मोदी खोला किनारमा जथाभावी फोहोर, व्यवस्थापनमा आँखा चिम्लँदै पालिका

डिमुवा बजार र पातीचौरमा फोहोर अव्यवस्थित हुँदा पर्यावरणीय असर पुगेको छ ।

श्रावण १७, २०८२

सुमनजंग थापा

Garbage on the banks of the Modi river, the municipality turning a blind eye to management

What you should know

काठमाडौँ — मोदी गाउँपालिकाको मुख्य व्यापारिक बजार पातीचौर र डिमुवाबाट निस्कने फोहोर व्यवस्थापनमा गाउँपालिकाले चासो नदेखाउँदा वातावरण प्रदूषित बन्न पुगेको छ । मोदी खोलाको किनारमा जथाभावी फोहोर विसर्जन गरिँदै आइएको छ । जसले गर्दा पर्यावरणमा असर परेको छ ।

मोदी गाउँपालिका–६ का वडाध्यक्ष दीपेन्द्र लामिछानेले फोहोर व्यवस्थापनको विषयमा गाउँपालिकाको चासो र चिन्ता कम भएको स्वीकार गरे । फोहोर फाल्ने उचित ठाउँ नभेटेकाले मोदी खोला किनारमा फोहोर फाल्नुपर्ने बाध्यता रहँदै आएको उनको भनाइ छ । भने, ‘पर्यावरणमा असर पर्ने कुरा थाहा छ । तर विकल्प छैन ।’

डिमुवा बजारको फोहोर सिधै खोलामा फाल्ने गरिएको भए पनि अहिले खाडल खनेर फोहोर व्यवस्थापन गर्दै आएको उनले बताए । साताको शुक्रबार र शनिबार डिमुवा बजार घुमेर ट्याक्टरले फोहोर उठाउने गर्छ । बजार बढ्दै जाने र फोहोर मैलाले सातामा तीन ट्याक्टर फोहोर डिमुवा बजारबाट मात्रै उठ्ने गरेको उनले बताए । ‘म अध्यक्ष भएर आएपछि अस्थायी रूपमै भए पनि मोदी खोला छेउमा खाडल खनेर फोहोर डम्पिङ गर्दै आएका छौँ,’ उनले भने, ‘डम्पिङ साइड निर्माणका लागि दराकमा जमिन हेरिएको पनि छ । मिल्यो भने फोहोरलाई मोहोर बनाउने गरी डम्पिङ सञ्चालन गर्छौँ ।’ कार्यपालिका बैठकमा पनि छलफल चलेकाले यही वर्ष जग्गाको काम टुङ्गिनेमा आफू आशावादी रहेको उनले सुनाए । 

गाउँपालिकाको बाजुङ–५ वारि पातिचौरले तल्लो मोदी खोला जलविद्युतको ड्याम मुन्तिर पुछारमा छरपस्ट फोहोर फाल्दै आएको छ । बर्खाको समय भएकाले सबै फोहोर खोलामा मिसिएका छन् । यता देउपुर–२ पारि पातीचौरले पनि नेपाल विद्युत् प्राधिकरणको जग्गामा काँडे तारको बार लगाएर जथाभावी फोहोर फाल्दै आएको छ । नजिकै पार्वती खोला, मोदी खोला र घाट पनि भएकाले फोहोर फाल्ने काम बन्द गर्नुपर्ने स्थानीयको माग छ ।  

पोखरा–बागलुङ हाइवे हुँदै कुश्मा, बागलुङ, म्याग्दी र मुस्ताङ पुग्ने पर्यटक डिमुवा र पातिचौर भएर जानुपर्ने हुन्छ । यस ठाउँ असला माछाको लागि पनि परिचित छ । ‘डिमुवा, पातिचौर र विशेष गरी अम्बोट माछाको लागि प्रख्यात हो,’ स्थानीय रविन केसीले भने, ‘मोदीको माछा खान पर्यटकहरू लालायित भएर आउँछन् । तर हामीचाहिँ त्यही खोला वरिपरि फोहोर फाल्ने गर्छौँ । यो सुहाउने कुरा होइन । गाउँपालिकाले बेलैमा ध्यान पुर्‍याउन आवश्यक छ ।’

मोदी गाउँपालिका अध्यक्ष हिरादेवी शर्माले फोहोर व्यवस्थापनको जिम्मेवारी निजी संस्थालाई दिने तयारी भएको बताइन् । ‘अस्थायी रूपमा अहिले बजार क्षेत्रका वडाहरू ५, ६ र २ ले आफ्नै तरिकाले व्यवस्थापन गर्दै आएका छन्,’ उनले भनिन्, ‘म निर्वाचित भएर आएदेखि नै स्थायी फोहोर व्यवस्थापनमा लागिरहेकै छु । यस वर्षचाहिँ जसरी पनि जग्गा फाइनलको काम गर्छौँ ।’ तीन वटा वडाको जार क्षेत्रमा मात्रै ७ सय बढी घरधुरीहरू रहेको उनले बताइन् । 

सुमनजंग सुमन कान्तिपुरका पर्वत संवाददाता हुन् । उनी समसामयिक विषयमा समाचार लेख्ने गर्छन् ।

Link copied successfully