सीप र आइडिया भए के हुन्न ? उदाहरणीय बनेका यी बुढाथोकी दम्पती

साउदीमा सीप सिकेर फर्किएका बागलुङका कपिल बुढाथोकीले कृषिकर्म गरेर पारिवारिक आयस्रोतमा सुधार गरेका छन्

श्रावण १०, २०८२

प्रकाश बराल

What if you have skills and ideas? This elderly couple has become an example

What you should know

बागलुङ — कालो प्लास्टिकका ४ वटा हाइटेक टनेल छन् । अँध्यारो बनाइएको टनेलभित्र सेताम्मे भएर कन्ये च्याउ फलेको छ । ६ सय ५० भन्दा बढी त च्याउ फलाउने परालका डल्ला छन् । गत असारको पहिलो साता लगाएको च्याउ फल्न थालिसक्यो ।

'एउटा डल्लामा बढीमा ३ केजीसम्म च्याउ फल्छ,' ढोरपाटन नगरपालिका-४ धिरीका ५० वर्षीय कपिल बुढाथोकी भन्छन्, 'एउटै सिजनमा १ हजार ६ सय केजीभन्दा धेरै फलाउने लक्ष्य राखेको छु ।' बजारमा प्रतिकेजी २ सय ३० रुपैयाँदेखि २ सय ५० सम्ममा च्याउ बिक्री हुन्छ ।

सदरमुकाम देखि १ सय २० किमि पश्चिम ढोरपाटनका कपिलले तीन वर्षदेखि कन्ये च्याउको व्यावसायिक खेती गरिरहेका छन् । त्यसो त उनले ७ वर्षदेखि प्लास्टिक टनेलमा हरियो तरकारी खेती पनि गर्दै आएका छन् । उक्त तरकारीको उत्पादनले उनले राम्रै कमाइ गरे । त्यसबाटै छोराछोरी पढाए, घर चलाए । त्योभन्दा धेरै फाइदा लिन उनले च्याउ खेती रोजेको बताए ।

बारीमा थप ४ वटा तरकारीका टनेल पनि छन् । बाँकी बारीमा अदुवा, मकै, उखुसमेत लगाएका छन् । झन्डै ३ रोपनीको एउटै गरो छ । त्यसमा उनले धान लगाएका छन् । धानले उनका ४ जनाको परिवारलाई मज्जाले खान पुग्छ । मलका लागि गोठमा दुईवटा गाईसमेत पालेका छन् । त्यो भने पर्याप्त छैन । त्यसैले वर्षमा झन्डै ४ ट्रयाक्टर गोबरमल किनेर पनि ल्याउँछन् ।

यतिधेरै खेतीपाती गर्ने जग्गा भने उनको होइन । वार्षिक ८५ हजार रुपैयाँ भाडा तिर्ने गरी १२ रोपनी जमिन भाडामा लिएर बुढाथोकी दम्पतीले गाउँको घर छाडेर सदरमुकाममा कृषि क्रान्ति गरिरहेका हुन् । ‘गाउँमा पनि दुःख त धेरै गरेका थियौं, खान पुग्ने अन्न फलेन,’ बुढाथोकीले भने, ‘काम गर्ने जाँगर थियो, उत्पादन भएन, अहिले जाँगरलाई उत्पादन हुने जमिन भाडामा लिएर उपयोग गरेका छौं ।’ च्याउ फलाएर मनग्ये कमाइ गर्ने, घरपरिवार चलाएर बचत गर्ने लक्ष्य उनले सुनाए । 

पत्नी रिमाले दिनभर हाइटेक टनेल र बाहिरको खेतबारीमा काम गर्छिन् । कपिलले भने बिहान बेलुकी पत्नीलाई सघाउँछन् । एकजना पूर्णकालीन कर्मचारी राखेका छन् भने मौसमी काम गर्न ज्यालादारीमा ५ जनासम्म कामदार खोज्छन् । 

What if you have skills and ideas? This elderly couple has become an example

स्नातक पढ्दै गरेका छोराले पनि फार्ममा सघाएका छन् । बजारमा तरकारी बेच्नुपरेमा कपिल आफै निस्कन्छन् । नगरपालिका, कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा पुगेर अनुदान, प्राविधिक सहयोग र मलबिउ बारे आएका नीति र कार्यक्रमको खोजी गर्छन् । आवश्यक पर्दा प्राविधिक सहयोग माग्छन् । 

कार्यालय समयमा भने उनी सवारी चालक हुन् । जिल्ला समन्वय समिति प्रमुखले चढ्ने गाडी चलाउँछन् । कहिले त रातै बस्नेगरी टाढा पुग्नुपर्छ । जिल्लाभित्र पनि दुईतीन दिन लाग्ने स्थान छन् । पोखरा वा काठमाडौं जानु परे धेरै दिन भुल्नुपर्ने हुन्छ । त्यसैले परिवारका सदस्यलाई सदरमुकाम ल्याएर बृहत् कृषि कर्म थालेका उनले अहिले भने बजारको धेरै पसलमा तरकारी पुर्‍याएका छन् । होटल र होलसेल पसलमा च्याउन पठाउँछन् । 'करारको जागिर भएकाले भरपर्दो छैन । त्यसैले दिगो आयस्रोतका लागि कृषि कर्म थालेको हुँ,' उनले भने ।

उनले ४ वर्ष साउदीमा गाडी नै चलाए । गाउँ फर्केर ७ वर्ष आफ्नै जिप चलाए । तर उस्तो कमाइ भएन । २०७४ को स्थानीय निर्वाचनपछि समन्वय समितिको गाडी चलाउने जागिर पाए । तर जागिरबाट मात्र उनी रमाएनन् । त्यसैले पत्नी, पढ्दै गरेका दुई छोरा र एक छोरी लिएर सदरमुकाम झरे । सदरमुकाममा पत्नीलाई पसल राखदिने योजना पनि बुने । तर पसलबाट फाइदा पाउने अवस्था नदेखेपछि कृषि कर्मलाई नै रोजे । ‘काम गर्ने जाँगर पनि छ, लामो अनुभव भएकोले सीप पनि छ भनेर कृषि फार्म खोल्यौं,’ उनले भने, ‘कृषि कर्मबाटै अहिले सन्तोक मिलेको छ ।’ 

 ‘गरिमा कृषि फर्म’ दर्ता गरेर उनले वार्षिक ६ देखि ७ लाख नाफा निकाल्न सफल भएका छन् । 

फार्म सञ्चालनमा ल्याएको पहिलो वर्ष त उनी हैरान भए । बल्लतल्ल फलाएको तरकारीको बजार पाउन सकेनन् । दुःख र लगानी धेरै भयो, तर न प्राविधिक सहयोग पाए न अनुदान । पहिलो वर्षमै निराश बन्ने अवस्था आइसकेको थियो, तर उनले साउदीमा सिकेको सीपबाट बजार बढाउने काम गरे । तरकारी नकिन्ने पसलमा पनि दैनिक जानेआउने गर्न थाले । बरु आफैले केही सामान किनेर ल्याए । चिन्दै गएपछि पसलेहरुले उनको सामान राखिदिन थाले ।

अहिले त बागलुङ बजारका धेरै थोक पसलमा उनकै फार्मको च्याउ आइपुग्छ । ताजा तरकारी पनि बारीबाटै बिक्री हुन्छ । कतिपयले अर्डर गरेर मगाउँछन् । ‘स्कुटर छ, त्यसैले भनेकै बेला तरकारी टिपेर बजार पुर्‍याइदिन सक्छौं,’ रिमाले भनिन्, ‘च्याउ पनि आवश्यकताअनुसार घरघरमै पुर्‍याइदिएका छौं ।’ उनीहरुको मेहनत र तोकेकै समयमा दिने बानीले पसलेहरुले पनि ढुक्कले बेच्न थालेका छन् । 

च्याउ खेतीका लागि भने उनलाई परालको अभाव छ । टाढाटाढाबाट ल्याउनुपर्दा ढुवानीमा समस्या परेको उनले बताए । मल नजिकका फर्मबाट ल्याए पनि बिउ भने काठमाण्डौबाट मगाउने गरेका छन् । 

सात वर्षमा कपिलले साउदीबाट कमाएको पैसा र जागिरको तलब समेत गरी ५० लाख लगानी गरिसकेका छन् । लगातारको मेहनत र उत्पादन देखेपछि बागलुङ नगरपालिकाले प्लास्टिक टनेल निर्माणमा १ लाख, कृषि ज्ञान केन्द्रले गोलभेडाको हाइटेकका लागि १ लाख ५० हजार र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले च्याउ उत्पादनका लागि लागत साझेदारी कार्यक्रममा ४ लाख लगानी गरेको छ । 

‘उहाँको मेहनतबाट हामी प्रभावित भएर साझेदारी लगानी गरेका छौं,’ परियोजना प्रमुख नारायण पौडेलले भने, ‘मेहनत र उत्पादन गरेको देखेर जिल्ला स्तरीय अनुगमन समितिले पनि लगानी गरेको ठिक छ भन्ने प्रतिवेदन दिएको छ ।’

प्रकाश बराल बराल कान्तिपुरका बागलुङ संवाददाता हुन् ।

Link copied successfully