What you should know
गोरखा — २०७२ बैशाख १२ को भूकम्पको केन्द्रविन्दु बारपाकमा निर्माण भूकम्प स्मृति स्तम्भ निर्माण गरिएको छ। स्तम्भमा उक्त भूकम्पबाट ज्यान गुमाएका १४ जिल्लाकै नामावली राख्ने स्टिमेट भएपनि सबैको नाम उपलब्ध नभएका कारण गोरखाको मात्रै विवरण राखिएको छ।
गोरखाका ४९० जना मृतकको नामावली ताम्रापत्रमा लेखेर स्मृति स्तम्भमा राखिएको संघीय शहरी विकास तथा भवन निर्माण कार्यालय पोखराका सब–इन्जिनियर पुरुषोत्तम पंगेनीले बताए। स्मृति स्तम्भमा भूकम्पबाट अति प्रभावित अन्य १४ जिल्लाका मृतकको नामावली राख्ने स्टमेट भएको थियो ।
भूकम्प प्रभावित अन्य १३ जिल्लाका मृतकको नाम प्राप्त नभएपछि केन्द्रीय आयोजना कार्यन्वयन इकाईले स्मृति स्तम्भमा गोरखाका मृतकको नाम र अन्य जिल्लाको संख्या राख्ने निर्णय गरेको थियो । तर अन्य जिल्लाको संख्या पनि हाल सम प्राप्त नभएको पंगेनीले बताए ।
‘स्मृति स्तम्भको सबै काम पूरा भयो, भूकम्प अति प्रभावित जिल्लाका संख्या राख्न बाँकी छ,’ उनले भने, ‘केन्द्रीय आयोजना कार्यन्वयन इकाई मार्फत गृह मन्त्रालयसँग संख्या मागिरहेका छौँ ।’ संख्या राख्ने बाहेकको काम पूरा भएपछि हस्तान्तरणको तयारी भइरहेको उनले बताए । भूकम्प अति प्रभावित १३ जिल्लाका मृतकको नामावली गृह मन्त्रालय सँग माग गरिएपनि प्राप्त हुन नसकेको उनले बताए ।
२०७४ मंसिर १४ गते ठेक्का सम्झौता गरेर भूकम्प स्मृति पार्कको निर्माण सुरु भएको थियो । पार्क भित्र स्मृति स्तम्भ मुख्य आकर्षणको रुपमा रहेको छ । स्मृति स्तम्भको काम पूरा भएको पंगेनीले बताए । स्मृति स्तम्भमा भूकम्प अति प्रभावित १४ जिल्लामा भूकम्प परि ज्यान गुमाएका सम्झनामा १४ वटा छुट्टा/छुट्टै स्तम्भ तयार गरिएको छ। १४ वटा स्तम्भ माथि ग्लोव राखिएको छ ।
भूकम्पमा ज्यान गुमाएका सबैको स्तम्भको भित्तामा नाम लेखिने स्टमेट गरिएपनि नाम प्राप्त नभएपछि स्तम्भमा संख्या उल्लेख गरिने उनले बताए । ३० महिनामा निर्माण सक्ने लक्ष्यका साथ २०७४ मा ठेक्का सभ्झौता गरिएपनि मृतकको नाम नपाएर कामले पूर्णता नपाएपछि ठेकेदार कम्पनीको म्याद पनि पटक/पटक थप हुँदै आएको थियो । स्मृति स्तम्भको सबै काम पूरा भएको निर्माणको जिम्मा पाएको स्वच्छन्द/होम निर्माण जेभिका होम वहादुर बानियाँले बताए ।
‘१४ वटै जिल्लाको नाम राख्ने भनेर दुई वर्षदेखि नाम उपलब्ध गराउन आग्रह गर्यौँ, आधिकारीक रुपमा नाम नआएपछि अहिले गोरखा जिल्लाको मात्र नाम राखेका छौँ,’ उनले भने,‘अव सम्झौता अनुसारको निर्माणको काम सकियो, हस्तान्तरणको काम बाँकी छ ।’
बारपाकको सरकारी स्वामित्वमा रहेको दुइ सय १६ रोपनी क्षेत्रफल जग्गामा स्मृति स्तम्भ, बगैँचा लगायतका संरचना बनाउने गरी काम अघि बढेको थियो । दुई शौचालय, एक चेमेनागृह, पार्क स्थल, सडक लगायतका संरचना निर्माण भइसकेको बानियाँले बताए ।
पार्क निर्माण सम्पन्न गर्न १३ करोड ७ लाख १५ हजार लाग्ने सम्झौतमा उल्लेख छ । भूकम्प स्मृति स्तम्भसहित पार्क निर्माणले पूर्णता पाए बारपाक पुग्ने आन्तरिक पर्यटकको संख्या बढ्ने स्थानीयको अपेक्षा छ।
