गोरखा — चितुवाको सिकारबाट घरपालुवा जनावरमा क्षति हुने क्रम बढेको छ । दुई आर्थिक वर्षमा मात्र चितुवाको आक्रमणबाट घरपालुवा जनावरमा क्षति पुगेको भन्दै यहाँका ३ सय ८ किसानले डिभिजन वन कार्यालय गोरखामा निवेदन दिएका छन् ।
किसानको निवेदनका आधारमा चालु आर्थिक वर्षमा दुई चरणमा वन्यजन्तुबाट भएको क्षतिको राहतस्वरूप ४२ लाख २५ हजार रुपैयाँ वितरण भएको डिभिजन वन कार्यालय गोरखाका प्रमुख मदन मोहन शाण्डिल्यले बताए । ‘३ सय ८ किसानको निवेदन आएको थियो,’ उनले भने, ‘गत पुसमा पहिलो लटमा २ सय ४५ किसानलाई ३३ लाख ६९ हजार ५ सय रुपैयाँ वितरण गरेका थियौं, दोस्रो लटमा वैशाखसम्म ६३ किसानलाई ८ लाख ५५ हजार ५ सय ६ रुपैयाँ वितरण भएको छ ।’
आर्थिक वर्ष २०८०/०८१, २०८१/०८२ मा वन्यजन्तुबाट भएको क्षतिको राहतका लागि आएको निवेदनबापतको क्षतिपूर्तिबापतको राहत वितरण भएको कार्यालयले जनाएको छ । सबैजसो घरपालुवा जनावर चितुवाको सिकारमा पर्ने गरेको पाइएको उनले बताए ।
आहाराको खोजीमा बस्ती छिरेर चितुवाले घरपालुवा जनावरलाई क्षति गर्ने गरेको पाइएको हो ।
खसीबोका र पाडापाडी बढी मात्रामा चितुवाले आक्रमण गरेको भन्दै क्षतिपूर्ति माग दाबी गर्दै किसानले कार्यालयमा निवेदन दिने गरेका छन् । ‘मानवीय क्षति छैन, सबै पशुधनको क्षति हो,’ उनले भने, ‘९० प्रतिशत खसी–बोका, पाडापाडी वन्यजन्तुको सिकारमा पर्ने गरेका छन् ।’ अझै १० वटा निवेदनको क्षतिबापतको रकम उपलब्ध गराउनै बाँकी रहेको उनले सुनाए ।
गण्डकी प्रदेशका ११ जिल्लामध्ये वन्यजन्तुबाट घरपालुवा जनावरमा क्षति हुनेमा गोरखा अग्रस्थानमा रहेको पनि उनले बताए ।
वन्यजन्तुले घरपालुवा जनावर मारे क्षतिपूर्ति पाइन्छ भनेर जानकारी पाएका किसानले क्षतिपूर्तिका लागि निवेदन दिने क्रम बढेको उनले बताए । मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरण तथा वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका, २०६९ अनुसार क्षतिपूर्ति वितरण हुने प्रावधान छ । निर्देशिका अनुसार १४ वन्यजन्तुले मानवीय, पशुधन, अन्नबाली, घरगोठ, खाद्यान्न (उखु र केरा मात्र) क्षति पुर्याए राहत पाउने व्यवस्था छ ।
बाघ, हात्ती, गैंडा, भालु, चितुवा, हिउचितुवा, ध्वासे चितुवा, ब्वासो, जंगली कुकुर, जंगली बँदेल, अर्ना, मंगल गोही, गोरी गाई र अजिङ्गरले पुर्याएको क्षतिको क्षतिपूर्ति पाउने व्यवस्था भए पनि यहाँका घरपालुवा जनावर चितुवाको सिकारमा पर्ने गरेको पाइएको छ । राहत पाउनका लागि वडा वा गाउँपालिकाको सिफारिससँगै निवेदन दिनुपर्ने प्रावधान छ । । भण्डारण भएको अन्नबाली नष्ट, घरगोठमा क्षति तथा बाख्रा वा पाडापाडी मरे बढीमा १० हजार, वयस्क भैसी, उन्नत जातको गाई र जोत्ने उमेरको गोरु मारिए बढीमा ३० हजार पीडितले पाउँछन् ।
डिभिजन वन कार्यालय गोरखाले मनास्लु संरक्षण क्षेत्रमा पर्ने चुमनुब्रीबाहेकका १० वटा पालिकाका किसानलाई राहत रकम उपलब्ध गराउँदै आएको छ । चुमनब्री गाउँपालिकामा पनि एक दशकयता भालु, बाँदर, मृग, झारल, घोरल, नाउर लगायतका वन्यजन्तुले वालीनाली सखाप पार्न थालेको स्थानीय बताउँछन् । मानवीय र पशुधनमा भएको क्षतिको राहत दिन निर्देशिका भए पनि अन्नबालीको क्षतिपूर्तिबापत किसानलाई राहत भने उपलब्ध हुन सकेको छैन ।
