What you should know
कास्की — रात परेपछि आँखाले केही ठम्याउनै सक्थेन । दिउँसो चहकिलो घाममा पनि आँखा तिर्मिर्याउँथ्यो । १० वर्षीय सुल्तानको आँखामा भएको समस्याबारे परिवारले मेसो पाएको थिएन । एक वर्षअघि विद्यालयमा आँखा शिविर भयो । त्यहाँ थाहा लाग्यो– सुल्तानलाई मोतियाबिन्दु भएको रहेछ ।
मोतियाबिन्दु पत्ता लागेको एक वर्षपछि सुल्तानको मंगलबार पोखरा–१७ स्थित हिमालय आँखा अस्पतालमा शल्यक्रिया भएको छ । सुल्तानसँगै उनकी बहिनी ८ वर्षीया साजादी खातुन, भाइ ४ वर्षीय आयान हुसेन, ठूलीआमाका छोरा १२ वर्षीय रहिस हुसेन र छोरी १० वर्षीया एलिसा खातुनको पनि मंगलबार नै मोतियाबिन्दुको शल्यक्रिया भयो ।
सुल्तानबाहेक एकै परिवारका बाँकी चार जनालाई मोतियाबिन्दु भएको एक महिनाअघि पत्ता लागेको हो । उनीहरू सबैमा जन्मजात मोतियाबिन्दु थियो । पाँचै जनाकी हजुरआमा रेहाना खातुनले पनि सात वर्षअघि वीरगञ्जमा मोतियाबिन्दुको शल्यक्रिया गराएकी थिइन् ।
सुल्तानलाई लिएर बुवा ज्याबिर हुसेन र आमा रुक्सना खातुन एक वर्षअघि पनि अस्पताल पुगेका थिए । ‘स्कुलमा छोराछोरी दुइटैको जाँचेको हो । छोरीलाई चस्मा मात्र लगाए हुन्छ भनेपछि अस्पताल ल्याएनौं,’ रुक्सनाले एक वर्षअघिको घटना सुनाइन्, ‘सुल्तानको अपरेसन गर्नुपर्छ भनेर ल्याएको । महँगो भएर त्यतिबेला गरेनौं ।’
दुवै आँखाको शल्यक्रिया गर्दा ३५ हजार रुपैयाँ लाग्थ्यो । ज्याबिर मासु पसलमा काम गर्छन् । उनले पनि ३५ हजार खर्चेर शल्यक्रिया गर्ने आँट गरेनन् । सुल्तान यत्तिकै विद्यालय आउजाउ गर्न थाले । उनी पोखरा–४ गैह्रापाटनस्थित नबिन माध्यमिक विद्यालयमा कक्षा १ मा पढ्छन् । एक महिनाअघि फेरि विद्यालयमा आँखा शिविर भयो ।
यही शिविरमा सुल्तानका दाइ, भाइ र दुई बहिनीमा पनि मोतियाबिन्दु पत्ता लागेको थियो । एक महिनाअघि बुवाआमाले पाँचै जनालाई अस्पताल पुर्याए । डाक्टरले सोधे, ‘अहिल्यै शल्यक्रिया गर्नुपर्छ । दुवै आँखाको गरेर अपरेसनको २४ हजार, बेहोस बनाएको १० हजार लाग्छ । सक्नुहुन्छ ?’ रहिसकी आमा तायराले जवाफ दिइन्, ‘पाँच जनाको त सक्दैनौं । छुट दिनुस् न ।’
डाक्टरले छुटका लागि आफूहरू सल्लाह गर्ने सुनाए । उनीहरूलाई अर्को दिन डाकियो । रुक्सना र तायरा बालबच्चा लिएर फेरि डाक्टरले बोलाएकै दिन अस्पताल गए । डाक्टरले अस्पतालले सबै खर्च व्यहोरिदिने सुनाए ।
साउन ५ मा अस्पतालमा भर्ना हुन सूचना दिए । त्यही अनुसार उनीहरू पाँचै जनाको मंगलबार मोतियाबिन्दुको निशुल्क शल्यक्रिया भएको छ । ‘अहिले त हमे बहुत खुसी लगे । एउटा पनि पैसा लागेन । पाँचै जनाले अब आँखा देख्छ,’ रुक्सना खुसी देखिइन् । रुक्सना र तायराको परिवार पर्स्याङमा एउटै डेरामा बस्छन् । यो परिवार पोखरा आएको ८ वर्ष भइसक्यो । दुवैका पाँच–पाँच जना बालबच्चा छन् । तीमध्ये रुक्सनाका तीन र तायराका दुई सन्तानलाई मोतियाबिन्दुको समस्या देखिएको हो ।
मोतियाबिन्दुको शल्यक्रियापछि रहिस र एलिसाको रेखदेखमा आमा तायरा । तस्बिरहरू : अनुप पौडेल
रहिस र एलिनाले बाल्यकालबाटै घाममा राम्रोसँग आँखा देख्थेनन् । रहिसले टिभी पनि स्क्रिन नजिकै पुगेर हेर्थे । दुई महिनाअघि मात्र खेल्दाखेल्दै विद्यालयको चौरमा लडेका थिए । त्यसपछि शिक्षकले उनलाई घर पठाइदिए । एक महिनाअघि जब दुवैलाई मोतियाबिन्दु भएको थाहा भयो तायरालाई चिन्ताले निकै गलायो । शल्यक्रिया गर्दा ३५ हजार जति खर्च लाग्छ भन्ने उनले पहिल्यै बुझेकी थिइन् । त्यो पैसा जोहो कसरी गर्ने भन्ने चिन्ताले उनलाई सताइरहृयो । एक मन उनलाई लागेको थियो, ‘छोरा मान्छे आँखा नभई कसरी गरी खान्छ ? छोरीलाई कसले लैजान्छ ?’
यही प्रश्न मनमा खेलाउँदै उनी दुवैलाई डोर्याएर अस्पताल पुगिन् । उपचारमा छुट गराइदिन याचना गरिन् । अन्ततः आर्थिक अभावमा एक वर्षदेखि मोतियाबिन्दुको शल्यक्रिया गर्न नसकेको परिवारको पीडा डाक्टर र अस्पतालले बुझे ।
रहिस र एलिसालाई मंगलबार बिहान शल्य कक्षभित्र हुँदा तायरामा निकै छट्पटाहट देखिन्थ्यो । उनी वार्डबाट शल्यकक्षको ढोकासम्म पुगिरहन्थिन् । तीन घण्टापछि दुवै त्यहाँबाट निस्किए । उनीहरूको आँखामा पट्टी बाँधेको देख्दा तायरा केही क्षण मौन रहिन् । पट्टी देख्दा उब्जेको उनको पीडा भने क्षणिक थियो । योभन्दा ठूलो खुसी उनलाई अब आफ्ना दुईसहित पाँचै जना बच्चाले आँखा देख्ने खबरले मिलेको छ । ‘अब त यिनीहरूले आँखाले राम्रोसँग देख्छ । राम्रोसँग पढ्ला । आफ्नो भविष्यमा केही गर्ला,’ उनले सुनाइन् ।
रुक्सना र तायरालाई बच्चासँग खास ठूलो अपेक्षा छैन । यसका तीन वटा कारण छन् । पहिलो – पढाउनै ढिला भयो, दोस्रो – आँखाको समस्याले सतायो, तेस्रो – आर्थिक अवस्था । दुई वर्षअघि स्कुल पठाएकाले १२ वर्षीय रहिस, १० वर्षका एलिसा, साजादी र सुल्तान बल्ल कक्षा १ मा पढ्दैछन् । ४ वर्षीय आयान नर्सरीमा छन् । सुल्तान र गरिबीबाट उठेर राम्रो पढिदिए हुन्थ्यो भन्ने तायराको मनमा छ । ‘हामी यिनीहरूलाई डाक्टर बनाउन सक्दैन । यति पढाइदिने हो कि जुन दुनियाँ (ठाउँ)मा गएपनि खान सकोस्,’ उनले भनिन् ।
हिमालय आँखा अस्पतालमा बर्सेनि सरदर ५ हजार बिरामीको मोतियाबिन्दुको शल्यक्रिया हुन्छ । गत आर्थिक वर्ष ०८१–८२ मा ५ हजार ४ सय ५१ जनाको मोतिबिन्दुको शल्यक्रिया गरिएको अस्पतालका सूचना अधिकारी कुमार गर्बुजाले बताए । अस्पतालमा आउनेबाहेक समुदाय स्तरमै पुगेर पनि मोतियाबिन्दु शल्यक्रिया, आँखा जाँच शिविर, आँखा स्वास्थ्य शिक्षा प्रदान गरिँदै आएको उनले सुनाए ।
अस्पतालले ओपीडीबाट मात्र गत आर्थिक वर्षमा १ लाख ८८ हजार ३ सय २९ जनालाई सेवा दिएको उनले जानकारी दिए । हालको गण्डकी र कर्णाली प्रदेशका दुर्गम र हिमाली जिल्लामा सेवा गर्ने उद्देश्यले ०४९ साल फागुन १७ मा स्थापित हिमालय आँखा अस्पताल स्थापना भएको थियो ।
