पहिरोको जोखिममा कुश्मा बजार

दुर्लुङको मोटरबाटोले बस्तीलाई पहिरोको जोखिममा पार्दा स्थानीयको गुनासो। नेताहरूले पहिरो नियन्त्रणमा ध्यान नदिँदा कुश्मा बस्ती संकटमा परेको छ।

श्रावण १०, २०८२

सुमनजंग थापा

Kushma market at risk of landslides

What you should know

पर्वत — जिल्लाको कुश्मा नगरपालिका–४ का स्थानीयबासीहरुले गजौटेको पहिरो रोकथाम र व्यवस्थापनका लागि हारगुहार गरेको वर्षौं भइसक्यो । कतैबाट सुनुवाइ भएको छैन । कुश्माको पुरानो बजार, जिरो किलोमिटर, पातलेथरमा रहेका करिब २ सय घर पहिरोको उच्च जोखिममा छन् । हरेक वर्ष बर्खायाम सुरुसँगै यहाँका स्थानीयहरू रातमा जाग्राम बस्दै आएका छन् ।

२०५७ सालमा बस्तीमाथिको जङ्गलबाट दुर्लुङ पुग्ने मोटरबाटो निर्माणका कारण आफूहरूको बस्ती पहिरोको जोखिममा परेको स्थानीयको गुनासो छ । दुर्लुङ पुग्ने सडक छेउको नालीको पानी जथाभावी कुश्मा नगरपालिका–३ दुर्लुङको गजौटेमा फालिएपछि पहिरो आउन सुरु गरेको जिरो किलोमिटरकी स्थानीय मिना जोशीले बताइन् । 

‘यो विकासको नाममा बनाइएको विपद् हो । दुर्लुङमा बाटो खन्दा कुश्माको बस्तीलाई ख्यालै नगरी नालीको पानी हाम्रोतिर फालिएको छ । आफैं कहीँकतै पहिरो गएको छैन । सबै बाटोबाट आएको पानीले पहिरो ल्याएको छ’, उनले भनिन्, ‘२५ वर्ष भयो नेतालाई कराउँदै हिँड्न थालेको । पहिरो आउँदा नेताहरू आउँछन्, हेर्छन् र जान्छन् । यहाँ बस्तीमात्र जोखिममा परेको भन्ने छ । हेर्दै जानुहोला यसरी बेवास्ता गरियो भने एक दिन कुश्मा बजारै बगाउने जोखिम छ ।’

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं संविधानसभा सदस्य अर्जुन प्रसाद जोशी, तरुण दलका केन्द्रीय सभापति विद्वान गुरुङ, कुश्मा नगरपालिकाका मेयर रामचन्द्र जोशी र वडाअध्यक्ष दिनेश श्रेष्ठ पनि पहिरो प्रभावित ठाउँकै हुन् । नेकपा एमालेका प्रमुख सचेतक हुँदै दुई पटक मन्त्री भइसकेका सांसद पदम गिरी चाहिँ दुर्लुङका हुन् । 

‘हाम्रो ठाउँबाट जिम्मेवार नेताहरू भएर पनि पहिरो नियन्त्रणका लागि कुनै प्रयास नै भएन । दुर्लुङको बाटोमा धेरै पटक बजेट राखेर बाटो चिल्लो बनाउने काम भयो तर पहिरोका लागि एक रुपैयाँ कसैले राखेनन्’, किराना व्यवसायी सुमन श्रेष्ठले भने, ‘माननीय पदम गिरी पोहोर पहिरो अवलोकनका लागि आउँदा डिपिआर बनाएर पठाउनु, काम भइहाल्छ भन्नुभाथ्यो । त्यो डिपिआर कसले बनाउने हो?’ उनको पसलमा गतवर्ष दुई पटक पहिरो पसिसकेको छ । ‘मान्छे नै बगाएपछि बल्ल बजेट राखेर काम गर्ने विचार गरेजस्तो छ’, उनले भने । 

अर्जुन कुमार परियार १० वर्षअघि खुर्कोटबाट बसाइँसराइ गरी आएका हुन् । अहिले उनी पछुताएका छन् । आकाशबाट पानी आउने बित्तिकै माथिबाट बगाएर ल्याएको ग्रेगानसहितको पहिरो घर अघि आएर थुप्रिन्छ । सकिनसकी उनी पहिरो पन्छाउन लाग्छन् ।

उनी मात्र नभएर पहिरो प्रभावित सबै घरधनीहरूको दैनिक यही हो । उनी भन्छन्, ‘जनप्रतिनिधि र नेताले पर्वतमा कति विकास गरेका छन् भन्ने यही सदरमुकामको पहिरोलाई हेरे पुग्छ ।’ स्थानीय बिराज गुरुङले २०५७ सालमा ठूलो पहिरो गएको स्मरण गरे । अहिले त्यही किसिमले पहिरो गएमा पुरानो कुश्मा बजार नै नरहने बताउँछन् ।

‘भू–संरक्षणको कार्यालयले बनाएको बलियो पर्खालले त्यो बेलाको क्षतिलाई रोकेको हो । अहिलेसम्म चेत आएको छैन,’, उनले भने, ‘वडाले सानातिना काम नगरेको चाहिँ होइन । त्यो जाली लगाउने र खाडल खनेर पहिरो रोकने कामले कति समय थेग्ला खै ।’

भू–जलधार तथा व्यवस्थापन कार्यालय पनि वर्सेनि आउने पहिरोका चपेटामा पर्दै आएको छ । कार्यालयमा लगाइएको पर्खालले अहिलेसम्म आएको पहिरो रोकथाममा सघाउ पुगेको देखिन्छ । पहिरोभन्दा पनि खासमा गल्छी भएको र त्यो ग्रामीण सडक खन्ने बेलामा भएको कमजोरीले अहिलेको सम्स्या ल्याएको भू–जलधार तथा व्यवस्थापन कार्यालय वरिष्ठ जलाधार व्यवस्थापन अधिकृत शम्भुकुमार मिश्रले बताए ।

‘ग्रामीण सडक खन्दा आफ्नै लयमा बगेको सानोतिनो खोल्साखोल्सीहरु र तिनका मुहान पुरिनु र सबै भलपानी एकीकृत हुँदै गजौटेको खोलामा मिसिँदा यो समस्या भएको हो’, उनले भने, ‘यसले गर्दा गल्छीले छेउछाउका जमिन कटान गर्दै ढुङ्गा र ग्रेगान बगाएर तलसम्म ल्याउने र त्यसको निकासी रोकिँदा पहिरोको जोखिम बढेको हो ।’

वडाध्यक्ष दिनेश श्रेष्ठले पहिरो नियन्त्रणका लागि बजेटको व्यवस्थापन गरिदिन नेताको घरदैलो धाउँदा/धाउँदै आफू थाकिसकेको बताउँछन् । सबैले वडाको मुख ताक्ने तर वडासँग बजेट नहुने कुरा जनताले बुझ्न नसक्दा दुःख लागेको बताए । ‘मेरो घरमै पोहोर पहिरो पस्यो । मैले वडाबाट सक्ने भए पहिरो रोक्ने थिइन होला’, उनले भने, ‘मैले आफ्नै नेतादेखि साँसद पदम गिरीसम्मलाई भनेँ । हुन्न कसैले भनेनन् । पहिरोको दिगो निकास भनेको बजेट नै हो । बजेट भए निकास आउँछ ।’

१६ करोड बजेट पारेर दुर्लुङको बाटो स्तरोन्नति गरिएको तर त्यही बाटोले ल्याएको जोखिम व्यवस्थापनका लागि बजेट नहालिएकोमा वडाध्यक्ष श्रेष्ठले आक्रोश पोखे । ‘अहिले पनि पार्कको, बाटोको, मन्दिर लगायतका नाममा पहिरोलाई गिज्याउने गरी बजेट हालेर हामलाई हेरेको हेरै पारिएको छ’, वडाध्यक्ष श्रेष्ठले दुखेसो राखे ।

कुश्मा नगरपालिकाले यसपाली आएर बल्ल पहिरो नियन्त्रण गर्न डिपिआरका लागि १० लाख रुपैयाँ छुट्टाएको छ । ‘नगरपालिकाको बजेटले सम्भव थिएन । भन्नुपर्ने ठाउँमा भने पनि बजेट पार्न सकिएन’, नगरप्रमुख रामचन्द्र जोशीले भने, ‘विपद् व्यवस्थापनका लागि नगरपालिकामा छुट्टै रकम छ, त्यहीबाट अहिले पहिरो रोकथामका कामहरू गरिरहेका छौं । डिपिआर बनिसकेपछि दिगो पहिरो व्यवस्थापनमा आवश्यक प्रविधि र बजेट मिल्नेमा आसावादी छु ।’

सुमनजंग सुमन कान्तिपुरका पर्वत संवाददाता हुन् । उनी समसामयिक विषयमा समाचार लेख्ने गर्छन् ।

Link copied successfully