मनसुनमा पनि पोहोरभन्दा झन्दै दोब्बर पर्यटक मुस्ताङ पुगे

गर्मी बढेसँगै भारतीय पर्यटक प्रायः रिजर्भ जिपमा र नेपाली पर्यटक बढीजसो मोटरसाइकल लिएर मुस्ताङ पुग्ने गरेका छन्

श्रावण ११, २०८२

घनश्याम खड्का

Even in monsoon, almost twice as many tourists reached Mustang than in spring

What you should know

काठमाडौँ — अत्यधिक गर्मी बढेसँगै गर्मी छल्न तराई-मधेशबाट हिमाली क्षेत्रतर्फ घुम्न आउनेको संख्या बढेको छ । 

तराई-मधेशमा मनसुनी वर्षा नहुँदा अत्यधिक तापक्रम बढेपछि गर्मी छल्न दैनिक सयौंको संख्यामा मोटरसाइकल र गाडी लिएर हिमालपारिको चिसो भूमि मुस्ताङ घुम्न आउनेको संख्या बढेको छ । मुस्ताङ प्रवेश गर्ने सबैखाले सवारीसाधन र यात्रुको अभिलेख राख्दै आएको सीमावर्ती घाँसा प्रहरी चौकीका अनुसार असार महिनामा मात्र ४ हजार ६ सय ५५ महिलासहित १४ हजार २ सय ४२ जना नेपाली र ५ हजार ७ सय ९७ जना महिलासहित १६ हजार ८ सय ९० भारतीय पर्यटकले मुस्ताङ भ्रमण गरेका छन् । 

‘गर्मी बढेसँगै भारतीय पर्यटक प्रायः रिजर्भ जिपमा र नेपाली पर्यटक बढी मोटरसाइकल लिएर मुस्ताङ आउने गरेका छन्,’ घाँसा प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक टेकबहादुर कुमालले भने, ‘असार–भदौ महिना बेनी–जोमसोम सडक बढी पहिरोग्रस्त हुने भएकाले मनसुन सिजन पर्यटक आउने गर्दैनन् तर यस वर्ष बढी गर्मी भएकाले होला आन्तरिक पर्यटक मुस्ताङ आइरहेका छन् ।’ मनसुन सिजनमा नेपाली र भारतीय पर्यटक गत वर्षभन्दा दोब्बर मुस्ताङ भित्रिएको अनुमान गरेको उनले बताए ।

सदरमुकाम बेनी र बेनी–जोमसोम सडकका सवारी मर्मत गर्ने ग्यारेज सञ्चालकहरुका अनुसार यतिबेला तराई-मधेशका युवा मोटरसाइकलमा र व्यापारी समुदाय भने जिप रिजर्भ गरी मुस्ताङतर्फ आएका छन । खडेरीले मधेशमा धान रोपाइँसमेत नहुँदा फुर्सदमा भएका युवा गर्मी छल्न मुस्ताङ उक्लेका हुन् । 

जिल्ला प्रहरी कार्यालय मुस्ताङको अभिलेख अनुसार गत असारमा १५ हजार ७ सय ८९ जना पर्यटकले मुस्ताङ भ्रमण गरेका छन् । यो संख्या गत वर्षको सोही महिनाको भन्दा दोब्बरले बढी हो । अघिल्लो वर्षको असारमा ७ हजार ३ सय ८० जनाले मुस्ताङ भ्रमण गरेका थिए । मनसुन सिजनको पिक साउन ९ गतेसम्म ३ हजार २ सय ७ जना बाहृय पर्यटकले मुस्ताङ पुगेका छन् । 

‘यस वर्षको मनसुनी सिजनमा न्युन वर्षा हुँदा सडकमा पहिरोले दुःख दिएको छैन । सडक यातायात सहज भएकाले अघिल्लो वर्षको भन्दा दोब्बर बढी पर्यटक मुस्ताङ आएको रेकर्डले देखाउँछ,’ जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रमुख प्रहरी नायव उपरीक्षक छिरिङ किम्पा लामाले भनिन्, ‘गर्मी छल्न नेपाली र भारतीय पर्यटकको संख्या पनि उल्लेख्य बढेको छ ।’

घनश्याम खड्का दुई दशकभन्दा बढीदेखि पत्रकारिता गरिरहेका छन् । उनी कान्तिपुरमा कानुन, न्याय, मानवअधिकार लागयतका बिटमा लेख्छन् ।

Link copied successfully