बागलुङ — न्याय खोज्दै सदरमुकाम आइपुग्ने हिंसा पीडितको संख्या घट्न थालेको छ । अल्पकालीन महिला सेवा केन्द्रको तथ्यांकमा यो संख्या बर्सेनि घट्दो छ । तर कतिपय घटना भने सार्वजनिक नभएको, मुद्दाका रूपमा नआइ दुर्घटनाका रूपमा आएर उपचारपछि फर्कने गरेको सरोकारवालाको भनाइ छ ।
बगलुङमा २०६७ सालदेखि हिंसा पीडितका लागि अल्पकालीन सेवा केन्द्र संचालनमा छ । उक्त केन्द्रमार्फत पीडितलाई निःशुल्क औषधी उपचार, कानुनी सहायता र पुनर्स्थापना गराइन्छ । बागलुङ नगरपालिका महिला तथा बालबालिका शाखाकी प्रमुख रचना आचार्यका अनुसार चालु वर्षमा बागलुङमा ७६ जना हिंसा पीडितले केन्द्रमार्फत न्यायको खोजीमा आएको तथ्यांक छ । उक्त तथ्यांक अघिल्लो वर्षको तुलनामा घटेको हो ।
गत आर्थिक वर्षमा ९२ जना केन्द्रमा आइपुगेका थिए । त्यसअघिको वर्ष ९९ घटना न्यायका लागि आएका थिए । चालु वर्ष आएका घटनामध्ये शारीरिक हिंसाका ९ जना, मानसिक हिंसाका १३ जना, आर्थिक हिंसाका ८ जना, यौनजन्य हिंसाका १० जना र अन्य ३३ जना छन् । उनीहरूको कानुनी उपचारमा जिल्ला कानुनी सहायता समितिले साथ दिएको आचार्यले बताइन् । हिंसामा पर्नेमा दलित समुदायका सबैभन्दा बढी ३६ वटा घटना छन् । त्यसबाहेक जनजाति समुदायका २० जना र अन्य समूहका २० जना छन् ।
संख्या घट्नुमा जनचेतना बढ्नु, न्यायिक समिति र पालिका स्तरमा मेलमिलापकेन्द्रहरूको प्रभावकारी काम भएको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले बताए । तर आलोचकले भने पछिल्लो समय हिंसाका स्वरूप फेरिएर उजुरीमा नआएको बताए । साथै कतिपय हिंसाका घटनाले आत्महत्याको रूप लिएको पनि बताएका छन् ।
प्रहरीको तथ्यांक अनुसार चालु वर्षमा ४९ जनाले आत्महत्या गरेको तथ्यांक छ । साथै १९ वटा मानवअधिकार उल्लंघनका घटना पनि भएका छन् । सूक्ष्म अध्ययन नभएपछि तथ्यांक घटेको हुन सक्ने मानवअधिकार संगठन बागलुङकी अध्यक्ष लक्ष्मी जीसी कार्कीले बताइन् ।
पछिल्लो समय विद्यालय तहमा पनि छात्राहरू हिंसामा पर्न थालेको, विद्यालयहरू लैंगिकमैत्री नभएको अध्ययनमा देखिएको बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले बताए । ‘घटनाहरू बाहिरै आएका छैनन्, कतिपय घटना लुकाइएका छन्,’ उनले भने, ‘हिंसा लुकाउने प्रवृत्ति अन्त्य गर्न जनचेतना अभियान चलाइनेछ ।’ सबै वडामा दलित महिला सदस्यको संयोजकत्वमा हिंसा न्यूनीकरणका लागि निगरानी समूह बनाइएको उनले बताए ।
केन्द्र संचालनका लागि संघीय सरकारले ५ लाख, प्रदेश सामाजिक विकास मन्त्रालयले ६ लाख र बागलुङ नगरपालिकाले ५ लाख गरी १४ लाख लगानी गरिएको छ । यहाँ बागलुङ नगरपालिकाका २५ जना पीडितले सेवा लिएका छन् भने बाँकी जिल्लाभरि र बाहिरका पनि छन् । जिल्ला बाहिरका पीडित जिल्ला प्रहरीबाट सिफारिस गरिएका घटना हुन् ।
