गोरखाबाट आएकाको पनि तथ्यांक राख्न सुरु
What you should know
लमजुङ — चक्रीय अन्नपूर्ण पदमार्गमा वर्षमै ३७ हजार ७ सय ३२ जना विदेशी नागरिकले भ्रमण गरेका छन् । हिमाली जिल्ला मनाङ भएर चक्रीय अन्नपूर्ण पदमार्गको भ्रमण गर्ने विदेशी पर्यटकको आगमन बर्सेनि बढ्दो छ ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मनाङका अनुसार आर्थिक वर्ष २०८१/०८२ मा मनाङ प्रवेश गरी २२ हजार ४ सय ७७ जना पुरुष, १५ हजार २ सय ४९ महिला र अन्य ६ जनाले चक्रीय अन्नपूर्ण पदमार्गको भ्रमण गरे । यीमध्ये दक्षिण एसियाली मुलुक (सार्क राष्ट्र) का २ हजार ५ सय ५४ जना छन् ।
एक्याप मनाङका प्रमुख ढकबहादुर भुजेलका अनुसार गत आर्थिक वर्षमा १ सय ३४ देशका पर्यटकले मनाङ हुँदै चक्रीय अन्नपूर्ण पदमार्गको भ्रमण गरेका छन् । सबैभन्दा धेरै इजरायलका ४ हजार ३ सय ५८ जना छन् । फ्रान्सका ३ हजार ६ सय १६ जना र जर्मनीका २ हजार ८ सय ४२ जना पर्यटक छन् । मनाङ हुँदै चक्रीय अन्नपूर्ण पदमार्गमा आउने पर्यटकको तल्लो मनाङको धारापानीस्थित चेक पोस्टले तथ्याङ्क राख्ने गरेको छ । तथ्याङ्क अनुसार चक्रीय पदमार्गमा आउने पर्यटकमध्ये सार्क मुलुकका ६ दशमलव ७६ प्रतिशत छन् ।
सबैभन्दा बढी इजरायलका ११ दशमलव ५४ प्रतिशत छन् । पछिल्लो समय भारतीय र चिनियाँ पर्यटक पनि आउने क्रम बढ्न थालेका छन् । एक्यापका अनुसार २०८०/०८१ मा १ सय २४ राष्ट्रका २२ हजार ३ सय ७१ पर्यटकले चक्रीय अन्नपूर्ण पदमार्गको भ्रमण गरेका थिए । यसमा पुरुष १३ हजार ५ सय ९६ जना, महिला ८ हजार ७ सय ६८ जना र अन्य ७ जना थिए । यो भन्दा २०८१/०८२ मा १५ हजार ३ सय ६१ बढी पर्यटक चक्रीय अन्नपूर्ण पदमार्गमा आएका छन् । २०८१/०८२ मा थप नयाँ १० राष्ट्रका पर्यटकको आगमन भएको छ । २०७९/०८० मा २० हजार २ सय ६७ पर्यटक आएका थिए । यसमा पुरुष १२ हजार ७ सय ७९ जना, महिला ७ हजार ४ सय ८५ जना र अन्य ३ जना थिए ।
एक्याप प्रमुख ढकालले मनास्लु पदमार्ग (गोरखा) बाट आएकाको पनि तथ्याङ्क राखिएको र यसले पर्यटक बढी नै आगमन देखिएको बताए । ‘हामीले मनास्लुबाट आएका पर्यटकको पहिला बहिर्गमन तथ्याङ्क मात्रै राख्थ्यौँ । पोहोरबाट आगमन तथ्याङ्क राख्यौँ, किनकि मनास्लुबाट आउने पर्यटकले पनि एक्यापलाई तिर्नुपर्ने दस्तुर तिर्छन्’ उनले भने, ‘मनास्लुबाट आउने पर्यटक ५/६ हजारको संख्यामा होला । अब हामी मनास्लुबाट आएका पर्यटकको तथ्याङ्कलाई चुस्त राख्छौँ ।’
एक्याप भ्रमणका लागि विदेशी पर्यटकले ३ हजार रुपैयाँ र सार्क मुलुकका नागरिकले १ हजार रुपैयाँ दस्तुर बुझाउनु पर्छ । नेपाली नागरिकका लागि तोकिएको छैन । विदेशी भन्दा नेपाली नागरिक बढी आउने गरेको प्रमुख जिल्ला अधिकारी मातृका आचार्य बताउँछन् । ‘हामीले औपचारिक रूपमा व्यक्तिपिच्छे तथ्याङ्क लिन सकेका छैनौँ । प्रहरीले लिने गरेको तथ्याङ्क अनुसार विदेशी नागरिक भन्दा नेपाली नागरिक बढी आएका छन्’ उनले भने ।
एक्यापका अनुसार पर्यटक बढीमात्रामा भदौदेखि मंसिर र फागुनदेखि जेठसम्म आउने गर्छन् । पर्यटन व्यवसायी समिति मनाङका अध्यक्ष विनोद गुरुङका अनुसार कोभिड १९ को संक्रमण जोखिम हटेपछि पर्यटक आगमन बिस्तारै बढ्दै गएको छ । ‘हामी वर्षौँदेखि पर्यटन व्यवसाय, होटेल व्यवसायमै आबद्ध छौँ । यसले अधिकांश मनाङीको जीवन चलेको छ’ उनले भने । यसअघि सहरबाट ल्याइने खाद्य उत्पादनहरू खुवाउने गरिएकोमा पछिल्लो मनाङ मनाङमै खाद्यान्न उत्पादन गरेर पर्यटकलाई खुवाउन थालिएको उनले बताए । ‘हामी होटेल व्यवसायमा छौँ । कृषकहरू आफ्नो पेसा–व्यवसायमा हुनुहुन्छ । पर्यटक आगमनले कृषकलाई पनि फाइदा पुगेको छ’ उनले भने ।
लमजुङको बेंसीसहरबाट सुरु हुने चक्रीय अन्नपूर्ण पदमार्गको यात्रा मनाङ हुँदै थोराङ्ला भञ्ज्याङ (५,४१६ मि.) पास गरेर मुस्ताङ, म्याग्दी हुँदै पोखरा पुगेर टुंगिन्छ । केही भने माथिल्लो मनाङबाट संसारकै अग्लोमध्येको एक तिलिचो ताल (४,९१९ मि.) पुगेर फर्किन्छन् । फर्किएका केही भने थोराङ्ला पास गर्छन । केही मनाङमै बसेर फर्किन्छन् । मनाङ सदरमुकाम चामेसम्म २०६९ बाट जिप चल्न थाल्यो । त्यसपछि बिस्तारै माथिल्लो मनाङ र तिलिचो जाने बाटो खाङ्सारसम्म जिप चल्न थाल्यो ।
सडक सहज हुन थालेपछि आन्तरिक तथा बाह्य पर्यटकहरू मोटरसाइकलमै मनाङ पुग्न थाले । सुरुका समय २१ दिन लाग्ने चक्रीय अन्नपूर्ण पदमार्गको यात्रा अहिले पर्यटकहरू १ सातादेखि १० दिनमै टुङ्ग्याउँछन् । पदयात्राका सौखिनहरू भने बेंसीसहरबाट हिँडेरै तिलिचो पुग्छन्, हिँडेरै थोराङ्ला पास गर्छन् । मनाङ ङिस्याङ गाउँपालिका अध्यक्ष कान्छा घलेका अनुसार पर्यटकहरू मनाङमा विशेष गरी प्रकृति हेर्न आउँछन् । यहाँको संस्कृति, रीतिरिवाज, रहनसहन, चालचलन हेर्न पर्यटक मनाङ आउने उनले बताए ।
