लमजुङ — मध्यपहाडी (पुष्पलाल) लोकमार्गको फराकिलो सडक । जहाँबाट ५०/६० मिटरभित्र पर्छ लमजुङको राइनास नगरपालिका–८ को वडा कार्यालय । तार्कुघाटको पाङ्ग्रेफाँटस्थित वडा कार्यालयसँगै मेलमिलाप केन्द्र पनि छ । ज्येष्ठ नागरिकलाई विश्रामको लागि चौतारो पनि व्यवस्थापन गरिएको छ ।
त्यही ठाउँ पुग्न अपांगता भएका नागरिक हृवीलचियरमै बोकिएर जानुपर्ने बाध्यता छ । उदाहरण हुन्, राइनास नगपलिका ८ हर्राबोटका ५० वर्षीय गोपाल ओलिया । वडा कार्यालयको सडककै कारण उनीजस्ता शारीरिक अशक्त भएका धेरै नागरिकले पीडा खेप्नु परेको छ । उनीहरुको यो पीडा वर्षौंदेखिको हो । वडा कार्यालयमा आउजाउ हुन कठिन भएपछि धेरैले विकल्प अपनाउँछन् ।
ग्रामीण अपाङ्ग समाज र सामाजिक विकास कार्यालय लमजुङले अपाङ्गता भएकालाई सहायता सामग्री वितरण गर्ने भनेपछि हृवील चियर लिन पुगेका ओलिया बोकिएरै वडा कार्यालय पुगे । ‘यो दृश्यले स्थानीय सरकारलाई जिस्क्याइरहेको छ । हामी लज्जित हुनु पर्छ,’ वीर भक्ति मावि तार्कुघाटका प्रधानाध्यापक नुरमहम्मद मियाँले गुनासो पोखे ।
मध्यपहाडी लोकमार्गको छेवैबाट वडा कार्यालय जाने बाटोसँगै कुलो निर्माण गरिएको छ । कुलोसँगै साँघुरो गोरेटो छ । दायाँतर्फ धान रोपिएको खेत छ । बाँयातर्फ प्लाष्टिक टनेलको फार्म र फार्मले ओगटेको जग्गाको घेराबन्दी छ । ग्रामीण अपाङ्ग समाज नेपाल राइनासका अध्यक्ष प्रकाश चिलुवालका अनुसार सार्वजनिक सेवा लिनै अपांगता भएका नागरिकलाई समस्या छ ।
‘कुलोको वरपरमात्रै पनि ३ मिटर हुनुपर्छ भनिन्छ । कुलो र बाटो गरेर एक मिटर पनि छैन,’ उनले भने । सामाजिक विकास कार्यालय प्रमुख मिताकुमारी थापाले अपांगता भएका नागरिकको पहिलो सम्पर्क कार्यालय स्थानीय तह हो, वडा कार्यालय हो । वडा कार्यालयबाटै अपांगता भएका नागरिकलाई सेवा लिन सास्ती भएको निकै चिन्ताको विषय भएको उनले बताइन् ।
‘बाटो सहज नभएपछि हामीले उपलब्ध गराएको सहायता सामग्रीसमेत मुख्य सडकको एउटा पसलमा राख्यौं । पछि वितरण भयो,’ उनले भनिन् । वडाअध्यक्ष कृष्णबहादुर रानाभाटका अनुसार वडा कार्यालयसम्मको सडक बनाउन गत आर्थिक वर्ष ३ लाख बजेट विनियोजन गरिएको थियो ।
दायाँबायाँका जग्गाधनीसँग जग्गा उपलब्ध गराउन धेरै प्रयास गरे पनि सफल नभएपछि उक्त रकमबाट वडा कार्यालय भवनको छानो (ट्रस) हालिएको उनले बताए । ‘हामीले बजेट विनियोजन गरेर बाटो बनाउन खोज्यौं । जग्गा धनीहरु नमानेका कारण बजेट अन्यत्र खर्च गर्न बाध्य भयौं । यसका लागि हामी दुःखी छौं,’ उनले भने ।
सुगम क्षेत्र भएर पनि बाटो सहज बनाउन नसकिएपछि राष्ट्रिय परिचय पत्र र वडा कार्यालयले प्रदान गर्ने अन्य सेवा सुविधा अपाङ्गता भएका र ज्येष्ठ नागरिकलाई घरदैलोमै पुर्याउने गरिएको उनले बताए ।
राइनास नगरपालिका उपप्रमुख पुष्पराज खनालले वडा कार्यालयहरु जनताका सवैभन्दा नजिकको सरकार भएको र वडा कार्यालयहरु अपांगतामैत्री हुने क्रममा रहेको बताए । उनका अनुसार पुराना भवनहरु र ती भवनमा जाने सडकहरु जोखिममा छन् । ‘नयाँ कार्यालय वनेका वडाहरु अपांगतामैत्री छन्, ती कार्यालयमा जाने सडकहरु पनि बनेका छन् । पुरानो, यसअघि गाविसका भवनहरु समस्यामा छन्, हामी सकेसम्म अपांगतामैत्री संरचना निर्माणमा जुटेका छौं ।’
उनका अनुसार अहिले वडा नं. ९ र १० मा केही समस्या छ । वडा नं. ८ को वडा कार्यालय भवनमा पुग्ने सडकका लागि २ पटकसम्म बजेट विनियोजन भए पनि बाटो निर्माणमा सफलता हासिल गर्न नसकेको उनले स्वीकारे ।
‘हामी आएदेखि प्रयास गरिरहेका छौं तर, सकिएको छैन । हामीले कि जग्गा दिनुस्, कि हामी वडा कार्यालय सार्छौं भनेपछि जग्गा धनीहरु एक खालको सहमतिमा आउनुभएको छ । उहाँहरु पक्कै पनि मान्नुहुनेछ’ उनले भने ।
