नवलपरासी पूर्व — मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ भने अरु दुई जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका अनुसार हुप्सेकोट गाउँपालिको भित्री सडकमा गिरुवारीबाट वसन्तपुरतर्फ जाँदै गरेको ग ७ प २७२१ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री ३५ वर्षीया शोभा सिग्देलको मृत्यु भएको हो ।
मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते अर्की इन्दिरा कोइरालाको चितवनस्थित मेडिकल कलेजमा उपचार भइरहेको छ । दुर्घटनामा ३५ वर्षीया इन्दिरा कोइराला र मोटरसाइकल चालक हुप्सेकोट–२ का निशानसिंह ठकुरी घाइते भएको प्रहरीका सूचना अधिकारी मधु नेपालले जानकारी दिए । मोटरसाइकलले सिग्देल र कोइरालालाई ठक्कर दिएको हो ।
चालक ठकुरीलाई भने स्थानीय मेडिकलमा उपचारपछि प्रहरीले नियन्त्रणमा लिएको छ । ठकुरीले मादक पदार्थ सेवन गरी मोटरसाइकल चलाएको र आवश्यक कागजात पनि नभएको पाइएको नेपालले बताए ।
