लमजुङ — हरेक विद्यालयमा कक्षा सुरु हुनुअघि प्रार्थनामा राष्ट्रिय गान गाइन्छ । औपचारिक कार्यक्रमहरू पनि राष्ट्रिय गान गाएरै सुरु हुन्छ । तर, लमजुङको क्व्होलासोथार गाउँपालिकाले भने राष्ट्रिय गान गाएर मात्रै कार्यालयको काम गर्ने नयाँ कार्यको सुरुवात गरेको छ ।
नयाँ आर्थिक वर्ष २०८२/८३ को सुरुवाती दिन बिहीबार बिहान १० बजे कार्यालय समय सुरु हुनासाथ गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङ र प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद वाग्ले कार्यालय प्राङ्गणमा आए । उनीहरूसँगै अन्य कर्मचारी पनि जम्मा भए । सहभागी सबै राष्ट्रिय गानमा सहभागी भए ।
‘हामीले अहिले डिभाइसमार्फत राष्ट्रिय गान बजाउन सुरु गरेका छौं । अब हरेक दिन बिहान १० बजे राष्ट्रिय गान बज्छ । पछि हामी अटोमेटिक डिभाइसको व्यवस्था गर्छौं,’ उनले भने, ‘यो एउटा नयाँ कार्यको थालनी हो, यसले धेरै अर्थ राख्छ ।’
राष्ट्रको सम्मान, गौरव र नागरिकमा सामाजिक सद्भाव, एकता र सार्वभौमिकता कायम राख्न कार्यालय प्रवेशअघि राष्ट्रिय गान गाउन सुरु गरिएको अध्यक्ष गुरुङले बताए । ‘कार्यालयको काम सुरु गर्नुअघि देशको महिमा, पुर्खाको गौरव गाथा, सहिद र जनताको बलिदान, सामाजिक सद्भाव र एकताको भावसहितको राष्ट्रिय गानले जनप्रतिनिधि र कर्मचारीको मनोबल उच्च गराउन र सत्कर्ममा लाग्न प्रेरित गर्न कार्यालय सुरुअघि राष्ट्रिय गान गाउने अभ्यास सुरु गरेका छौं,’ उनले भने ।
उनका अनुसार १० बजे नै राष्ट्रिय गान बजाउँदा यसले व्यावहारिक रूपमा सबै कर्मचारीलाई समयमै कार्यालयमा उपस्थित गराउन मद्दत पुग्ने उनले बताए । ‘फिल्डमा नजाने कर्मचारी साथीहरू समयमै कार्यालय त आउनुहुन्छ । तर, यसले थप जिम्मेवार बनाउन मद्दत पुग्नेछ,’ अध्यक्ष गुरुङले भने । प्रमुख प्रशासकीय अधिकृत वाग्लेले सुन्दा सामान्य लागे पनि धेरै अर्थ राख्ने काम भएको बताए ।
