बागलुङ — जैमिनी नगरपालिका–९ पैयुँथन्थापका ५० वर्षीय गंगाबहादुर थापा बागलुङ बजार नजिक गौडाकोटमा दुई दशकदेखि तरकारी खेती गरिरहेका छन् । उनी वार्षिक १५ देखि २० लाख रुपैयाँ त तरकारी खेतीबाटै कमाइरहेका छन् । अहिले उनी तरकारी खेतीमात्र होइन, नयाँ प्रविधिको उपयोग गर्दै फलफूल विस्तारमा समेत लागेका छन् ।
बागलुङ जिल्लामै नमुना प्रविधिसहित सुन्तलाको नर्सरी बनाएर थापाले स्थानीयलाई चकित पारेका छन् । बसाइँ सरेर रित्तिन लागेको बागलुङ नगरपालिका वडा नं ६ को भास्सा, पञ्चकोट र आसपासको स्थानमा सुन्तलाको बृहत नर्सरी बनाएका हुन् । वार्षिक ३० हजार भाडा तिर्नेगरी स्थानीयको ५ रोपनी जमिन लिएर उनले ‘पञ्चकोट कृषि नर्सरी’ थालेका छन् ।
टाइफ्लेट नामक जंगली तिनपाते बिरुवाको जरामा स्थानीय खोकु जातको सुन्तलालाई कलमी गरेर विषम हावापानी सहने विरुवा पनि उत्पादन गरिरहेका छन् । प्लाष्टिक टनेल र जाली लगाएको नर्सरीमा हावा सहजै खेल्न सक्छ भने किराहरु छिर्न सक्दैनन् । यो टनेल अटोमेसन प्रविधिको छ । बानपा ३ स्थित घरमा बसेर उनले नर्सरीमा सिँचाइ गर्न सक्छन् ।
विरुवामा आवश्यकता अनुसारको पानी राख्नका लागि उनले अटोमेसन प्रविधि जोडेका हुन् । ‘समय छँदा फर्ममा काम गर्छु, छिमेकीलाई पनि सिकाएको छु, तर समय नभएमा घरमै बसेर मोबाइलको सहायताले सिँचाइ गर्छु,’ उनले भने, ‘विद्युत् र नेटवर्कमा समस्या भएमा धारोबाट थोपा सिँचाइ गर्ने विधि पनि जडान गरेको छु ।’
यो विधिका लागि उनले २० लाख खर्च गरेका छन् । हाल उनको यहाँमात्रै ५ वटा हाइटेक टनेल छन् । तीमध्ये एउटामा गोलभेडा र अर्कोमा खुर्सानी पनि लगाएका छन् । मौषमी तरकारीसमेत छ । त्यसलाई भने नियमित आम्दानीको श्रोतको रुपमा उपयोग गर्ने थापाले बताए । यो अभियानका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना बागलुङले पनि प्रविधि र लागत साझेदारीमा साथ दिएको छ ।
परियोजनाबाट हाल ४ लाख लगानी पाएका थापाले व्यवस्थित फर्म सञ्चालनका लागि सहयोग मिलेको बताए । परियोजनाका प्रमुख नारायण पौडेलले जिल्लामै नमुना र नविनतम प्रविधि उपयोग गरेकोले यो फर्म उदाहरणीय बनेको बताए ।
साथै आम किसानलाई देखाउन मिल्ने स्थल भएकोले किसानहरुको सिकाइ आदान प्रदानका लागि पनि उत्तमस्थल बनेको पौडेलको भनाइ छ । थापाले भने एकडेढ वर्षमा यो क्षेत्रका किसानको बारीबारीमा यस्तै प्रकृतिको नर्सरी बनाउने, बाँझिएको जमिनमा सुन्तला फलाउने र विदेश पुगेका युवालाई गाउँ फर्काउने वातावरणमा लागेको दाबी गरे ।
‘केही हुने रहेछ भन्ने लाग्यो भने विदेश गएका युवा फर्काउन सकिन्छ,’ उनले भने, ‘विदेशको जत्तिकै कमाइ हुने गरी किसानलाई प्रोत्साहन गर्न जग्गा भाडामा लिएर काम गरेको छु ।’
थापाले म्याग्दीको भकिम्लिमा पनि समूहमा मिलेर १ सय रोपनी जमिनमा सुन्तला, किवी र अन्य तरकारीसमेत लगाएका छन् । थापाले अहिले तीन स्थानमा कृषिका आकर्षक फर्म सञ्चालनमा ल्याइसकेका छन् । तीनवटै फर्मलाई जोडेर कृषि पर्यटन प्रवर्द्धनको कार्यक्रममा पनि जोड्ने लक्ष्य बनाएको थापाले बताए ।
अहिले पनि उनको बारीमा फोटो खिच्न आउनेहरु धेरै हुन्छन् । उनले फलाएको फसल मात्र हैन उनको मेहेनत बारे जान्ने धेरै छन् । सहकारी भ्रमणमा आउनेहरुले त थापालाई खोजीखोजी भेट्ने गरेका छन् । ‘मलाई राज्यले लगानी धेरै गरेको छ, त्यसैले खान पुग्ने काम मात्र नभइ किसानको हितमा पनि काम गरेको हुँ,’ थापाले भने, ‘अझै १५ वर्ष मेहेनत गरियो भने धेरै किसान गाउँमै रमाउने गरी कृषि पेशामा लाग्छन् ।’
धार्मिक पर्यटकको चहलपहल बढेको पञ्चकोट केही वर्षमै कृषि पर्यटनको गन्तव्य बनाउने लक्ष्य पनि उनले बताए । परियोजनाका प्रमुख पौडेल, कृषि ज्ञान केन्द्रका प्रमुख राजेन्द्र सिलवाल लगायतका विज्ञले पनि उनको मेहेनतले केही परिवर्तन गर्न सकिने सम्भावना देखिएको बताए ।
२०७२ सालमा नेपाल सरकारले थापालाई नै पहिलो किसान परिचयपत्र पनि दिएको थियो । उनको मेहेनतबाट प्रभावित भएका तत्कालिन मुख्य सचिव लिलामणि पौडेल बागलुङ नगरपालिका ३ को गौंडाकोट आएर उक्त परिचयपत्र दिएका थिए । त्यतिबेलै थापाले ३५ रोपनी भन्दा बढी जमिन भाडामा लिएर तरकारी खेती गर्थे ।
उनी संलग्न मिर्मिरे कृषि सहकारी संस्थामा अहिले पनि १ सय ५० बढी किसान आबद्ध छन् । थापाकै अगुवाइमा यहाँका किसानले व्यवसायिक कृषि पेशा गरेर बागलुङ बजारमा तरकारी पठाउने गरेका छन् ।
थापा २०५७ देखि व्यवसायिक कृषि पेशामा संलग्न छन् । त्यसअघि पनि घरमा परम्परागत खेतीपाती गरेको थापा परिवारबाट गंगाले व्यवसायिक कृषि पेशा अंगाल्ने योजना बनाए । कुश्मीसेरा बजारमा ३ वर्षसम्म जग्गा भाडामा लिएर खेती गरेपछि सदरमुकाम आएका थापाले बानपा ३ को गौडाकोटमा पुगेका थिए ।
बजारका ‘रामचन्द्र साहु’को पुरानो गोठ भाडामा लिएर कृषि थालेका थापाकै अगुवाईमा झण्डै १ हजार रोपनीमा फैलिएको गौंडाकोट सहित नजिकैको बुकेनी, बोक्से, तित्याङको ठूलोढुंगा सम्मका किसान उत्पादनमा जोडिएका छन् ।
