रोपाइँ भएको खेतमा पानी नभएपछि धाँजा फाट्न थाल्यो, किसान भन्छन्– 'ट्याक्टर लगाउने खेतमा कुटोले खोस्रिएर रोपाइँ गर्नुपर्ने अवस्था अहिलेसम्म आएको थिएन ।'
What you should know
गोरखा — मध्य साउनसम्म वर्षा नभएपछि सुक्खा बनेका गरामा फुस्रो माटो कुटोले खोस्रँदै धानका बोट रोप्न थालिएको छ । गोरखा नगरपालिका–९ जामुनेकी रेशममाया कुमर खडेरीले सुक्खा बनेको बारीमा कुटोले खोस्रँदै धान रोपिरहेकी छन् । ६५ वर्ष लागेकी रेशममाया पानी नपरेर यस्तो बाध्यता यसपालि पहिलो भएको बताउँछिन् ।
‘गत वर्ष यसै खेतमा छुपुछुपु धान रोपेका हौँ । यो वर्ष एक थोपै पानी छैन, कोदो रोपे जसरी फुस्रै माटोमा धानको बीउ लगाउनुपरेको छ,’ उनले भनिन्, ‘असार ५ मा राखेको बीउ छिप्पियो, खेरफाल्न भन्दा फुस्रै माटोमा भए पनि रोप्यौं । अझै पानी परे फस्टाउँछ कि भन्ने आस छ ।’ पानी बिनैको खेतमा बीउ रोप्दा समय बढी लागेको उनले बताइन् । ‘फुस्रो माटोमा बीउ बसोस् भनेर कुटोले खोस्रिएको हौँ,’ उनले भनिन्,‘चार जना रोपाहार छौँ, यसरी रोप्दा मेलो नै नसर्ने रहेछ, दुई दिन भयो चार/पाँच गारामा मात्र बीउ रोपेर सक्यौँ ।’
स्थानीय चुडाबहादुर कुँवर गत वर्ष ८ रोपनी क्षेत्रफलको खेत एकै दिनमा रोपेर सकेको बताउँछन् । ‘९ रोपाहारले पोहोर एकै दिनमा रोपेको खेत यो वर्ष पानी नभएर बिजोग छ, बीउ ब्याडमा फुलाउनु भन्दा खेतमा टाँसिदिउ भनेर दिनको चार खेताला खोजेर रोपाइँ चलेको छ,’ उनले भने,‘सुक्खामा रोप्न अझै कति दिन लाग्ने हो, भएको बीउ रोप्नै पर्यो ।’
कुँवरले ८ रोपनी खेतमा उन्नत जातको ३१२ एक्ले धान लगाएका हुन् । ‘मैले त सुक्खामाटोमा नै भए पनि बीउ रोपेँ, भाइको खेत त बाँझै छ, यहीँ खेतमा पोहोर पानी बढी भएर कटान भएको थियो, यो वर्ष थोपै पानी छैन, चार झर पानी परे मूल फुट्छ कि भन्ने आशा छ,’ उनले भने । असार १५ मै आली ताछेर तयारी थाले पनि पानी नपरेपछि रोपाइँमा ढिलाइ भएको उनले बताए ।
‘ट्याक्टर लगाएर सायर, हिल्याएर, आली लगाएर रोपाइँ गर्ने खेत हो,’ उनले भने,‘मै ७३ वर्ष भएँ । गोरु, ट्याक्टर लगाएर रोपाइँ हुन्थ्यो, कुटोले खोस्रिएर त यो उमेरसम्म रोपाइँ गर्नुपरेको थिएन ।’ असार तेस्रो साताभित्र रोपाइँ सकिने खेतमा खडेरीले ढिलाइ भएपछि फुस्रै माटोमा धानका बोट गाडिरहेको उनले सुनाए । गत वर्ष यो खेतबाट उनले २९ मुरी धान भित्र्याएका थिए । एकाध दिनमा पनि झरी नपरे सुक्खा माटोमा लगाएको धान फस्टाउला भन्ने आशा नरहेको उनले बताए ।
असार अन्तिमतिर हिल्याएर रोपाइँ गरेको खेतमा खडेरीले धाँजा फाटेको छ । बर्खामै मूल नफुट्दा खेतले पानी देख्न नपाएको स्थानीय बताउँछन् । कुँवरले भने, ‘अहिले गरा फाट्टिएका छन्, अब दुई/चार दिन खडेरी परे रोपो सुक्न थाल्छ ।’ जामुने आसपासका टारी खेतमा खडेरीले रोपाइँ हुन नसकेको किसानको गुनासो छ । विगतका वर्ष असारे झरीले मूल फुटेपछि यस क्षेत्रका किसानले रोपाइ गर्थे । अहिले कुलोमा थोपै पानी नआएको स्थानीय मिश्री कुँवरले बताइन् । ‘असारमा पनि कुलोमा कमिला हिँडेको छ,’ उनले भनिन्, ‘दिनरात पानी आएपछि भलपानी छोपेर टारी खेतको रोपाइँ गर्ने हो, यो वर्षको खडेरीले धेरैका खेत बाँझै बस्ने भयो ।’
गोरखा नगरपालिका–९ अधोरीकी सुमित्रा पुडासैनीले ८ रोपनी खेत रोपाइँका लागि असार दोस्रो सातादेखि नै आली ताछेर तयारी गरेकी छन् । आकाशको झरी कुर्दा उनले अहिलेसम्म रोपाइँ गर्न पाएकी छैनन् ।
जिल्लाको १२ हजार ९ सय २० हेक्टरमा बर्खे धान खेती हुँदै आएको छ । यस वर्ष आइतबारसम्म ७८ प्रतिशत खेतमा धान रोपाइँ सकिएको कृषि ज्ञान केन्द्र प्रमुख प्रकाश बस्ताकोटीले बताए । टारी खेतहरूमा खडेरीले रोपाइँ प्रभावित बनेको उनले बताए ।
‘साउन १५ सम्म लगभग रोपाइँ सकिने बेला हो,’ उनले भने, ‘पर्याप्त झरी नपर्दा मूल नफुटेर आकाशे पानीको भरमा रोपाइँ हुने खेत बाँझै छन् ।’ साताभित्र पानी परे रोपाइँ हुने क्षेत्रफल बढ्ने पनि उनले बताए ।
जिल्लाका किसानले सावित्री, मकवानपुर १, रामधान, महाराजा, हर्दिनाथ १, सुक्खा ३, नेपाली हाइब्रिड जातका धान लगाउने गर्छन् । नदी किनार क्षेत्रको सिँचाई सुविधा पुगेको जग्गामा मात्रै रोपाइँ सकिएको ज्ञान केन्द्रले जनाएको छ ।
