संघीयतालाई कानुनी रूपमा बलियो बनाउन लाग्नेछु : मन्त्री न्यौपाने

‘कर्मचारी सरुवा प्रणालीलाई व्यवस्थित गर्ने, अहिलेसम्म भएका बेथिति विकृतिलाई अन्त्य गर्न मापदण्ड बनाउन कर्मचारीलाई निर्देशन दिइसकेकी छु’

श्रावण १०, २०८२

सम्झना रसाइली

I will start to strengthen federalism legally: Minister Neupane

What you should know

तनहुँ — संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले संघीयतालाई कानुनी रूपमा बलियो बनाउनतर्फ लाग्ने बताएकी छन् ।

मन्त्री बनेपछि पहिलो पटक गृह जिल्ला आइपुगेकी न्यौपानेले नेकपा एमाले तनहुँले शनिबार पार्टी कार्यालयमा आयोजना गरेको स्वागत एवं सम्मान कार्यक्रममा संघीयता सुदृढ र कानुनी रूपमा बलियो बनाउन आफू लागिपर्ने बताएकी हुन् ।

‘संघीयतालाई कार्यान्वयन गर्नका निम्ति अहिलेसम्म भएका कानुनहरू केके हुन्, त्यो कानुनलाई सुधार गर्नुपर्ने पक्ष, अब गर्नुपर्ने र गराउनुपर्ने कामहरू केके हुन् त्यसका लागि विज्ञहरूसँग छलफल गर्नेछौँ’, उनले भनिन्, ‘योबाट कानुनी रूपमा संघीयतालाई बलियो बनाउने र आज उठेका प्रश्नहरूलाई समाधान गर्न कसरी अगाडि बढ्न सकिन्छ त्यो निष्कर्षमा पुग्ने छौँ ।’

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय भनेको कर्मचारी सरुवा गराउने मात्र मन्त्रालय हो भन्ने गलत भाष्य भएको बताउँदै उनले तीन तहका कर्मचारी व्यवस्थापन, कर्मचारीतन्त्रमा भएका बेथिति, कमजोरीहरूलाई सच्चाएर अगाड‍ि बढ्नेमा जोड दिइन् । ‘कर्मचारी सरुवा प्रणालीलाई व्यवस्थित गर्ने, अहिलेसम्म भएका बेथिति विकृतिलाई अन्त्य गर्न मापदण्ड बनाउन कर्मचारीलाई निर्देशन दिइसकेकी छु’, उनले भनिन्, ‘कर्मचारीको सही व्यवस्थापन गरी सुशासन कायम गर्ने र जनतालाई चुस्त दुरुस्त सेवा प्रवाह गर्ने छौँ ।’

राजनीतिक जीवनमा होमिएदेखि व्यक्तिगत स्वार्थ नदेखेको र आज पनि जनताकै निम्ति काम गर्ने उनले बताइन् । ‘देश र जनताको शपथ मैले धेरै पटक खाएको छु, परिवर्तनको शपथ खाएको छु’, मन्त्री न्यौपानेले भनिन्, ‘म मेरो जिल्लामा बसेर फेरि पनि कसम खान्छु कि म निस्वर्थ भएर जनताको हक हितका लागि काम गर्नेछु र बेदाग भएर निस्कनेछु ।’

गृह जिल्ला आएकी मन्त्री न्यौपानेलाई स्थानीय पालिकाका जनप्रतिनिधि, उद्योगी व्यवसायी, नेकपा एमाले जिल्ला कमिटी तनहुँ, संघ–संगठन तथा स्थानीयहरूले सम्मान एवं स्वागत गरी शुभकामना व्यक्त गरेका थिए ।

सम्झना रसाइली रसाइली तनहुँकी कान्तिपुर संवाददाता हुन् ।

Link copied successfully