माछामासु, प्याज र लसुनसमेत खाँदैनन् नाग्लीवाङवासी!

यहाँका स्थानीयले माछामासु नखाने मात्र होइन, खेतबारीमा प्याज लसुनसमेत लगाउँदैनन्

श्रावण १५, २०८२

सुमनजंग थापा

Nagliwang people do not eat fish meat, onion and garlic!

What you should know

पर्वत — जलजला गाउँपालिका–८ उपल्लो नाग्लीवाङका स्थानीयले मांसाहारी भोजन गर्दैनन् । त्यति मात्र होइन, उनीहरूको भान्सामा लसुन, प्याजसमेत पाक्दैन । ६५ घरधुरी रहेको यस गाउँमा कुखुरा, बाख्रा नपाल्नेदेखि खेतबारीमा लसुन, प्याजसमेत लगाउँदैनन् ।

पवित्र कालीगण्डकी नदीको तटमा अवस्थित यस गाउँ शालिग्राम धामका नाममा पनि परिचित छ । स्थानीय शालिग्राम रेग्मी भारतका विभिन्न धार्मिक सहरहरूमा पुगेर धर्मशास्त्रका विविध विषयमा अध्ययन गरेर गाउँ फर्केपछि उनी (शालिग्राम गुरु) बने । 

उनैको अनुसरणले सिङ्गो गाउँ नै हिंसारहित बन्यो । यसभन्दा अघि गाउँलेले निर्वाध माछामासु, प्याज र लसुनको प्रयोग गर्न सक्थे । ‘बाजेले बाख्रा पालेको सम्झन्छु । अहिले पनि गोठतिर बाख्राका डुँड भेटिन्छ । तर, बुवाको पालामा आएपछि गाउँमा कुखुरा, बाख्रा पालन र लसुन प्याजको खेती पनि गर्न छाडियो । शालिग्राम गुरुको प्रभावले नै गाउँमा धार्मिक तथा सांस्कृतिक जागरण बढ्यो’, स्थानीय ५० वर्षीय हरिनारायण रेग्मीले भने, ‘संस्कृत पढ्न आउने विद्यार्थीहरू धेरै हुन्थे । बागलुङको धम्जा, दमेक, बलेवा, म्याग्दीको पुला, पोखरा देखि झापा लगायतका ठाउँहरूबाट पढ्न आउने विद्यार्थीहरूको भिड लाग्थ्यो । गाउँ नै रमाइलो हुन्थ्यो ।’ 

देशभर शाकाहार धार्मिक अभियान अघि बढाउनका लागि शालिग्राम गुरुले बिउ रोप्ने काम गरेको कथा वाचक भुवन भाष्कर रेग्मीले बताए । बागलुङ पञ्चकोटका धार्मिक गुरु कमलनयनाचार्यका गुरुलाई समेत शालिग्राम गुरुले मन्त्र सुनाएको उनी बताउँछन् । 

भन्छन्, ‘शाकाहार अभियान र धर्मको यथार्थ शास्त्रलाई सर्वत्र फैलाउने काम गुरुले गर्नुभएको हो ।’ उनी शालिग्राम गुरुका नाति हुन् । उनका अनुसार शालिग्राम गुरु विक्रम संवत् १९६७ मा जन्म भई २०२९ सालामा देह त्याग गरेका हुन् । 

गाउँमा विवाह गरेर आएकी बुहारीले समेत माछा मासु खान पाउँदिनन् । माइतीमा मासु खाने गरेको भए पनि यहाँ विवाह गरेर आएपछि चाहिँ छाड्नुपर्ने हुन्छ । ‘माइत छँदा त खाइयो । विवाह गरेर आएपछि मुखमा मासु परेको छैन । छोराछोरीलाई पनि खुवाउँदिन’, छोराछोरी पढाउन कुश्मा झरेकी निरु रेग्मीले भनिन्, ‘अहिले त माइत जाँदा पनि माछा मासु खानेतिर ध्यानै जान्न । गाउँबाटै बुवामाले दूध, दही, घ्यु पठाउनु हुन्छ ।’ 

गाउँ छाडेर सहर छिरेका युवा पुस्ता भने पुर्खाले हिँडाएको चलनलाई अनुसरण गर्न सकेको देखिन्न । सहरको बसाइँ र नयाँ साथीहरूको सङ्गतले माछा मासु खान सिकाएको उनीहरू सुनाउँछन् । ‘गाउँमा माछा मासु खाने त परै जाओस् कुरा गर्न पनि सकिन्न’, कुश्मा बस्दै आएका स्थानीय युवाले भने, ‘एसएलसी सकाएर बजार झरेपछि मःम खान सिकेँ । अब विस्तारै मासु छाड्ने कोसिस गर्दै छु ।’ 

शालिग्राम गुरुले नाग्लीवाङमा शालिग्राम आश्रमको निर्माण गरेका थिए । उनको मृत्युपछि टिकाराम गुरुले आश्रमको रेखदेख गर्दै आएका छन् । पवित्र तीर्थस्थल मुक्तिनाथ पुग्ने साधु, सन्तदेखि तिर्थयात्रीहरु त्यो बेला एक रात शालिग्राम आश्रममै बिताउँथे । उनीहरूलाई शालिग्राम गुरुले भोजनसँगै तातो कम्मल दिएर मुक्तिनाथको यात्रामा पठाउने गरेको कुरा अग्रजहरूबाट आफूले सुनेको वडाध्यक्ष हरि विकास जिसीले बताए ।

‘भक्तहरूले दिएको रकमले टिकाराम गुरुले गाउँमा खेतहरू जोड्नु भएको छ । हरेक वर्षजस्तो मुक्तिनाथ मन्दिरमा ५०/६० मुरी धान पठाउने गर्नुहुन्छ’, वडाध्यक्ष जिसीले भने, ‘विद्यालय, मन्दिर र सामाजिक कामहरूमा गुरुले रकम दान गर्दै आउनु भएको छ । गाउँलेहरूलाई पैसाको समस्या पर्दा सहयोग पनि गर्नुहुन्छ । वडाले शालिग्राम आश्रमको भवन नयाँ बनाइदिन्छौँ भन्दा गुरुले पुरानैमा बस्ने इच्छा गर्नुभयो ।’ 

यहाँका स्थानीयहरूले श्री वैष्णव धर्म मान्दै आएका छन् । उनीहरूले भगवान् विष्णु पुज्ने गर्छन् । धर्म, संस्कृति, रीतिरिवाज र चालचलन सम्बन्धी अध्ययनमा रुचि राख्नेहरूका लागि उपल्लो नाग्लीवाङ गतिलो गन्तव्य बन्न सक्छ । प्राकृतिक भू–बनोटले समेत निकै मनमोहक छ । प्राकृतिक सौन्दर्यताकाले भरिपूर्ण उपल्लो नाग्लीवाङमा व्यावसायिक कृषिको समेत प्रशस्त सम्भावना रहेको छ । यहाँका अधिकांश स्थानीयहरूको दैनिकी कृषि कर्ममा बित्ने गर्छ ।

सुमनजंग सुमन कान्तिपुरका पर्वत संवाददाता हुन् । उनी समसामयिक विषयमा समाचार लेख्ने गर्छन् ।

Link copied successfully