जैमिनीमा भित्रियो कृषि एम्बुलेन्स

नगर उपप्रमुखका अनुसार कृषिजन्य सामग्री ढुवानी र उपचारका लागि जैमिनीले संघीय सरकारसँगको साझेदारीमा एम्बुलेन्स खरिद गरेको छ।

श्रावण १४, २०८२

प्रकाश बराल

Agricultural ambulance entered Jaimini

बागलुङ — जैमिनी नगरपालिकाले नीति तथा कार्यक्रम र बजेटमा उल्लेख गरेअनुसार चालु वर्षको सुरुआतमै कृषि एम्बुलेन्स भित्र्याएको छ ।

कृषिजन्य सामग्री ढुवानी, पशुपन्छी बिरामी भएमा उपचारमा लैजाने र बिउबिजन किसानको घरदैलोमा पुर्‍याउन कृषि एम्बुलेन्स प्रयोगमा ल्याइने नगर उपप्रमुख हरिहर शर्माले बताए ।

नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ मा संघीय सरकारको २५ लाख र नगरपालिकाको २५ लाख साझेदारी रकमबाट एम्बुलेन्स खरिद गरेको हो । एम्बुलेन्स संचालनका लागि नगरपालिकाले कार्यविधि निर्माण गर्न किसान समूह र सरोकारवालाको समूह बनाउन लागेको हो । पशुलाई खोप लगाउने, औषधि र अन्य उपचार गराउनेदेखि उत्पादनलाई बजार पठाउन यो एम्बुलेन्स उपयोगमा ल्याइने छ । 

रैथाने बालीको उत्पादन बढाउने नीति पनि नगरको छ । सिरिम्ले मकै, कोदो, फापर, सिस्नो, टिमुर, भाँगो, आलु र निउरो लगायतका उत्पादनको लेबलिङ र प्याकेजिङ गरिने नीतिमा उल्लेख छ । 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको साझेदारीमा नगरपालिकाले कुश्मीसेरा बजारमा कृषि संकलन केन्द्र बनाएको छ । वडा नं. ३ र ४ मा चिस्यान केन्द्र पबि बनाएको छ । कार्यविधिले सेवाको लागि चाहिने शुल्क र भाडादर पनि निर्धारण गर्ने छ । जैमिनीले किसान सूचीकरणको कार्यक्रम पनि बनाएको उपप्रमुख शर्माले बताए । 

प्रकाश बराल कान्तिपुरका बागलुङ संवाददाता हुन् ।

Link copied successfully