What you should know
स्याङ्जा — जिल्ला प्रहरी कार्यालय स्याङ्जाले विभिन्न मुद्दाका फरार अभियुक्त पक्राउ अभियानलाई तीव्रता दिएकाे छ । २०८१-८२ मा मात्रै एक सय १८ जना अर्थात् २२.७३ प्रतिशत फरार अभियुक्त पक्राउ परेका छन् ।
पक्राउ परेका ती व्यक्तिबाट ४२ वर्ष १ महिना २९ दिन कैद भुक्तान हुन्छ भने १ करोड ८७ लाख ९९ हजार ८ सय ८५ रुपैयाँ ४६ पैसा जरिवाना संकलन हुने जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए । पक्राउ परेका अभियुक्तमध्ये सबैभन्दा धेरै पुरुष ९१ जना रहेका छन् भने महिला २७ जना छन् ।
जिल्ला प्रहरीकाे तथ्यांकअनुसार पक्राउ परेमध्ये सबैभन्दा धेरै मुद्दा चेक अनादरका २२ जना छन् । यसैगरी अभद्र व्यवहारका २० जना, सम्बन्ध विच्छेदका १५ जना अभियुक्त पक्राउ परेका छन् ।
बैंकिङ कसुर मुद्दाका ९ अभियुक्त पक्राउ परेका छन् भने, अंश मुद्दा र करकापका १/१, कर्तव्य ज्यानका ३, काठ ओसारपसार र कुटपिटका १/१, गाैवध र केही सार्वजनिक अपराधका १/१, गाली बेइज्जतीका २, चाेरीका ३, जबरजस्ती करणी उद्योगका १, जबरजस्ती चाेरीका, जबरजस्ती करणी, जारी, ज्यानसम्बन्धी, दुनियाँवादी फाैजदारी, नाता कायम, बालबालिकाविरूद्व, मानाचामल, लेनदन र बालयाैन दुरुपयोग मुद्दाका १/१ जना पक्राउ परेका छन् ।
यसैगरी, जालसाजीका ५ जना, लागूऔषधका २, सवारी ज्यानका ४, सार्वजनिक अपराधका ५ र हातहतियार खरखजना मुद्दाका २ लगायत एक सय १८ जना पक्राउ गरिएकाे प्रहरीले जनाएको छ ।
अदालतबाट मुद्दा फैसला भएपछि पनि पीडितलाई झन् पीडा दिने गरी समाजमा खुलमखुला हिँडेका अभियुक्तलाई सजाय दिनेगरी विशेष अभियान चलाउनुपरेकाे प्रहरीको भनाइ छ ।
प्रहरीले सक्रियता र चासाे नदेखाउने हाे भने अपराध गरे पनि केही हुँदैन भन्ने मानसिकता बढ्ने भएकाले अपराधीलाई सजाय दिलाउनु सबैकाे दायित्व भएको अधिवक्ता दुर्गानारायण ढकालले बताए ।
