जाखिममा रहेका अधिकांश मानवबस्ती
What you should know
लमजुङ — लमजुङका २ सय ६० भन्दा बढी स्थान बाढी र पहिरोको जोखिममा रहेको जिल्ला विपद् व्यवस्थापन समितिले औंल्याएको छ । यसमा विगतका वर्षमा पहिरो गइरहने क्व्होलासोथार गाउँपालिका ७ को भोंजे, मर्स्याङ्दी गाउँपालिका ५ को माथिल्लो र तल्लो चिप्ला गाउँसमेत बाढीपहिरोको जोखिममा छन् ।
पहिरोको जोखिममा सबैभन्दा बढी मानवीय बस्ती र सडक छन् । केही वर्षअघि दोर्दीखोलामा बाढीपहिरो हुँदा ८ जनाभन्दा बढी मानिसले ज्यान गुमाएका थिए । हराइरहेका केहीको अझै अत्तोपत्तो छैन । गत वर्षमात्रै क्व्होलासोथार गाउँपालिका ३, बगुममा पहिरो जाँदा एकै परिवारका ३ सहित ४ जनाले ज्यान गुमाएका थिए ।
मर्स्याङ्दी गाउँपालिकाको बेंसीसहर–चामे सडक आसपास बाढी पहिरो हुँदा केही वर्षअघि मानिसले ज्यान गुमाएका थिए । मनाङ जाने सडक महिनादिनसम्म अवरुद्ध थियो । अन्य ठाउँमा समेत बाढी पहिरो हुँदा मानिसको ज्यान जाने गरेको छ । बाढीपहिरोले घरजग्गा समेत बगाउँदा मर्स्याङ्दी गाउँपालिका ३ पल्लोटारी, अर्खले, वडा नं. ५ माथिल्लो चिप्लाका वासिन्दाले गाउँ नै छोड्नु परेको छ । जलविद्युत् आयोजनाहरुमा अर्बौंको नोक्सान भएको छ ।
लमजुङमा सरकारी कार्यालय, विद्यालय तथा धार्मिक संस्थासमेत जोखिममा रहेको मनसुन प्रतिकार्य तथा पूर्वतयारी योजना २०८२ मा उल्लेख छ । विपद् व्यवस्थापन समितिका अनुसार सदरमुकामसमेत रहेको बेंसीसहर नगरपालिकाका बाहेक जिल्लाका २ हजार ८ सय २५ घरधुरी पहिरोको जोखिममा छन् । बेंसीसहर नगरपालिकाको घरधुरी संख्या र प्रभावित हुन सक्ने संख्याबारे उक्त योजनामा उल्लेख छ ।
प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेलका अनुसार स्थानीय तह विपद् व्यवस्थापन समितिबाट आएको प्रतिवेदनलाई छलफल र परिस्कृत गरी मनसुन प्रतिकार्य तथा पूर्वतयारी योजना निर्माण गरिएको छ । कतिपय स्थानीय तहबाट ठोस रुपमा रिपोर्ट नआएको उनले बताए ।
बेंसीसहर नगरपालिकाको २० स्थान बढी र पहिरोको जोखिममा छ । यद्यपि वरपरको खोलानालाका कारण सदरमुकाम बेंसीसहरका केही भाग नै बाढी पहिरोको जोखिममा रहेको योजनामा औंल्याइएको छ । मध्यनेपाल नगरपालिकाको ३९ स्थान बढी पहिरोको जोखिममा रहेको र यसले ८ सय १० घरधुरीका ३ सय २ सय ५० जनालाई प्रभावित पार्न सक्ने औंल्याइएको छ ।
सुन्दरबजार नगरपालिकामा १६ स्थान बढी बाढी र पहिरोको जोखिममा रहेका छन् । यसबाट १ सय ९१ घर प्रभावित हुन सक्ने औंल्याएको छ । राइनास नगरपालिकामा १ सय बढी ठाउँ बाढी पहिरोको जोखिममा छन् । यसबाट ४ सय ४७ घरका ३ हजार १ सय जना बढी प्रभावित हुन सक्ने योजनामा उल्लेख छ । राइनासमा सरकारी कार्यालय, विद्यालय, धार्मिक संस्था पनि बढी जोखिममा छन् ।
क्व्होलासोथार गाउँपालिकाका १६ स्थान जोखिममा छन् । यहाँका ६ सय ३४ घर बाढी पहिरोबाट प्रभावित हुन सक्ने प्रक्षेपण गरिएको छ । दोर्दी गाउँपालिकाका ३५ स्थान बाढीपहिरोको जोखिममा छन् । यहाँ गाउँपालिका केन्द्र रहेको शेरा बजार वरपरका १ सय १४ घर पहिरोको जोखिममा छन् । यसमा हिलेबजार, पुरानो दुवार, उपल्लो दैलुङलगायत गाउँ नै पहिरोको जोखिममा रहेको औंल्याइएको छ ।
दूधपोखरी गाउँपालिकाका १४ स्थान पहिरोको जोखिममा छन् । यसमा बाढीपहिरोबाट ४ सय ७८ घर प्रभावित हुने सक्ने प्रक्षेपण गरिएको छ । यस्तै, ३ वटा विद्यालयका ४ सय ६५ जना विद्यार्थी बाढीपहिरोबाट जोखिममा रहेको मनसुन प्रतिकार्य तथा पूर्वयोजना तयारी योजनामा उल्लेख छ । मर्स्याङ्दी गाउँपालिकाका २२ स्थान र १ सय ५१ घरधुरी बाढी पहिरोले प्रभावित पार्न सक्ने औंल्याएको छ । मर्स्याङ्दीमा यसअघि पल्लोटारी, अर्खले तथा माथिल्लो चिप्लाका वासिन्दा विस्थापित भइसकेको अवस्थामा ती गाउँसमेत पहिरोको जोखिममा रहेका छन् ।
समय–समयमा हुने बाढी पहिरोका कारण मानवीयसँगै भौतिक क्षति व्यहोर्नु परे पनि ठोस योजना वनाउन र कार्ययोजना गर्न सकिरहेको छैन । विगतमा विपद्का घटना दुर्घटनामा हुँदा सरकारी र स्थानीय सरकारबाट समयमा उद्धार तथा राहतका कार्यक्रमहरु हुन नसकेको नागरिकहरुको गुनासो आएको जिल्ला समन्वय समिति प्रमुख पूर्णबहादुर गुरुङको भनाइ छ ।
लमजुङमा विपद्मा उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी, प्रहरीलगायतले बेला–बेलामा नमुना अभ्यास गरे पनि विपद्का घटना–दुर्घटनामा ती अभ्यासहरु लागू हुन नसकेको नागरिकको गुनासो छ ।
प्रमुख जिल्ला अधिकारी पोखरेलले बाढी र पहिरोको जोखिम स्थान पहिचान गरेर सुरक्षा टोलीलाई सतर्कतासहित तैनाथी अवस्थामा राखिएको छ । प्रशासन, प्रहरी, सेना, रेडक्रस, वन कार्यालय साथै स्थानीय तहसँग भएका विपद् प्रतिकार्यका सामग्रीको विवरण संकलन गरी विपद् प्रतिकार्यमा तत्काल प्रयोगमा ल्याउन मिल्ने गरी सामग्रीहरुलाई चुस्त राखिएको उनले बताए ।
