आफूमाथि नियतवश गोली चलाएको घाइते रेग्मीको दाबी, शाहीको घरबाट बन्दुक बरामद

नियतवश नभई सिकार गर्ने क्रममा गोलीको छर्रा लागेको शाहीको भनाइ

श्रावण ११, २०८२

प्रतीक्षा काफ्ले

Injured Regmi's claim that he was deliberately shot at, gun recovered from Shahi's house

What you should know

स्याङ्जा — गत मंगलबार पुतलीबजार नगरपालिका–७ ठूलाडिहीका ६९ वर्षीय हुमबहादुर शाही अघिल्ला दिनजस्तै सिकार खेल्न जंगल गए । फुर्सदको समय उनी प्रायः जसो सिकार गरिरहन्छन् । उक्त दिन पनि खाना खाएर जंगल गएका थिए । सिकार गर्ने क्रममा एकाएक बन्दुक पड्कियो । गोलीका छर्रा यत्रतत्र फैलिए । उनलाई भने छर्राले छोएन ।

ठूलाडिही नै घर भई हाल पोखरा महानगरपालिका–२६ बस्दै आएका ४४ वर्षीय सुरेन्द्र रेग्मी सोही दिन (साउन ६) गाउँ गएका थिए । घर नजिकै रहेको बारीमा सुन्तलाको बिरुवा रोप्नका लागि खाल्टो खन्दै थिए । त्यही बेला बन्दुकको ठूलो आवाज आयो । उनीलाई बन्दुकको छर्राले लाग्यो । घाइते भए ।

सिकार गरेका शाहीले रेग्मी घाइते भएको देखे । घरको पिढीँसम्म लगेर राखे अनि उनी हिँडे । घाइतेकी श्रीमती गीताले उपचारका लागि प्रदेश अस्पताल कुमालगाउँ लगिन् । उपचारका क्रममा प्रहरीले घटनाबारे जानकारी पायो । अस्पतालमै खटिएका सादा पोसाकका प्रहरीले जिल्ला प्रहरीमा खबर गरे । घटना थाहा पाउनेबित्तिकै जिल्ला प्रहरी कार्यालयबाट घटना अनुसन्धान गर्न प्रहरी ठूलाडिही पुग्यो । तर, कारण भने खुलेन ।

गोलीको छर्राबाट आँखा र टाउकामा बढी चोट लागे पनि रेग्मीको स्वास्थ्य अवस्था सामान्य रहेको चिकित्सकले बताएका छन् । घाइते रेग्मीलाई थप उपचारका लागि जिल्ला अस्पतालबाट मनिपाल अस्पताल पोखरामा रिफर गरियो । रेग्मीलाई प्रहरीले सोधपुछ गर्दा आफ्नै गाउँका भेना भन्ने हुमबहादुर शाहीले नियतवश आफूमाथि गोली चलाएको किटानी दिए । यता, शाही भने फरार थिए ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रवेश तिवारीको नेतृत्वमा प्रहरीले घटना अनुसन्धान गरेको थियो ।अन्ततः शाहीलाई बिहीबार राति तनहुँ गएर लुकेको सूचनाको आधारमा प्रहरीले पक्राउ गर्‍यो ।

शाहीलाई शुक्रबार जिल्ला अदालत स्याङ्जामा ज्यान मार्ने उद्योग शीर्षकमा मुद्दा दर्ता गरी अनुसन्धानका लागि १० दिनको म्याद थप पाएको जिल्ला प्रहरी प्रमुख दधिराम न्यौपानेले जानकारी दिए ।

पक्राउ परेपछि शाहीले प्रहरीलाई दिएको सूचनाअनुसार एकनाले अवैध बन्दुक प्रहरीले उनको घरबाटै बरामद गरेको छ । एसपी न्यौपानेका अनुसार शाहीको उक्त हतियार अवैध हो । ‘अहिलेसम्म दर्ता, नवीकरण केही प्रमाण भेटिएको छैन,’ उनले भने, ‘सोधपुछ गर्दा बाउबाजेको पालाको हो । पञ्चायतका पालाको हो भन्ने मात्र जवाफ छ । यथार्थ पछि खुल्ला । हामी अनुसन्धानकै क्रममा छौ ।’

प्रहरीले सोधपुछ गर्दा शाहीले बन्दुक आफ्नो रहेको र नियतवश रेग्मीलाई गोली नचलाएको बताएका छन् । शाही भारतीय सेनाबाट अवकाश व्यक्ति हुन् ।

‘हामीले पटकपटक सोधपुछ गर्दा पनि पीडक खुलेका छैनन्,’ प्रहरी स्रोत भन्छ, ‘नियतवश हुन्थ्यो भने घाइते हुनेबित्तिकै पिढीँमा लगेर किन राखेँ भन्ने छ । यता घाइतेको भने आफूलाई मार्ने नियतले गोली चलाएको आरोप छ ।’

प्रहरीले यस घटनामा ककससको संलग्नता छ भनेर अनुसन्धान भइरहेको जनायो ।

पोखरा मनिपालले आईसीयूमा उपचार गरेपछि आँखामा समस्या रहेको, आँखामाथि पनि चोट परेको बताउँदै थप उपचारका लागि हिमालय आँखा अस्पताल रिफर गरेको थियो । हिमालयले त्रिवि शिक्षण अस्पताल पठायो । त्यहाँ बेड खाली नभएपछि रेग्मीलाई उपचारका लागि ललितपुरस्थित पाटन अस्पताल लगिएको प्रहरीले जनाएको छ । 

प्रतीक्षा

Link copied successfully