मनाङको तिमाङखोला पावरहाउसमा ४ वर्षपछि बेलिब्रिज

श्रावण ४, २०८२

आश गुरुङ

Belybridge after 4 years at Timangkhola Powerhouse in Manang

What you should know

लमजुङ — मनाङको चामे गाउँपालिका–१, तिमाङस्थित तिमाङखोला पावरहाउसमा बेलिब्रिज निर्माण गरिएको छ । २०७८ असारमा आएको बाढीले बेलिब्रिज बगाएपछि उक्त स्थानमा काठेपुल निर्माण गरिएको थियो ।

प्रमुख जिल्ला अधिकारी मातृका आचार्यका अनुसार यसअघि काठेपुलमार्फत सवारी साधन वारपार हुँदै आएकोमा अहिले नयाँ बेलिब्रिज निर्माण गरिएको छ । बेलिब्रिज बनेपछि मनाङी र मनाङ आउने पर्यटकलाई सहज भएको उनले बताए । उनका अनुसार बाढीपछि निर्माण गरिएको काठेपुल अझै यथावत् रहेको छ, जसबाट पनि सवारी तथा बटुवा वारपार भइरहेको छ ।

३० मिटर ४८ सेन्टिमिटर लम्बाइ र ४ मिटर २० सेन्टिमिटर चौडाइ  रहेको उक्त बेलिब्रिज ३० टन भार वहन क्षमताको रहेको छ । पुल बनेपछि आवतजावत मात्रै नभई विकास निर्माणका कार्य र खाद्यान्न ढुवानीका लागि समेत सहज भएको प्रमुख जिल्ला अधिकारी आचार्यले जानकारी दिए ।

उक्त बेलिब्रिज सडक विभागको सहयोगमा हेटौंडाबाट ल्याएर जडान गरिएको हो । जडान र ट्रान्सपोर्टेशनको काम मनाङ मर्स्याङ्दी हाइड्रोपावरले गरेको हो । प्राविधिक सहयोग डुम्रे–बेंसीसहर–चामे सडक आयोजना कार्यालयले गरेको हो ।

आयोजना कार्यालयका सव–इन्जिनियर सुमन अधिकारीका अनुसार असार १६ गतेबाट सुरु गरिएको बेलिब्रिज जडान कार्य असारको अन्त्यसम्ममा सकिएको हो । उनका अनुसार अघिल्लो बेलिब्रिज बाढीले बगाएपछि राखिएको काठको पुलमार्फत सवारी साधन र मानिस वारपार गरिँदै आएको थियो । नयाँ बेलिब्रिज जडान भएपछि मनाङी र मनाङ आउने कर्मचारी तथा पर्यटकलाई आवतजावतमा सहज भएको उनले बताए ।

आश गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।

Link copied successfully