जग्गा विवादमा श्रीमतीको हत्या : तीन दिनसम्म गुपचुप, घरमै खान्थे–सुत्थे श्रीमान्

हत्याको तेस्रो दिन बिहानै उनी छिमेकीकहाँ चिया पिउन गए । त्यतैबाट काममा निस्किए । त्यो दिन साँझ ५ बजेदेखि रिट्ठेपानीको शान्ति खहरे टोलमा निकै दुर्गन्ध फैलियो । दुर्गन्धको स्रोत खोज्दै जाँदा स्थानीय जङ्गे–जमुनाको घर पुगे ।

श्रावण ११, २०८२

अनुप पौडेल

Wife killed in land dispute: husband ate and slept secretly for three days

What you should know

कास्की — जग्गा बेच्ने विषयमा विवाद हुँदा पोखरामा एक जनाले श्रीमतीको हत्या गरेका छन् ।

पोखरा महानगरपालिका–२७ रिट्ठेपानी बस्ने ५८ वर्षीय जङ्गे सार्कीले साउन ६ मा श्रीमती ५३ वर्षीया जमुना नेपाली सार्कीको हत्या गरेका हुन् । 

यो हत्या भएको विषय शवबाट दुर्गन्ध फैलिएपछि घटनाको तेस्रो दिनमा बल्ल स्थानीयले थाहा पाएका थिए । श्रीमतीको हत्या गरेपछि जङ्गे दुई दिनसम्म घरबाटै काममा आउजाउ गरेको खुलेको जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी श्यामबाबु ओलियाले आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । 

साउन ६ गते साँझ जङ्गेले मदिरा सेवन गरेका थिए । गफगाफकै क्रममा जङ्गेले श्रीमती जमुनासँग जग्गा बिक्री गर्ने प्रस्ताव राखे । जमुनाले मानिन् । यसपछि विवाद हुँदा जङ्गेले जमुनालाई मुक्का प्रहार गरे । जमुना भित्तामा ठोकिइन् । उनको टाउकोको पछाडिपट्टि चोट लाग्यो र घटनास्थलमै मृत्यु भयो । त्यो रात जङ्गे घर बाहिरको टिनको टहरामा सुते । भोलिपल्ट बिहान उठेर छिमेकीकहाँ चिया पिउन गए । त्यतैबाट शिशुवा बजारमा ठेकेदारसँग पैसा लिन गए । जङ्गे निर्माण मिस्त्री हुन् । 

दिउँसो ठेकेदारलाई भेट्न पाएनन् । उनी राति रित्तो हात घर फर्किए । अघिल्लो रात हत्या गरिएकी श्रीमतीको शव कोठामै थियो । उनले शवको वास्ता गरेनन्, कसैलाई केही भनेनन् । घरमै खाना पकाए । त्यो रात खाना खाएर सुते ।

हत्याको तेस्रो दिन अर्थात् साउन ८ मा बिहानै उनी फेरि छिमेकीकहाँ चिया पिउन गए । त्यतैबाट काममा निस्किए । 

त्यो दिन साँझ ५ बजेदेखि रिट्ठेपानीको शान्ति खहरे टोलमा निकै दुर्गन्ध फैलियो । दुर्गन्धको स्रोत खोज्दै जाँदा स्थानीय जङ्गे–जमुनाको घर पुगे । यसरी हत्या भएको तीन दिनपछि स्थानीय र प्रहरीले घटनाबारे थाहा पाए ।

जङ्गे सोही रात पक्राउ परे । उनीमाथि कर्तव्य ज्यानसम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतबाट ६ दिन म्याद थप गरेर अनुसन्धान प्रक्रिया अगाडि बढाइएको एसपी ओलियाले बताए । 

जमुना जङ्गेको कान्छी श्रीमती रहेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । पहिलो श्रीमतीले करिब ३५ वर्षअघि नै उनलाई छोडेर अर्कैसँग विवाह गरेकी थिइन् । यसपछि जमुनासँग विवाह गरेर उनी २१ वर्षदेखि रिट्ठेपानीको सुकुम्बासी वस्तीमा अस्थायी टहरामा बस्दै आएका थिए । जङ्गेकी जेठी श्रीमतीले छोरा एक वर्ष हुँदा छोडेर अर्को विवाह गरेकी थिइन् । जमुनाले नै ती बालकलाई हुर्काइन् ।

जङ्गेको पुरानो घर कास्कीकै माछापुच्छ्रे गाउँपालिका–५ रिभान हो । गाउँको घरमा जेठी श्रीमतीतर्फका छोरा–बुहारी बस्छन् । 

अनुप

Link copied successfully