यहाँका स्थानीयले माछामासु नखाने मात्र होइन, खेतबारीमा प्याज लसुनसमेत लगाउँदैनन्
What you should know
पर्वत — जलजला गाउँपालिका–८ उपल्लो नाग्लीवाङका स्थानीयले मांसाहारी भोजन गर्दैनन् । त्यति मात्र होइन, उनीहरूको भान्सामा लसुन, प्याजसमेत पाक्दैन । ६५ घरधुरी रहेको यस गाउँमा कुखुरा, बाख्रा नपाल्नेदेखि खेतबारीमा लसुन, प्याजसमेत लगाउँदैनन् ।
पवित्र कालीगण्डकी नदीको तटमा अवस्थित यस गाउँ शालिग्राम धामका नाममा पनि परिचित छ । स्थानीय शालिग्राम रेग्मी भारतका विभिन्न धार्मिक सहरहरूमा पुगेर धर्मशास्त्रका विविध विषयमा अध्ययन गरेर गाउँ फर्केपछि उनी (शालिग्राम गुरु) बने ।
उनैको अनुसरणले सिङ्गो गाउँ नै हिंसारहित बन्यो । यसभन्दा अघि गाउँलेले निर्वाध माछामासु, प्याज र लसुनको प्रयोग गर्न सक्थे । ‘बाजेले बाख्रा पालेको सम्झन्छु । अहिले पनि गोठतिर बाख्राका डुँड भेटिन्छ । तर, बुवाको पालामा आएपछि गाउँमा कुखुरा, बाख्रा पालन र लसुन प्याजको खेती पनि गर्न छाडियो । शालिग्राम गुरुको प्रभावले नै गाउँमा धार्मिक तथा सांस्कृतिक जागरण बढ्यो’, स्थानीय ५० वर्षीय हरिनारायण रेग्मीले भने, ‘संस्कृत पढ्न आउने विद्यार्थीहरू धेरै हुन्थे । बागलुङको धम्जा, दमेक, बलेवा, म्याग्दीको पुला, पोखरा देखि झापा लगायतका ठाउँहरूबाट पढ्न आउने विद्यार्थीहरूको भिड लाग्थ्यो । गाउँ नै रमाइलो हुन्थ्यो ।’
देशभर शाकाहार धार्मिक अभियान अघि बढाउनका लागि शालिग्राम गुरुले बिउ रोप्ने काम गरेको कथा वाचक भुवन भाष्कर रेग्मीले बताए । बागलुङ पञ्चकोटका धार्मिक गुरु कमलनयनाचार्यका गुरुलाई समेत शालिग्राम गुरुले मन्त्र सुनाएको उनी बताउँछन् ।
भन्छन्, ‘शाकाहार अभियान र धर्मको यथार्थ शास्त्रलाई सर्वत्र फैलाउने काम गुरुले गर्नुभएको हो ।’ उनी शालिग्राम गुरुका नाति हुन् । उनका अनुसार शालिग्राम गुरु विक्रम संवत् १९६७ मा जन्म भई २०२९ सालामा देह त्याग गरेका हुन् ।
गाउँमा विवाह गरेर आएकी बुहारीले समेत माछा मासु खान पाउँदिनन् । माइतीमा मासु खाने गरेको भए पनि यहाँ विवाह गरेर आएपछि चाहिँ छाड्नुपर्ने हुन्छ । ‘माइत छँदा त खाइयो । विवाह गरेर आएपछि मुखमा मासु परेको छैन । छोराछोरीलाई पनि खुवाउँदिन’, छोराछोरी पढाउन कुश्मा झरेकी निरु रेग्मीले भनिन्, ‘अहिले त माइत जाँदा पनि माछा मासु खानेतिर ध्यानै जान्न । गाउँबाटै बुवामाले दूध, दही, घ्यु पठाउनु हुन्छ ।’
गाउँ छाडेर सहर छिरेका युवा पुस्ता भने पुर्खाले हिँडाएको चलनलाई अनुसरण गर्न सकेको देखिन्न । सहरको बसाइँ र नयाँ साथीहरूको सङ्गतले माछा मासु खान सिकाएको उनीहरू सुनाउँछन् । ‘गाउँमा माछा मासु खाने त परै जाओस् कुरा गर्न पनि सकिन्न’, कुश्मा बस्दै आएका स्थानीय युवाले भने, ‘एसएलसी सकाएर बजार झरेपछि मःम खान सिकेँ । अब विस्तारै मासु छाड्ने कोसिस गर्दै छु ।’
शालिग्राम गुरुले नाग्लीवाङमा शालिग्राम आश्रमको निर्माण गरेका थिए । उनको मृत्युपछि टिकाराम गुरुले आश्रमको रेखदेख गर्दै आएका छन् । पवित्र तीर्थस्थल मुक्तिनाथ पुग्ने साधु, सन्तदेखि तिर्थयात्रीहरु त्यो बेला एक रात शालिग्राम आश्रममै बिताउँथे । उनीहरूलाई शालिग्राम गुरुले भोजनसँगै तातो कम्मल दिएर मुक्तिनाथको यात्रामा पठाउने गरेको कुरा अग्रजहरूबाट आफूले सुनेको वडाध्यक्ष हरि विकास जिसीले बताए ।
‘भक्तहरूले दिएको रकमले टिकाराम गुरुले गाउँमा खेतहरू जोड्नु भएको छ । हरेक वर्षजस्तो मुक्तिनाथ मन्दिरमा ५०/६० मुरी धान पठाउने गर्नुहुन्छ’, वडाध्यक्ष जिसीले भने, ‘विद्यालय, मन्दिर र सामाजिक कामहरूमा गुरुले रकम दान गर्दै आउनु भएको छ । गाउँलेहरूलाई पैसाको समस्या पर्दा सहयोग पनि गर्नुहुन्छ । वडाले शालिग्राम आश्रमको भवन नयाँ बनाइदिन्छौँ भन्दा गुरुले पुरानैमा बस्ने इच्छा गर्नुभयो ।’
यहाँका स्थानीयहरूले श्री वैष्णव धर्म मान्दै आएका छन् । उनीहरूले भगवान् विष्णु पुज्ने गर्छन् । धर्म, संस्कृति, रीतिरिवाज र चालचलन सम्बन्धी अध्ययनमा रुचि राख्नेहरूका लागि उपल्लो नाग्लीवाङ गतिलो गन्तव्य बन्न सक्छ । प्राकृतिक भू–बनोटले समेत निकै मनमोहक छ । प्राकृतिक सौन्दर्यताकाले भरिपूर्ण उपल्लो नाग्लीवाङमा व्यावसायिक कृषिको समेत प्रशस्त सम्भावना रहेको छ । यहाँका अधिकांश स्थानीयहरूको दैनिकी कृषि कर्ममा बित्ने गर्छ ।
