री सडकको खोल्सामा खसेर एक मजदुरको मृत्यु भएको छ । जिल्ला प्रहरीका अनुसार शनिबार बिहान देवचुली नगरपालिका-१६ रहजर निवासी ५१ वर्षीय किसान न्यौपानेको गैंडाकोटस्थित नगरटाँडीको खोल्सामा खसेर मृत्यु भएको हो ।
स्थानीयले मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थल नजिकै साइकल फेला परेको र उनी साइकलबाट खोल्सामा खसेको हुन सक्ने अनुमान प्रहरीको छ ।
उनी एउटा तारजाली कारखानामा कार्यरत मजदुर हुन् । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ ।
