भोटेकोशी बाढीमा बेपत्ता गोरखाका दुईजनाका आफन्त सम्पर्कमा आएनन्, खोजी गर्दै प्रहरी

असार २९, २०८२

हरिराम उप्रेती

Relatives of two Gorkhas missing in Bhotekoshi flood did not come in contact, police searching

गोरखा — असार २४ गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा बेपत्ता गोरखाका दुईजनाको पहिचान तथा सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।

बाढीमा परी गोरखाका दिलबहादुर तामाङ र धनबहादुर विक बेपत्ता बनेका थिए । उनीहरु गोरखाको पालुङटार नगरपालिका–६ का भनिए पनि आफन्त सम्पर्कमा नआएको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी इन्द्रप्रसाद सुवेदीले बताए । उनिहरु रसुवागढी भन्सार कार्यालय टिमुरेमा कन्टेनर डिब्बा चालकको रुपमा कार्यरत थिए । 

बाढीमा बेपत्ता भएकाहरुको खोततलासका क्रममा विभिन्न व्यक्तिको शव फेला परेको र लास जाँच प्रकृति मुचुल्का समेतको कार्य गरी रसुवा जिल्ला अस्पतालको शव गृहमा राखिएको प्रहरीले जनाएको छ । तर शवको हालसम्म पनि सनाखत हुन नसकेको सुवेदीले बताए । ‘गोरखा घर भनिएको छ तर मृतकको आफन्त तथा नातागोतासमेत सम्पर्कमा आउनुभएको छैन,’ उनले भने, ‘गोरखा पालुङटार–६ भनिएका दिलबहादुर तामाङ र धनबहादुर विकका बारे सो क्षेत्रमा पनि बुझ्यौं, कोही आफन्त सम्पर्कमा नआएपछि आसपासको अन्य वडामा पनि हुन सक्ने भएकाले सबैलाई उहाँहरुको वास्तविक ठेगाना पत्ता लगाउन सहयोगका लागि अनुरोध गरेका छौं ।’

हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully