लमजुङको सुन्दरबजारमा एकबिहानै विद्यार्थीहरू हातमा कोदालो लिएर निस्किए । केहीले हातमा कोदोको बिउ लिए । अनि केहीबेरमै सुरु भयो कोदो रोपाइँ ।
What you should know
लमजुङ — लमजुङको सुन्दरबजारस्थित कृषि र पशु विज्ञान अध्ययन संस्थान (लमजुङ क्याम्पस) परिसरमा एकबिहानै विद्यार्थीहरू हातमा कोदालो लिएर निस्किए ।
केही विद्यार्थीले हातमा कोदोको बिउ लिए । केही भने दुवै गतिविधिको तस्बिर र भिडियो खिच्न हतारमा थिए ।केहीबेरमा स्थानीय कृषक, जनप्रतिनिधि र क्याम्पसका प्राध्यापकहरू पनि खेतैमा आइपुगे । त्यसपछि सुरु भयो, कोदो रोपाइँ । लस्करै कोदो रोपेको देख्दा केही भने एकनासले हेरिरहे ।
प्रथम राष्ट्रिय कोदो दिवसका अवसरमा क्याम्पसमा अध्ययनरत विद्यार्थी, किसान, अनुसन्धानकर्ता, प्राध्यापकहरू, जनप्रतिनिधि, कृषि क्षेत्रका सरोकारवालाहरु भेला भएर कोदो रोपेका हुन् । विद्यार्थी निश्चल घिमिरेले सबै सरोकारवालालाई एकै ठाउँमा ल्याएर कोदाको महत्त्वबारे जागरुकता फैलाउने र स्थानीय अन्नप्रति गौरव बढाउने उद्देश्य केही हतसम्म पूरा भएको दाबी गरे ।
लमजुङ क्याम्पसको सहकार्यमा क्याम्पसकै जग्गामा सामुदायिक रूपान्तरणका लागि युवा नेपाल (वाईसीटी), खाद्यका लागि कृषि अभियान र सुन्दरबजार नगरपालिकाको संयुक्त आयोजनामा कोदो रोपाइँ गरिएको थियो । उक्त खेतमा सुन्दरबजार नगरपालिका प्रमुख कृष्णप्रसाद कोइराला, उपप्रमुख भवानी केसी, प्रमुख प्रशासकीय अधिकृत रमेश घर्ती, खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारी, कृषि विज्ञ कृष्णप्रसाद पौडेल, सामुदायिक रूपान्तरणका लागि युवा नेपाल (वाईसीटी) अध्यक्ष समन्वय निरौलालगायतले कोदो रोपे ।
सुन्दरबजार नगरपालिका प्रमुख कृष्णप्रसाद कोइरालाका अनुसार हिजो बुहारीलाई कोदो ढिँडो खुवाउँदा अन्याय गर्यो भनिन्थ्यो । अहिले त्यही कोदोको ढिँडोले पहिचान दिएको उनले बताए । ‘कोदो फल्ने बारी अहिले खरबारी भयो । हामी रैथाने बालीलाई प्रेरित गरिरहेका छौं । सक्दो गर्न सकेका छैनौं । रैथाने बाली आफूले खाएर बचाउन सकिए नगरपालिकामा सम्पर्क गर्नुहोला । हामी बिक्री गरिदिन्छौं,’ उनले भने ।
लमजुङ क्याम्पस प्रमुख डा. रामकुमार श्रेष्ठका अनुसार पहिले कोदो भन्ने बित्तिकै कुवाउने र गरिबको खान्कीको रुपमा लिइन्थ्यो । अहिले धनी वर्गको खान्की बनेको छ । अहिले नगदेबाली समेत भएको उनले बताए । ‘कोदोको बजार फराकिलो भएको छ, बजारको समस्या छैन, माग बढ्दो छ,’ उनले भने, ‘आफ्नै बारीमा फलाउन सकिने कोदो अझै पनि परनिर्भर भइरहेका छौं, यो दुखद हो ।’
सुन्दरबजार नगरपालिकाका कृषि अधिकृत अस्मिता सापकोटाका अनुसार गत आर्थिक वर्षको ११ महिनामा मात्रै ७१ करोड ८७ लाख ८४ हजार रुपैयाँ बराबरको कोदो आयत भएको भन्सार विभागको तथ्यांक छ । कोदो खेतीलाई बढावा दिन सरकारले नै ठोस योजना ल्याउनुपर्ने उनले बताए ।
खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारीले कोदो सबैको साथी बनेको बताए । उनका अनुसार पछिल्लो समय कोदो औषधीजन्य अन्न भनेर प्रख्यात भए पनि यसको खेती पर्याप्त मात्रामा हुन नसकेको बताए । प्रथम राष्ट्रिय कोदो दिवसका कार्यक्रम संयोजक विद्यार्थी प्रदीप सापकोटाले कोदो हाम्रो पहिचान र इतिहास भए पनि कोदोलाई हेलचक्र्याइँ गरिरहेको बताए ।
विद्यार्थी रोमिना सापकोटाका अनुसार कृषि, आहार तथा सांस्कृतिक विविधताको उत्सवको रूपमा आयोजना गरिएको कोदो दिवसमा कोदो रोपाई, कृषि प्रदर्शनी, स्थानीय बीउको अवलोकन, कोदो विशेष परिकारको प्रदर्शनी, पोस्टर–तथ्यांक प्रदर्शन, नाटक प्रस्तुति लगायतका विविध गतिविधिहरू गरिए ।
कोदो दिवसको अवसरमा जनप्रतिनिधि, स्थानीय किसान, विद्यार्थी, अनुसन्धानकर्ता तथा कृषि क्षेत्रका सरोकारवाला निकायलाई एकै ठाउँमा ल्याएर कोदाको महत्त्वबारे जागरुकता फैलाउने र स्थानीय अन्नप्रति गौरव बढाउने काम गरिएको विद्यार्थी रजनी शाहीले बताइन् ।
