विद्यालय व्यवस्थापन समिति अध्यक्षलाई दुर्व्यवहार गर्ने योजनाकार पक्राउ

असार २८, २०८२

अनुप पौडेल

Planner arrested for abusing school management committee chairman

कास्की — पोखराको एउटा सामुदायिक विद्यालयका व्यवस्थापन समिति अध्यक्षलाई दुर्व्यवहार गर्ने नेकपा (बहुमत)का नेता पक्राउ परेका छन् । पोखरा महानगरपालिका–१७ स्थित छोरेपाटन माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष बद्रीनाथ पहारीलाई कालोमोसो दलेको आरोपमा बझाङका लोकेन्द्र विक (सुजन) पक्राउ परेका हुन् ।

उनी घटनाको मुख्य योजनाकार भएको र अन्य फरार कम्तीमा दुई जनाको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय कास्की प्रमुख एसपी श्यामबाबु ओलियाले बताए । मुख्य योजनाकार विक नेकपा (बहुमत)का केन्द्रीय सदस्य हुन् । पहारीलाई भ्रष्टाचारको आरोपमा नेकपा (बहुमत)सम्बद्ध विद्यार्थीले शुक्रबार बिहान विद्यालय जाने क्रममा मोसो दलेका थिए । 

योजनाकार विकलाई अभद्र व्यवहारसम्बन्धी कसुरमा अनुमति लिएर शुक्रबार राति पक्राउ गरिएको एसपी ओलियाले बताए । मोसो दलिएको घटना पोखराको प्रमुख पर्यटकीय गन्तव्य पाताले छाँगोसँग जोडिन्छ । पोखरा उपत्यका नगर विकास समिति स्वामित्वको छाँगो २०३४ सालदेखि विद्यालयले भोगचलन गर्दै आएको थियो । अघिल्लो वर्ष माघदेखि छाँगोको सबै व्यवस्थापन पोखरा महानगरपालिकाले गर्दै आएको छ । 

पाताले छाँगो आम्दानीबाट विद्यालयका ९० जना शिक्षक–कर्मचारीको तलब व्यवस्थापन हुँदै आएको थियो । भविष्यमा पठनपाठनमा समस्या नपर्ने र आवश्यक रकम महानगरपालिकाले दिने प्रतिबद्धता जनाएपछि विद्यालयले पाताले छाँगोको संरक्षण र व्यवस्थापन छोडेको छ । 

छाँगोको व्यवस्थापन महानगरपालिकालाई गर्न दिन तयार भएको, विद्यार्थीको भविष्य अन्धकार पार्न हस्ताक्षर गरेको भन्दै पहारीलाई कालोमोसो दलिएको हो । पहारी विद्यालयकै पूर्वसहायक प्रधानाध्यापक हुन् । विषयको गहिराइ नबुझी पहारीलाई मोसो दलेको भन्दै विद्यालय, पूर्वविद्यार्थीलगायतले विज्ञप्तिमार्फत आपत्ति जनाएका छन् । 

अनुप

Link copied successfully