पोखरामा डलर र यूरोको अवैध कारोबार, तीन जना पक्राउ

उनीहरुमाथि सात दिन म्याद थप गरेर अनुसन्धान अघि बढाइएको छ

श्रावण ११, २०८२

अनुप पौडेल

Illegal trading of dollars and euros in Pokhara, three people arrested

What you should know

कास्की — पोखरामा विदेशी मुद्राको अवैध कारोबारमा सटही व्यवसायीसहित गिरोह नै सक्रिय रहेको पाइएको छ ।

गण्डकी प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले अमेरिकी डलर, यूरो र नेपाली रुपैयाँसहित तीन जनालाई पक्राउ गरेसँगै अवैध विनिमयमा गिरोह नै सक्रिय रहेको खुलेको हो ।

‘राष्ट्र बैंकले कति मुद्रा कारोबार गर्न पाउने भन्ने सीमा, कारोबार कसरी गर्ने भनेर तोकेको छ । यो कारोबार कुन प्रयोजनका लागि भन्ने खुलिसकेको छैन,’ कास्कीका एसपी श्यामबाबु ओलियाले भने । 

पक्राउ पर्नेमा झापाको दमक नगरपालिका–४ चियादोकान घर भई पोखरा–६ बैदाम बस्ने ४५ वर्षीय राजकुमार बुढाथोकी, रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१३ हाटबजारका महुमुद्दिन एम अहमद र पोखरा–१९ पुरनचौरका ४३ वर्षीय खेमराज पौडेल छन् । मुद्राको अवैध कारोबार भइरहेको सूचना पाएपछि शनिबार साँझ ५ बजे प्रहरी टोलीले पोखरा–१७ बिरौटाबाट उनीहरूलाई पक्राउ गरेको हो । 

उनीहरुको साथबाट १९ हजार ६ सय अमेरिकी डलर, ३ हजार २ सय यूरो र ४३ लाख ७३ हजार ७ सय रुपैयाँ बरामद भएको एसपी ओलियाले आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । अमेरिकी डलर र यूरो विनिमय गर्दा कुल ७५ लाख ९६ हजार ९ सय नेपाली रुपैयाँ बरामद भएको उनले बताए । 

पक्राउ परेकामध्ये महुमुद्दिनको रुपन्देही र कास्कीमा रेस्टुरेन्ट रहेको खुलेको छ । बुढाथोकी र पौडेल लेकसाइडका मनी चेन्जर सञ्चालक हुन् । महुमुद्दिनले नेपाली रुपैयाँ चेन्जर सञ्चालकलाई दिएर अमेरिकी डलर र यूरो लिन्थे । 

पक्राउ परेकामाथि राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गत कसूरमा अनुसन्धान प्रक्रिया अगाडि बढाइने उनले बताए । उक्त ऐनको दफा ९५ ले ऐनअन्तर्गत बनेको नियम, विनिमय, आदेश वा निर्देशन विपरीत निक्षेप लिएमा, इजाजतपत्र नलिई कारोबार गरेमा वा फरफारकको प्रक्रियामा बाधा पुर्‍याएमा कसूर गरेको मानिने उल्लेख छ । यो दफाको व्यवस्था विपरीत गतिविधि गर्नेलाई बिगोको तीन गुणासम्म जरिवाना वा सात वर्षसम्म कैद वा दुवै सजाय हुनसक्ने व्यवस्था दफा ९६ ले गरेको छ । 

पक्राउ परेकाबाट बरामद भएको रकमलाई नै बिगो रकम मानेर अनुसन्धान गरिने एसपी ओलियाले बताए । उनीहरुमाथि सात दिन म्याद थप गरेर अनुसन्धान अघि बढाइएको छ । 

अनुप

Link copied successfully