गाउँपालिकाले १ करोड ५० लाख बजेट विनियोजन गरी निःशुल्क स्वास्थ्य बीमा सुरु गरेको छ।
What you should know
लमजुङ — लमजुङको दोर्दी गाउँपालिकाले आफ्ना हरेक नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्न सुरु गरेको छ । गाउँपालिकाले वडा नं. ९ सम्मका ४ हजार २ सय २५ घरधुरीका नागरिकको स्वास्थ्य बीमा गर्न लागेको हो ।
गाउँपालिकाले आइतबार वडा नं. १ को भारते, वडा नं. २ को अर्चलबोट, वडा नं. ३ को लामाबगर र वडा नं. ४ को नौथर शेरामा एक कार्यक्रमको आयोजना गरी निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम सुरुवात गरेको छ ।
गाउँपालिका अध्यक्ष युवराज अधिकारीले वडा नं. १ देखि ४ सम्म निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम सुरु गरिएको र बाँकी वडामा केही दिनमा सुरु गरिने बताए । उनका अनुसार साउन महिनाभित्र गाउँपालिकाका सबै नागरिकको निःशुल्क स्वास्थ्य बीमा गरिने र असोज १ गतेबाट लागू हुनेछ । बीमाका लागि पाँच जनासम्म सदस्य भएका प्रतिपरिवार ३५ सय र त्यसभन्दा बढी सदस्य भएमा प्रतिव्यक्ति ७ सय रुपैयाँ थप लाग्नेछ ।
दोर्दी गाउँपालिकाको गत असार ७ गते प्रस्तुत गरी असार १० गते पारित आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रममा दोर्दी गाउँपालिका स्थायी ठेगाना भई स्थायी रुपमा बसोबास गरी दोर्दीमै चुलो बालिरहेका सबै घरपरिवारको निःशुल्क स्वास्थ्य बीमा गर्ने उल्लेख छ । यसका लागि गाउँपालिकाले १ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।
गाउँपालिकाले ‘जलविद्युत्को आम्दानी–स्वास्थ्य बीमामा लगानी’ नारा तय गरी गाउँपालिकाका नागरिकको स्वास्थ्य बीमा गर्न लागेको हो । दोर्दीमा सञ्चालित जलविद्युत् आयोजनाबाट प्राप्त रोयल्टीबाट निःशुल्क स्वास्थ्य बीमा गरिने अध्यक्ष अधिकारीले बताए । ‘जलविद्युत् आएर हामीले के पायौं भन्ने प्रश्नहरु उठे । जलविद्युत्बाट हुने आम्दानी हामी जनताको स्वास्थ्यमा लगानी गर्छौं’ उनले भने ।
दोर्दीमा ५४ मेगावाटको सुपर दोर्दी ‘ख’ जलविद्युत् आयोजना, २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’, १२ मेगावाटको दोर्दी–१, २७ मेगावाटको दोर्दीखोला जलविद्युत् आयोजना (बाँध) लगायत छन् ।
प्रमुख प्रशासकीय अधिकृत हेमराज काफ्लेका अनुसार स्वास्थ्य बीमा बोर्डअन्तर्गत वडा रहेका बीमा सहजकर्तामार्फत बीमा हुनेछ । वडा कार्यालयको समन्वयमा सबै घरका घरमुलीमार्फत परिवारकै निःशुल्क स्वास्थ्य बीमा गरिने र बीमाबापतको रकम स्वास्थ्य बीमा बोर्डको लमजुङस्थित कार्यालयलाई पठाइने उनले बताए । निःशुल्क स्वास्थ्य बीमा गर्दा परिवारमा ५ जनाभन्दा बढी सदस्य भएमा समेत थप रकम उपलब्ध गराएर बीमा गराइने उनले बताए ।
गण्डकी प्रदेशका पूर्वसांसद मायानाथ अधिकारीले गाउँपालिकाले आफ्ना नागरिकको स्वास्थ्यप्रति लिएको चासोलाई नागरिकले पनि उत्तिकै चासो लिनुपर्ने बताए । उनका अनुसार गाउँपालिकाले गाउँका असहाय, गरिब तथा विपन्न नागरिकलाई लक्षित गरी निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम नौलो र जनमुखी भएको टिप्पणी गरे ।
स्वास्थ्य बीमा बोर्ड लमजुङका संयोजक रमेश खनियाले साउन महिनाभित्र दोर्दी गाउँपालिकाका सबै नागरिकको स्वास्थ्य बीमा गराइने बताए । यसका लागि वडा कार्यालयको समन्वयमा सहजकर्ता टोलटोलमा जानेछन् । साउन महिनाभित्र स्वास्थ्य बीमा गराइने र सेवाग्राही बीमितले असोज १ गतेबाट सरकारले तोकेको अस्पतालमार्फत सेवा पाउने उनले बताए । उनले यसअघि बीमा गराइसकेकाको म्याद सकिएपछि गाउँपालिकामार्फत बीमा हुने बताए ।
