ढोरपाटनमा पर्यटक तान्ने प्रयास

असार ३०, २०८२

प्रकाश बराल

Efforts to attract tourists to Dhorpatan

बागलुङ — मनसुनमा ढोरपाटन उपत्यका हरियो गलैंचा बिछ्याएजस्तै देखिन्छ । यहाँको प्राकृतिक मनोरम वातावरणले बेग्लै आनन्द दिन्छ । तर सडक र होटलहरु स्तरीय नभएपछि चाहेर पनि धेरै पर्यटक पुग्न सकेका छैनन् ।

यो समस्याबारे ढोरपाटन नगरपालिकाले त पटकपटक संघीय र प्रदेश सरकारको ध्यानाकर्षण गराइरहेकै छ । त्यसबाहेक जिल्ला समन्वय समितिले पनि सालझण्डी ढोरपाटन सडक आयोजनालाई बागलुङ खण्डको काम गर्न ताकेता गरेको छ । 

बागलुङभित्रको झण्डै ५० किमिभन्दा धेरै सडक अलपत्र परेपछि ढोरपाटन पुग्नेलाई सास्ती छ । उपत्यकामा पुगेपछि स्तरीय होटल र होमस्टे अभाव छ । त्यसैले ढोरपाटनको एकीकृत विकास योजना र देखिने गरी काम चाहिएको कावा नगरप्रमुख धनबहादुर कायत बताउँछन् । ‘नगरको आन्तरिक स्रोतले मात्र सडक निर्माणदेखि एकीकृत विकासका योजना बनाउन सकिँदैन,’ कायत भन्छन्, ‘कामको जिम्मा पाएका संस्था पनि उत्तरदायी भएनन् ।’ 

विकासको योजनाको हकमा भने ययाँको गैरसरकारी संस्थाले चासो देखाएका छन् । स्थानीय स्रोतसाधन उपयोग गरेर अधिकतम विकास गर्न सकिने आधारसहितको योजना बनाउन यहाँको बीवाईसी बागलुङले काम  थालोको हो । ‘दिगो पर्यटन प्रवर्द्धन परियोजना’ सञ्चालन गरिरहेको बीवाईसीले विज्ञहरुको सहभागितामा योजना निर्माणको काम थालेको टिम लिडर अमरबहादुर थापाले जानकारी दिए । ढोरपाटनको सौन्दर्य लोप हुन नदिने, स्थानीयलाई सशक्तीकरण गरेर होमस्टे विकास गर्दै पर्यटक स्वागतका कार्यक्रम सञ्चाचालन गर्ने तथा उपत्यकामा जलवायु परिवर्तनको असर न्यूनीकरण गर्ने गरी योजना निर्माण भइरहेको हो । 

विज्ञहरुले पनि स्थानीयलाई शसक्तीकरण गर्दै उनीहरुकै सहभागितामा पर्यटन प्रवर्द्धन गर्ने, उपत्यका र बुकीपाटनसम्म जलवायु परिवर्तनको असर न्यूनीकरण गर्ने, सफाइ अभियान चलाउने, मौलिक कला र संस्कृतिको संरक्षण गर्ने लगायतको क्रियाकलापका लागि योजनामा समावेश गरिएको बताए । योजना निर्माणमा खटिएका पोखरा स्थित वन विज्ञान अध्ययन संस्थानका उपप्राध्यापक विकास अधिकारीले वातावरणको संरक्षणलाइ पहिलो सूचक बनाएको बताए । ‘हामीले बनाउने योजनामा पर्यावरणको संरक्षणलाई मुख्य प्राथमिकता दिनेछौं,’ उनले भने, ‘स्थानीय कला र संस्कृतिको संरक्षणमा पनि ध्यान दिनेछौं ।’ योजना बनेपछि स्थानीयले अपनत्व लिन सक्ने खालको योजना बनाएर हस्तान्तरण गर्ने उनले बताए ।

विज्ञ समूहको रुपमा अधिकारीसहित सीटीईभीटीका जीवन भण्डारी, स्थानीय जनप्रतिनिधि, ढोरपाटन नगरपालिका र निसीखोला गाउँपालिकाका १६ वडाका अध्यक्ष, शिक्षक तथा सामाजिक अगुवाको सहभागिता छ । प्रत्येक वडामा बाल क्लब गठन गरेर दिगो विकास अभियानमा बालबालिकाको पनि सहभागिता खोजिएको छ । किशोरकिशोरी समूह, टोल विकास संस्था समेतलाई विकासको साझेदार बनाउन र उनीहरुलाई योजनामा अपनत्व दिलाउन सकिने काम भएको थापाले बताए ।

पछिल्लो समय ढोरपाटन उपत्यकामा प्लास्टिकजन्य फोहोर बढ्दै गएको वडा नं ८ का अध्यक्ष भद्रमणि सुनारले बताए । बुकीपाटनसम्म पनि प्लास्टिकजन्य वस्तु अत्यधिक देखिएकाले सफाइ र स्थानीयलाई समेत फोहोर संकलन गरेर पठाउन सिकाउन लागिएको छ । रैथाने उत्पादनको संरक्षणमा पनि किसानलाई सहयोग गरिएको छ । ‘आजकल रैथाने आलु पनि हराउला कि भन्ने डर छ,’ सुनारले भने, ‘संरक्षणका योजना र किसानको उत्पादनको बजार चाहिएको छ ।’ उपत्यकामा रहेका साना तथा लघु जलविद्युत् आयोजना संरक्षण गरेर कार्बन उर्त्सजन न्यूनीकरण गर्न सकिनेबारे पनि विज्ञले स्थानीयलाई सुझाएको सुनारले बताए । 

ढोरपाटनमा रहेका तालतलैया संरक्षण गरेर लोप हुन लागेका ताललाई पुनर्जीवन दिने काम थाल्नुपर्ने विज्ञको सुझाव छ । त्यसका लागि उक्त क्षेत्रमा रहेका जैविक विविधताको अध्ययन र तथ्यांक संकलनको काम पनि भइरहेको हो । ढोरपाटनमा रुद्र ताल, बराह तालसहित दर्जनभन्दा बढी सिमसार क्षेत्र पनि छन् । उपत्यकामा पाइने नाउर, घोरल र बँदेलबाहेक लोपोन्मुख प्रजातिका पशुपन्छीको पनि खोजी गरेर सूचीकृत गर्न सिकार आरक्षसँग पनि समन्वय गर्ने उनले बताए । विवादित मध्यवर्ती क्षेत्रबाहेक सबै प्रकृतिका सूचकलाई समावेश गरेर योजना निर्माण गर्ने थापाले जानकारी दिए ।

प्रकाश

Link copied successfully